Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


अध्ययन अध्ययन

अध्ययन

समीक्षात्मक सिकाइः किन र कसरी?

E-mail Print PDF

-जोहन पासमोर

'समीक्षात्मक चिन्तन' (Critical Thinking) भन्ने अभिव्यक्ति सुन्दा अलि गह्रुँगो लागे पनि यो एकदमै कठिन कुरा भने होइन। पठनपाठनको सन्दर्भमा यसको सोझो अर्थ हो, 'बालबालिकालाई आफ्नै तरिकाले सोच्न र कारण दिन/खोज्न सिकाउनु।' यस्तो अभ्यास गर्दै जाँदा बालबालिकाको मानसिक क्षमता बढ्ने भएकाले यसलाई शिक्षाको एउटा महत्रवपूर्ण पक्ष मान्न थालिएको छ। केही अनुभवी शिक्षाशास्त्रीले यसलाई 'प्रश्न गर्ने अभ्यास' पनि भनेका छन्।

समीक्षात्मक चिन्तन भनेको विचारशीलता र आफ्नो विचार माथिको विश्वास पनि हो। चिन्तन गर्ने स्वभाव नभएका मानिसमा ठाडै समीक्षात्मकता भर्न सकिँदैन। यसका लागि व्यक्तिमा स्थापित मान्यताहरूप्रति आलोचनात्मक दृष्टिकोण र केही परिवर्तन गर्ने तीव्र चाहना हुनुपर्दछ। उसमा मूल्याङ्कन गर्ने, संशोधन गर्ने वा परिपाटी बदल्ने तीव्र इच्छा पनि हुनुपर्दछ।

समीक्षात्मक चिन्तनको माध्यमबाट संसारलाई नै परिवर्तन गर्ने महान व्यक्तिहरू धेरै छन्। तीमध्येका संसारले चिनेका दुई हुन्– सिद्धार्थ गौतम र ग्यालिलियो। सिद्धार्थ गौतमले राज्यव्यवस्था र राज्यधर्मलाई समर्थन गर्न सकेनन् र आफूले देखेको सत्यका लागि राजपाट नै त्यागे। ग्यालिलियोले पृथ्वी चेप्टो छ भन्ने परम्परागत भ्रामक सोचको अन्त्य गरे। त्यसबापत उनलाई त्यसबेलाको शासनव्यवस्थाले ज्यादै दुःख पनि दियो। यस्ता उदाहरण हजारौँ छन् तर तिनको साझा चरित्र हो, समीक्षात्मक चिन्तन गर्ने व्यक्ति आफ्नो विचारबाट विचलित हुँदैन।

के हो समीक्षात्मक चिन्तन?

कुनै कुरा राम्रोसित गर्न सक्ने व्यक्तिलाई सिपालु भनिन्छ। सीप अभ्यासबाट बढ्छ। मानिसहरूको सीपले नै संसारलाई राम्रो बनाउन सक्छ। तर सीपले वा आदतवश गरिने कामले मात्रै संसारमा परिवर्तन ल्याउन सक्दैन। परिवर्तनका लागि सोच्न, 'त्यस्तो हुनुपर्नेमा यस्तो किन भयो' भनेर सोचाइ वा काम गराइका विकल्पहरूको खोजी गर्नु पनि आवश्यक हुन्छ।

प्रसिद्ध कलाकार चार्ली च्याप्लिनले एउटा कथा लेखेका छन्। त्यो कथा अनुसार केही युद्धबन्दीलाई मृत्युदण्ड दिन लहरै राखिएको हुन्छ। बन्दुक ताकेर केही सैनिक उभिएका हुन्छन्। रेडी, वान, टू, थ्री भनेपछि 'फायर' भन्ने र त्यो सुन्नासाथ गोली चलाउने सैनिक प्रचलन अनुसार मृत्युदण्ड दिने गरेको हुन्छ। तर त्यसदिन रेडी, वान, टू, थ्री भनी नसक्दै कमाण्डरले मृत्युदण्ड कार्यान्वयन नगर्ने आदेश पाउँछन्। उनी कराउँछन्, 'स्टप' (रोक)। तर सबै सैनिकले 'फायर' भन्दा जसरी नै गोली चलाउँछन्। आदत वा बानी भनेको यही हो, जसमा दिमाग रेडी, वान, टू, थ्री पछि 'फायर' सुन्नका लागि अभ्यस्त भएको हुन्छ। दिमागलाई यस्ता बानीहरूबाट मुक्त राख्नु नै समीक्षात्मक चिन्तन हो।

