| Article Index |
|---|
| समीक्षात्मक सिकाइः किन र कसरी? |
| Page 2 |
| Page 3 |
| All Pages |
-जोहन पासमोर
'समीक्षात्मक चिन्तन' (Critical Thinking) भन्ने अभिव्यक्ति सुन्दा अलि गह्रुँगो लागे पनि यो एकदमै कठिन कुरा भने होइन।
पठनपाठनको सन्दर्भमा यसको सोझो अर्थ हो, 'बालबालिकालाई आफ्नै तरिकाले सोच्न र कारण दिन/खोज्न सिकाउनु।' यस्तो अभ्यास गर्दै जाँदा बालबालिकाको मानसिक क्षमता बढ्ने भएकाले यसलाई शिक्षाको एउटा महत्रवपूर्ण पक्ष मान्न थालिएको छ। केही अनुभवी शिक्षाशास्त्रीले यसलाई 'प्रश्न गर्ने अभ्यास' पनि भनेका छन्।
समीक्षात्मक चिन्तन भनेको विचारशीलता र आफ्नो विचार माथिको विश्वास पनि हो। चिन्तन गर्ने स्वभाव नभएका मानिसमा ठाडै समीक्षात्मकता भर्न सकिँदैन। यसका लागि व्यक्तिमा स्थापित मान्यताहरूप्रति आलोचनात्मक दृष्टिकोण र केही परिवर्तन गर्ने तीव्र चाहना हुनुपर्दछ। उसमा मूल्याङ्कन गर्ने, संशोधन गर्ने वा परिपाटी बदल्ने तीव्र इच्छा पनि हुनुपर्दछ।
समीक्षात्मक चिन्तनको माध्यमबाट संसारलाई नै परिवर्तन गर्ने महान व्यक्तिहरू धेरै छन्। तीमध्येका संसारले चिनेका दुई हुन्– सिद्धार्थ गौतम र ग्यालिलियो। सिद्धार्थ गौतमले राज्यव्यवस्था र राज्यधर्मलाई समर्थन गर्न सकेनन् र आफूले देखेको सत्यका लागि राजपाट नै त्यागे। ग्यालिलियोले पृथ्वी चेप्टो छ भन्ने परम्परागत भ्रामक सोचको अन्त्य गरे। त्यसबापत उनलाई त्यसबेलाको शासनव्यवस्थाले ज्यादै दुःख पनि दियो। यस्ता उदाहरण हजारौँ छन् तर तिनको साझा चरित्र हो, समीक्षात्मक चिन्तन गर्ने व्यक्ति आफ्नो विचारबाट विचलित हुँदैन।
के हो समीक्षात्मक चिन्तन?
कुनै कुरा राम्रोसित गर्न सक्ने व्यक्तिलाई सिपालु भनिन्छ। सीप अभ्यासबाट बढ्छ। मानिसहरूको सीपले नै संसारलाई राम्रो बनाउन सक्छ। तर सीपले वा आदतवश गरिने कामले मात्रै संसारमा परिवर्तन ल्याउन सक्दैन। परिवर्तनका लागि सोच्न, 'त्यस्तो हुनुपर्नेमा यस्तो किन भयो' भनेर सोचाइ वा काम गराइका विकल्पहरूको खोजी गर्नु पनि आवश्यक हुन्छ।
प्रसिद्ध कलाकार चार्ली च्याप्लिनले एउटा कथा लेखेका छन्। त्यो कथा अनुसार केही युद्धबन्दीलाई मृत्युदण्ड दिन लहरै राखिएको हुन्छ। बन्दुक ताकेर केही सैनिक उभिएका हुन्छन्। रेडी, वान, टू, थ्री भनेपछि 'फायर' भन्ने र त्यो सुन्नासाथ गोली चलाउने सैनिक प्रचलन अनुसार मृत्युदण्ड दिने गरेको हुन्छ। तर त्यसदिन रेडी, वान, टू, थ्री भनी नसक्दै कमाण्डरले मृत्युदण्ड कार्यान्वयन नगर्ने आदेश पाउँछन्। उनी कराउँछन्, 'स्टप' (रोक)। तर सबै सैनिकले 'फायर' भन्दा जसरी नै गोली चलाउँछन्। आदत वा बानी भनेको यही हो, जसमा दिमाग रेडी, वान, टू, थ्री पछि 'फायर' सुन्नका लागि अभ्यस्त भएको हुन्छ। दिमागलाई यस्ता बानीहरूबाट मुक्त राख्नु नै समीक्षात्मक चिन्तन हो।
| पछिल्लो पृष्ठ > |
|---|


