| Article Index |
|---|
| हामी शिक्षक |
| Page 2 |
| Page 3 |
| Page 4 |
| All Pages |
-किशोरदत्त बराल
“आजकलका शिक्षक पढाउँदैनन्। शिक्षकहरू पढाउन जान्दैनन्। शिक्षक पार्टीका कार्यकर्ता भएका छन्; पढाउनभन्दा धेरै राजनीति गर्दछन्। शिक्षकहरूका लागि पढाउन भन्दा पनि समय बिताउन र राजनीतिका कुरा गर्ने थलो भएका छन् विद्यालय।”
यी माथि उल्लिखित यस्ता कुराहरू आजकल छरपस्ट सुन्न पाइन्छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनदेखि लिएर सभा, गोष्ठी, पानीपँधेरो र खेतबारी जहाँतहीँ यस्तै चर्चा हुन्छ। तर न सरकार, न समुदाय, न शिक्षक, न विद्यार्थी कोही पनि यसतर्फ गम्भीर र संवेदनशील पाईंदैनन्। संवेदनशील हुन पनि आवश्यक ठानिएको छैन। सबै पक्ष अर्कालाई दोष दिएर उम्कने असफल प्रयासमा भेटिन्छन्। कुरा गर्नेहरूले गरिरहेका छन्। आँखा चिम्लनेहरूले चिम्लिरहेका छन्। बालबालिकाको सुन्दर भविष्य निर्माण गर्नुपर्ने विद्यालयहरू बिग्रिएका बिग्रियै छन्। भत्किएका र खोक्रो भएका विद्यालयहरूबाटै सुन्दर र सुरक्षित भविष्यको कल्पना गरिएको छ; शिक्षक, विद्यार्थी, अभिभावक र राज्यबाट। तैपनि हामी सबै दङ्ग छौँ। विद्यार्थीले शायद बुझदैनन्, अभिभावक सोझा र अनपढ छन्, राज्य दृष्टिविहीन र मूक छ; त्यसैले देख्दैन, बोल्दैन।
तर शिक्षक किन बोल्दैन? बालकमा उत्तम चेतना सृजना गराउने सर्जक र स्वयंमा एउटा उच्चकोटिको चेतना हो शिक्षक। त्यही उच्चकोटिको चेतना नै आज बन्धकतुल्य भएको छ, बोल्नै नसक्ने भएको छ। मानौँ उसका विचारहरू कैद गरिएका छन्। सर्वत्र अचम्म मानिएको छ। शिक्षक र शिक्षक संघ–सङ्गठनहरूको सकारात्मक भूमिका खोजिएको छ। तर यी सबै हराइरहेका छन्। होस गुमेको छ। जतिबेला होस खुल्ला शायद त्यतिबेला अहिलेका शिक्षक र विद्यालयहरू केहीको पनि अस्तित्व नभेटिएला।
अब शिक्षकहरू बोल्नै पर्छ। माथिका आरोपहरूप्रति शिक्षक संवेदनशील हुनै पर्दछ। अब पनि शिक्षक र यिनका सङ्गठनहरू बोलेनन् भने, समाजले अर्को आरोप लगाउने छः 'हाम्रा शिक्षक अयोग्य र बेकम्मा छन्।' त्यसैले अब शिक्षकले बोल्ने हिम्मत गर्नै पर्दछ। तैँ चुप मैँ चुप गरेर वा बन्दकोठामा कानेखुशी गरेका भरमा आफूमाथि लगाइएका आरोपबाट मुक्ति पाउने स्थिति छैन। यसैले; शिक्षकहरूले आफूहरूप्रति लगाइएका आरोप सही हुन् भने तिनलाई स्वीकार गरेर आफूमा सुधार गर्ने अठोट गर्नुपर्दछ आरोप गलत हुन् भन्ने लाग्दछ भने त्यसको जवाफ दिने हिम्मत बटुल्नुपर्दछ। तेस्रो विकल्प छैन। कक्षाकोठाबाट विद्यार्थी हराइरहेको दृश्य हेरेर बसेको समाजलाई शिक्षकका नारा, जुलुस, भाषण र बन्दको जवाफले चित्त बुझाउन सक्ने छैन। शिक्षकहरूको योग्यता, क्षमता र इमानदारीमाथि लगाइएको आरोपको चोटिलो जबाफ समाजले त्यतिबेला पाउने छ जति बेला कक्षाकोठाबाट हराएका विद्यार्थीहरू पुनः कक्षाकोठामा फिर्ता आउन थाल्नेछन्, शिक्षक गुरुमा परिणत हुनेछन्, विद्यालयछँदा शिक्षकहरू केवल शिक्षक मात्रै रहनेछन्; काङ्ग्रेस, एमाले, माओवादी, मधेशी आदि केही पनि हुने छैनन्।
| पछिल्लो पृष्ठ > |
|---|