बानीका रुप अनेक हुन्छन्। आफूलाई एकदम 'चिन्तनशील' र 'बुद्धिजीवी' मान्ने व्यक्तिहरूसमेत बानीबाट निर्देशित भइरहेका हुन्छन्। निरन्तर अभ्यासकै कारण कतिपय मानिसमा कुनै विषयमा एकोहोरो प्रतिक्रिया दिने बानी परेको हुन्छ। उसले कुनै प्रतिक्रिया दिनुअघि आफूले किन त्यसो गर्ने होला भनेर सोच्दैन।

यस्ता व्यक्ति जो पनि हुनसक्छन्। ईश्वरका बारेमा, समाजका बारेमा, सिद्धान्तका बारेमा वा छिमेकी वा संसारका देशहरूका बारेमा मानिसका विचार अधिकांश अवस्थामा समीक्षात्मक चिन्तनबाट नभई उसले विभिन्न कारणवश बोकेको अर्थात् धारण गरेको 'धारणा'बाट उब्जेका हुन्छन्। यो सन्दर्भमा अनौठो लाग्ने एउटा यथार्थ के हो भने मानिसहरू आफ्ना धारणामा परिवर्तन ल्याउन एकदमै गाह्रो मान्छन्।

अर्को उदाहरण लिऊँ। हामी 'नयाँ ढङ्गले सोच्न' र 'प्रश्न गर्न'लाई समीक्षात्मक चिन्तनको आधार मान्छौँ। तर उचित होस् वा अनुचित, जुनसुकै सन्दर्भमा पनि 'नयाँ ढङ्गले सोच्ने' र 'प्रश्न गर्ने' स्वाभाविक व्यवहार भएका मानिस पनि हुन्छन्। उनीहरू जहाँ पनि केही विचारै नगरी प्रश्न तेर्स्याएर प्रतिक्रिया दिन्छन्। तर यस्ता मानिस झट्ट हेर्दा चिन्तनशील जस्ता देखिए पनि माथि बताइएको 'सैनिक'कै कोटिमा पर्दछन्। कतिपयले चाहिँ घोकेको जानकारीका आधारमा विचार–विमर्श वा समीक्षा आदि गर्दछन्। यस्ता मानिसलाई अमूर्त चित्रकला वा ज्याज सङ्गीत त 'पतनशील' अवस्थामा छ भनेर घोकाइयो भने उनीहरू जहाँ पनि अमूर्त चित्रकला वा ज्याज सङ्गीत 'पतनशील' अवस्थामा छन् भनेर बक्न थाल्छन्। यस्ता स्वभावका मानिसले कुनै विचार आदि सुन्न पाए भने 'यो त एक्काइसौं शताब्दीको भौतिकवादी विचार हो' अनि 'त्यो चाहिँ पुरातन र पश्चगामी विचार हो' भनेर बिट मार्ने प्रतिक्रिया दिन्छन्। यिनीहरू पनि ती सैनिक जस्तै हुन्।

अब प्रश्न आउँछ, के समीक्षात्मकता एउटा कौशल हो त? के यो सीप कक्षाकोठामा वा कुनै अनुकूल स्थानमा सिकाउन सकिन्छ त?

कुनै विद्यार्थीले मैक्स ब्लेकले लेखेको 'क्रिटिकल थिङ्किङ' नामक पुस्तक पढेको रहेछ, बुझेको पनि रहेछ। किताबमा दिइएका जति समस्याहरू पनि किताबले सिकाए अनुसार हल गर्न सक्षम भएछ। तर उसमा ब्लेकले लेखेका कुरामा शङ्का नगर्ने स्वभाव विकसित भएछ। ऊ ब्लेकले लेखेका शब्द र उपायहरू कण्ठस्थ पार्दोरहेछ र अनि तिनको पूर्ण परिपालना गर्नुमा नै सन्तोष मान्दोरहेछ। अर्थात् उसले जे पढेको हो त्यसप्रति अटल श्रद्धाभाव राख्दोरहेछ। त्यसैले उसमा ब्लेकले दिएका कौशलको उपयोग अरू कुन कुन ठाउँमा गर्न सकिएला भनेर परीक्षण गर्ने भावना कहिल्यै पनि आएनछ। अर्थात् ऊ समीक्षात्मकता र रचनात्मकताको सन्दर्भमा ब्लेकको परिधिबाट बाहिर जान सकेन। उसले समीक्षात्मक हुने सीप विकास गर्न सक्यो त? ब्लेकको किताबले त रचनात्मक हुन सिकाएको थियो। तर त्यो पढ्ने पाठक भने त्यही किताबको घेरामा परेर अड्कियो।

वास्तवमा लौकिक दृष्टिमा कुनै व्यक्तिको समीक्षात्मक क्षमताको वर्णन गर्नु भनेको उसको चारित्रिक वर्णन गर्नु पनि हो। उसको प्राकृतिक स्वभावको वर्णन गर्नु पनि हो। कुनै व्यक्तिलाई परिचय गराउँदा 'यिनमा विशेष प्रकारको विरोधाभासलाई पनि विश्लेषण गर्ने क्षमता छ' भनेर भन्यौं भने हामीले ती व्यक्तिको प्रकृतिको होइन कौशलको परिचय दिइरहेका हुन्छौं। तर फलाना मानिसको व्यक्तित्व के हो भन्ने प्रश्नको जवाफ दिँदा चाहिँ सहजै उसको व्यक्तित्व झल्कने गरी जवाफ यसरी दिन्छौं, “उनी त समीक्षात्मक (क्रिटिकल) स्वभावका मानिस हुन्।” एउटा सवारी चालकको सन्दर्भमा कौशल प्रमुख कुरा हो भने रचनात्मक काम गर्ने मानिसका लागि समीक्षात्मकता प्रमुख कुरा हो। जसले पेशागत सीप मात्र होइन, व्यक्तित्व पनि निर्माण गरिदिन्छ।

समीक्षात्मक (Critical) हुने शक्ति सबैमा हुन्छ। त्यो शक्तिको दमन गर्नुहुँदैन। शिक्षकले पनि आफ्ना चेलाहरूलाई समीक्षात्मक बनाउने प्रयत्न गरिरहेका हुन्छन्। जो शिक्षा र शिक्षकका उद्देश्य भित्रै पर्दछन्। तर डरलाग्दो कुरा के भने शिक्षकहरूमा तर्कद्वारा विद्यार्थी वा कसैको समीक्षात्मक शक्तिलाई दमन गर्ने क्षमता पनि हुन्छ। समीक्षात्मकताको अभ्यास गराउने क्रममा उनीहरूले सही विचार वा मतलाई पनि पाखामा पारिदिन सक्छन्।

मानौं कुनै व्यक्तिको चरित्र वास्तवमै न्यायपूर्ण छ, तर कानूनसङ्गत हुने वा निष्पक्ष बन्ने सिलसिलामा उसले अन्यायपूर्ण निर्णय पनि लिन सक्छ। न्याय गर्ने बेलामा तर्कको खेल अत्यधिक हुन्छ। तर्कको आधारमा ऊ निष्पक्ष हुनै पर्दछ। उसले कुनै पक्ष लिन पाउँदैन। तर पक्ष लिएको भए (जो कानूनसङ्गत हुँदैन) उसले सही निर्णय लिनसक्ने थियो। उसले त्यसो गरेन। अनि अन्यायपूर्ण निर्णय लिन पुग्यो। यस्ता अनेकन उदाहरण हुन्छन्।

अर्थात् कुनै न्यायाधीशले न्यायाधीश बन्नका लागि सिकेको कौशल वा सीपको उपयोग गरेर न्यायलाई नै भ्रष्ट बनाउन सक्छ। कुनै न्यायाधीशको सीप वा कौशललाई कुनै समीक्षात्मक विश्लेषकले आफ्नो कौशल वा सीप प्रयोग गरेर सही उपयोग गराउन पनि सक्दछ र गलत उपयोग गराउन पनि सक्दछ। यहीँनेर बुझनुपर्ने कुरा छ– न्यायिक शक्ति वा समीक्षात्मक शक्तिलाई किमार्थ दुरुपयोग गर्न सकिँदैन। त्यो दुरुपयोग नै हुँदैन। न्यायपूर्ण बन्नु वा समीक्षात्मक बन्नु दुई भिन्न 'चारित्रिक विशेषता' हुन्। समीक्षात्मकता न्यायपूर्ण हुनुपर्दछ। यसलाई कुनै पनि कौशल, सीप वा क्षमताले डगमगाउन सक्तैन।

समीक्षात्मक हुनुको 'चारित्रिक विशेषता' के हो भनेर बुझन नसक्नु नै अधिकांश शिक्षकहरूको समस्या हो। तर विद्यार्थीमा समीक्षात्मकता उमार्ने जिम्मेवारी उनीहरूकै काँधमा आइपरेको हुन्छ। विद्यार्थीलाई समीक्षात्मक बनाउन सबैभन्दा पहिले उनीहरूमा न्यायपूर्ण 'चारित्रिक विशेषता' उमार्नु आवश्यक हुन्छ। जुन शिक्षा वा शिक्षकले विद्यार्थीहरूको 'चारित्रिक विशेषता' विकास गर्ने जमर्को गर्दछन्, तिनलाई 'स्कूल वातावरण'को भर पर्नुपर्ने हुन्छ।

सबै प्रकारले अब्बल र असाधारण विद्यार्थीले आफ्ना स्कूल र शिक्षकको 'चारित्रिक विशेषता'का बारेमा प्रश्न उठाइरहेका हुन्छन्, चर्चा गरिरहेका हुन्छन्। खराब चरित्र भएका विद्यार्थीले पनि स्कूल र शिक्षकका 'चारित्रिक विशेषता'का बारेमा प्रतिक्रिया दिइरहेका हुन्छन्। यस्तो बेलामा शिक्षक वा शिक्षाको प्रतिक्रिया के हुन्छ, त्यो ज्यादै महत्रवपूर्ण हुन्छ। उदाहरण लिऊँ, कुनै स्कूलका शिक्षकहरू आफूलाई शिक्षा पद्धतिद्वारा निश्चित गरिएको पाठ्यक्रमका वाहक ठान्छन्। उनीहरू आफूहरू 'निश्चित पद्धति'बाट भट्किएका छौं कि छैनौं भनेर हरदम सतर्क रहन्छन्। शिक्षक र विद्यार्थीहरू स्कूलद्वारा तोकिएको 'निश्चित पद्धति'को मापदण्डबाट केही मात्र भट्किएका रहेछन् भने दुवैले एकअर्कालाई सचेत गराउँछन्। यस्तो परम्परामा बाँधिएका वा अभ्यस्त स्कूलका शिक्षक र विद्यार्थीहरूबाट मौलिक काम हुने वा सिर्जनशील हुने आशा गर्न गाह्रो पर्दछ। तथापि यस्ता स्कूलका विद्यार्थी पनि कुनै न कुनै पक्षमा कुशल हुन सक्दछन्, उनीहरू सुअभ्यसित पनि हुन सक्दछन्। तर समीक्षात्मक वा रचनात्मक काम गर्ने शक्ति हुन सक्तैनन्। यसरी स्कूले वातावरण (वा स्कूले जीवन)ले शिक्षक र विद्यार्थीको रचनात्मक कार्यमा ठूलो प्रभाव पारिरहेको हुन्छ।

कतिपय बेला स्कूलमा मेधावी विद्यार्थीहरू पनि आएका हुन्छन्। उनीहरू आफ्नो सिर्जनशील शक्ति प्रदर्शन गर्न थाल्दछन्। यस्तो अवस्थामा कतिपय शिक्षकहरू खुसी हुनुपर्नेमा हीनताबोध गर्छन्। आफूमा कक्षा सम्हाल्न सक्ने क्षमता नभएको महसुस गर्दछन्। विद्यार्थीलाई रचनात्मक बनाउनुको साटो आफूलाई बचाउने काममा बढी शक्ति लगाउँछन्। अनि शिक्षकको कामको र व्यवहारको आलोचना हुन थाल्छ। शिक्षकले पनि विद्यार्थीको आलोचना गर्न थाल्छन्। त्यस्ता शिक्षक आफैँले सोधेको प्रश्नको जवाफ दिन साहस गर्ने विद्यार्थीको उत्तरको मिनमेख निकालेर आलोचना गर्न उद्यत हुन्छन्। विद्यार्थीले सानो गल्ती गर्नासाथ आलोचना गरिहाल्छन्। विद्यार्थीको आचरणको पनि आलोचना गर्छन्। शिक्षाको नीति र त्यसका प्रतिपादकको आलोचना गर्न थाल्दछन्। परिणामतः त्यस्ता शिक्षकहरू 'शिक्षक'बाट सर्वनिन्दक बन्न पुग्छन्। तिनीहरू अन्ततः कुनै पनि रचनात्मक काम गर्न नसक्ने हुनपुग्छन्।

शिक्षकले आफ्ना विद्यार्थीलाई तोकिएको अनुशासनको मापदण्डभित्र राख्न स्वाभाविक प्रयत्न गरिरहेका हुन्छन्। त्यति काम गर्न सकेकोमा ठूलो सन्तोष पनि मान्छन्। निर्धारित विधिबाट गणितको समस्या समाधान गर्नु, स्कूलको अनुशासन उल्लङ्घन गर्ने विद्यार्थीलाई तह लगाउनु, पाठ बुझाउन नसक्नेलाई हप्काउनु, प्रयोगात्मक अभ्यास गर्न नसक्नेको वा विद्यार्थीका असफलताहरूको आलोचना गरेरै आफ्नो कर्तव्य पूरा भएकोमा धेरै शिक्षक सन्तुष्ट हुन्छन्। तर यस्तो गरेर उनीहरूले विद्यार्थीलाई बिगारिरहेका हुन्छन्। केही शिक्षक त ठूलो उत्साहका साथ (वास्तवमा दुराग्रह लिएर) विद्यार्थीलाई निश्चित अनुशासनको डोरीले बाँध्न उद्यत हुन्छन्। यसो गर्ने शिक्षकले आफ्ना विद्यार्थीमा एकप्रकारको मतान्धता (वा एकोहोरोपन) भरिदिन्छन्। तर यस्ता काम समीक्षात्मक कामको परिधिभित्र पर्दैनन्। वास्तवमा यस्तो काम त साधारण मानिसले पनि गर्न सक्छन्, त्यसनिम्ति शिक्षक बनिरहनु नै पर्दैन।

यस्ता कामलाई 'शिक्षाको सत्ता' स्थापना गर्ने काम भनिन्छ। शिक्षाको सत्ता स्थापना गर्ने शिक्षा पद्धतिले विद्यार्थी पनि त्यस्तै उत्पादन गर्दछ। यसरी उत्पादन भएका विद्यार्थी निन्दक प्रवृत्तिका हुन्छन्, उनीहरू स्थापित नियम र स्वीकृत कार्यविधिलाई निरन्तरता दिन सक्रिय त रहन्छन्तर यिनले समीक्षात्मकताको मार्ग पनि अवरुद्ध गर्छन्।

खासमा समीक्षात्मक हुने क्षमताको विकास गर्नु पनि एक कला नै हो। तर यस्तो कौशल दक्ष टेनिस खेलाडीको जस्तो नभएर एउटा दक्ष प्रशिक्षकको जस्तो हुन्छ। यस्तो कौशल नै 'विशेषज्ञको विशेषता'को रूपमा देखा पर्दछ। यस कौशलले अरूको मात्र होइन आफ्नै क्षमताको पनि समीक्षा र मूल्याङ्कन गर्दछ। शिक्षकहरूमा पनि यस्ता कौशल विकसित हुन सक्छन्।

समीक्षात्मक व्यक्तित्वहरू सहजै चिनिँदैनन्। साँच्चिकै समीक्षात्मक शक्ति (Critical Power) भएका मानिसलाई हामी 'झगडालु', 'घमण्डी' वा 'पण्डित' तथा 'टिमुर्केको मानिस' भनी पन्छाउने गर्छौं। त्यति मात्रै होइन, उसलाई त्यस्तो स्वभाव त्याग्न सुझाव समेत दिन्छौं।

कुनै विद्यार्थी वा पेशेवरले सिकाएको वा अह्राएको विषयमा मात्र समालोचना वा विश्लेषण गर्न सक्तछ भने ऊ क्षमतावान त ठहरिन्छ तर समीक्षात्मक ठहरिँदैन। उसले अरूको क्षमताको स्तर त निर्धारण गरिदेला तर त्यसमा रचनात्मकता देखाउन सकेन भने ऊ समीक्षात्मक ठहरिँदैन।

त्यसैले शिक्षकहरू पेशेवर वा प्राविधिक विशेषज्ञ भन्दा भिन्न हुनुपर्दछ। उनीहरूले आफ्ना विद्यार्थीहरूलाई समाचोलना कुशल बनाउन भिन्न किसिमले उत्साह भर्नुपर्दछ। उनीहरूमा विश्लेषण गर्ने क्षमता विकसित गर्न पनि भिन्न–भिन्न शैली अपनाउनुपर्दछ। औपचारिक रूपमा वादविवाद प्रतियोगिताको आयोजना गरेर पनि यसो गर्न सकिन्छ। तर वादविवाद प्रतियोगिताले समीक्षात्मकताको विकास गर्न सक्यो कि सकेन भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ। वादविवाद प्रतियोगिताले तार्किक (नैयायिक) कौशल मात्र वृद्धि गर्न पनि सक्छ। किनभने प्रतियोगी विद्यार्थीहरूलाई जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जित सुनिश्चित गर्ने कौशल सिकाइएको हुन्छ। अझ विद्यार्थीलाई आफ्नो कथनको पक्षमा अनेकन प्रासङ्गिक पृष्ठभूमिहरू कण्ठस्थ गराइएको हुन्छ। यस्तो प्रक्रियाले विद्यार्थीलाई कण्ठस्थ गर्ने र त्यसलाई प्रस्तुत गर्ने कौशलमा पारङ्गत त बनाइदिन्छसँगै समीक्षात्मकताको मार्ग पनि अवरुद्ध गरिदिन्छ। जबर्जस्ती वा तर्कको लागि तर्क गर्ने र कण्ठस्थ पार्ने पद्धतिबाट समीक्षात्मक क्षमता विकास हुनसक्दैन।

विद्यार्थीमा विश्लेषणात्मक क्षमता विकास गर्न खोज्दा आइपर्ने अर्को चुनौती हो; शिक्षकको दिमागमा जमेर बसेका पूर्वमान्यता र विश्वास। शिक्षकले आफ्ना मान्यताका आधारमै विद्यार्थीहरूलाई तयार पारिरहेका हुन्छन्। उनीहरूले आफ्ना मान्यता ठीक छन् कि छैनन् भनेर विद्यार्थीसँग कहिल्यै पनि विचार–विमर्श गरेका हुँदैनन् वा गर्न रुचाउँदैनन्। शिक्षकका आफ्नै खास नियम पनि हुन्छन्। तर ती आफैँमा ठीक छन् कि छैनन् भन्नेबारे कहिल्यै छलफल गरिएको हुँदैन। विद्यार्थीले त्यस्ता विषयमा चर्चा गर्नै पाउँदैनन्। तर पनि उनीहरू माथि ती नियम लागू चाहिँ गरिन्छन्। अन्ततः शिक्षकका मान्यता र नियम नै समीक्षात्मकताको मार्गमा अवरोध बनिरहेका हुन्छन्।

प्रस्ट कुरा के हो भने; सिर्जनशील हुनु वा विश्लेषण गर्ने क्षमता बढाउनु भनेको फगत एक कौशल मात्र होइन। त्यस्तो हुन्थ्यो भने प्रत्येक शिक्षकले कक्षामा आएजति विद्यार्थीलाई सिर्जनशील बनाउन सक्थे। सिर्जनशीलताको मार्ग खेलको नियममा जस्तो आफ्नो रक्षा गर्ने सिद्धान्तमा बाँधिएको हुँदैन। यो त निशानेबाजले निशाना लगाउँदाको समयमा जसरी दिमागको प्रयोग गरेको हुन्छ, ठीक त्यही स्थितिमा दिमाग चलाउने कार्य जस्तो हो।

समाजले आफ्नो युवापिँढीलाई 'कुसंस्कार' आदिको आलोचना र विश्लेषण गर्न सिकाउँछ। यसो गरेर आउने पिँढीलाई 'कुसंस्कार' विरोधी विशेषज्ञ बनाइदिन्छ। अर्थात् जुन समाजले सिर्जनशील चिन्तन गर्दछ, त्यहाँ गतिशील पात्र र अभियन्ताहरू हुन्छन्। शिक्षकलाई समाजले यस्तै खालका अभियन्ता मानेका हुन्छन्। तर धेरैजसो अभियन्ताहरू आफ्ना आलोचना सहन गर्न सक्तैनन्। यही स्वभावले सिर्जनशील चिन्तनको काममा बाधा उत्पन्न भइरहेको हुन्छ। अर्थात् जुन समूह वा समाजमा आलोचना प्रत्यालोचना हुने संस्कार हुन्छ, त्यो समाजमा निरन्तर परिवर्तन पनि आउँछ। कुनै समाजमा मानव हिंसाको क्रूर अभ्यास चलिरहेको छ र त्यसको निरन्तर आलोचना पनि भइरहेको छ भने त्यस्तो समाजले फाँसी दिने परम्परालाई पनि निषेध गरिदिन सक्छ। यसरी सिर्जनशील चिन्तन नै एक शक्तिमा परिणत हुन जान्छ। यसले असल परिणाम दिन्छ। खराबलाई निषेध गर्दछ। अनि त त्यस्तो समाजमा आलोचना प्रत्यालोचनालाई झनै निषेध गरिँदैन।

आलोचना वा समालोचना आदि गर्नका लागि साहस पनि चाहिन्छ। स्वतन्त्रताले नै व्यक्तिलाई साहस प्रदान गर्ने हुनाले त्यहाँ स्वतन्त्रताको पनि आवश्यकता पर्दछ। कल्पनाशीलताको रङ चढेका विवेकी दिमाग त चाहिनै हाल्दछ।

यहाँ स्पष्ट हुनुपर्ने अर्को कुरा के हो भने; कुनै प्रयोगशालाको विधिमार्फत सिर्जनशील हुने यान्त्रिक प्रवृत्तिले सिर्जनशीलताको वास्तविक मर्मलाई नष्ट गरिरहेको हुन्छ। प्रविधिको मूल्याङ्कन गर्ने पेशेवर सिर्जनशीलता चाहिँ एक कौशल मात्र हो।

धर्म, यौन तथा राजनीतिक विषयमा समीक्षात्मक ढङ्गबाट प्रस्तुत हुन विशेष कठिनाई हुन्छ। अझ शिक्षकहरू खास धर्मको वा राजनीतिकवादका पक्षमा लागेका भए उनीहरूमा आलोचना सुन्ने शक्ति नै हुँदैन। आलोचना सुन्न सक्ने शक्तिको अभावमा सिर्जनशीलता सम्भव हुँदैन। यौनको विषयमा चर्चा गर्न डराउँदा त्यस विषयमा कुनै रचनात्मक कार्य गर्न सकिँदैन। यस्ता गम्भीर महत्त्वका विषयमा शिक्षकहरू नै चर्चा वा समालोचना गर्न डराउँछन् भने उनीहरूले आफ्ना विद्यार्थीहरूलाई सिर्जनात्मक चिन्तन गर्ने कला सिकाउन सक्तैनन्।

जसले आफूलाई निरन्तर आलोचना र समालोचनाको तापमा सेकाइरहेको हुन्छ, उसमा अवश्य पनि समीक्षात्मकताको बीजाङ्कुरण हुनसक्छ। उसका रचनात्मक कार्यहरूले मात्र अरूलाई पनि रचनात्मक बन्न सिकाउन सक्दछ। हाम्रा शिक्षकहरू यस्ता गुणले भरिएका छन् त?

(शिक्षा विमर्शको मार्च–अप्रिल २०११ मा छापिएको लेखमा आधारित)

सरलीकृत अनुवादः हस्त गुरुङ

समीक्षात्मक सिकाइः किन र कसरी?

E-mail Print PDF

-जोहन पासमोर

'समीक्षात्मक चिन्तन' (Critical Thinking) भन्ने अभिव्यक्ति सुन्दा अलि गह्रुँगो लागे पनि यो एकदमै कठिन कुरा भने होइन।