Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ रोचक प्रसंग पैसाले कसरी काम गर्छ ?

पैसाले कसरी काम गर्छ ?

E-mail Print PDF
User Rating: / 13
PoorBest 

आधुनिक अर्थ–व्यवस्थामा पैसा मानव जीवनका लागि अत्यावश्यक वस्तुका रुपमा स्थापित भइसकेको छ । पैसाले एउटा मानिसको दिनचर्या मात्र हैन, ठूलाठूला महाशक्ति देश र विश्व अर्थतन्त्रलाई समेत वेलावेलामा हल्लाउने गर्छ । संसारमा भएका महासमर देखि अहिले पश्चिमा देशहरुलाई सताइरहेको विश्वव्यापी मन्दी पनि पैसाकै कारण सिर्जित हो । यसै सन्दर्भमा व्याप्त आर्थिक मन्दी र सबैजनाले ऋणको भारी बोकिरहेको अवस्थामा १०० को नोटले कति छिटो काम गर्छ र सबै जनालाई ऋण मुक्तपार्छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ ।

केही महिना पहिलेको कुरा हो– आयरल्याण्ड आर्थिक मन्दीबाट ग्रस्त थियो । त्यहाँका सबै शहर सुनसान थिए ।तीमध्ये एउटा सानो शहरमा सिमसिम पानी परिरहेको थियो । मन्दीले रोजगारी गुम्दा त्यो शहरका प्रत्येक व्यक्ति ऋणमा चुर्लुम्म डुबेका थिए । यस्तो दिनमा एक जर्मन पर्यटक सोही शहरमा आइपुगे । उनी एउटा होटल अगाडि सवारी रोकेर होटलभित्र पसे । तिनले १०० यूरोको नोट टेबुलमा राख्दै होटल मालिकलाई भने, ‘मलाई यहाँ एकरात बिताउनु छ । त्यसका लागि एउटा कोठा चाहियो ।ฺ होटल मालिकले खुसी हुँदै चाबीको झुप्पो पर्यटकको हातमा थमाइदिएर माथिल्लो तलामा गएर कोठा छनोटगर्न अनुरोध गरे ।100euro

चाबीको झुप्पो लिएर पर्यटक माथिल्लो तलातिर लागे भने होटल मालिक चाहिँ त्यो १०० यूरोको नोट हातमा लिएर पछाडिको ढोकाबाट मासु पसलेलाई तिर्न बाँकी बही चुक्ता गर्न हिँडे । होटल मालिकबाट १०० यूरो पाएपछि मासु पसले बंगुर किसानको उधारो तिर्न बाटो लागे । १०० युरो पाएपछि बंगुर किसान पहिले ल्याएको दाना र इन्धनको बक्यौता भुक्तान गरेर ढुक्क भए । बंगुरको दाना र इन्धन आपूर्तिकर्ताले त्यो १०० यूरोबाट स्थानीय भट्टीमा उधारो खाएको रक्सीको बही चुक्ता गरे । आफ्नो बही उठेपछि भट्टी मालिकले पनि उधारो वेश्यागमन गरेको सम्झे र शहरको वेश्यालयमा तिर्न बाँकी रकम तिरे । १०० यूरो हात परेपछि वेश्यालय सञ्चालक लामो समयदेखि तिर्न बाँकी होटलतिर लागे । संयोगले त्यो त्यही होटल परेछ, जसमा जर्मन पर्यटक बस्न खोज्दैथिए । आफूले तिरेको १०० यूरो सारा शहर एक फन्कोलगाएर पुनः आफ्नै हातमा आएपछि होटल मालिकले खुसी हुँदै कन्तुरमा राखे । त्यसको केही क्षणपछि कोठा हेर्न माथि चढेका जर्मन पर्यटक तल ओर्लिएर आफूले खोजेजस्तो उपयुक्त कोठा नभएको भन्दै होटल मालिकसँग पहिला दिएको १०० यूरो फिर्ता मागे । होटलवालाले पनि विनम्रतापूर्वक १०० यूरो फर्काइदिए । पर्यटक अर्को शहरतिर हान्निए ।

ती पर्यटकले होटल मालिकलाई दिएको १०० यूरोबाट न केही उत्पादन गरेको न कसैले केही कमाएको देखिन्छ । तर यो घटनामा साँच्चै कसले केही उत्पादन गरेनन् वा कसैले केही कमाएनन् भन्नु अन्यथा हुन्छ । किनभने, त्यो १०० यूरोबाट बंगुर किसानले पुरानो ऋण तिरे । अब उनले पुनः उधारोमा दाना र इन्धन खरिद गरेर थप बंगुर उत्पादन गर्न सक्छन् र होटल तथा रेस्टुराँमा मासु आपूर्ति हुन्छ । तर त्योभन्दा बढी १०० यूरोको एउटा नोटबाट छोटो समयमै थुप्रै शहरवासी ऋणमुक्त भए । व्यावसायिक चक्र यसरी चलिरहन्छ । तर, यो अवस्था निकै असहज हो र यसलाई ऋणको धराप (Debt Trap) भनिन्छ । यस्तो असहज अवस्थामा, कुनै एउटा व्यक्तिले ऋण तिर्न सकेन वा चाहेन भने स्थिति भयावह बन्नपुग्छ । तर, यस घटनामा १०० यूरोको क्रम बिग्रिएन र जर्मन पर्यटकले आफ्नो रकम फिर्ता पाए ।

पैसाले कसरी काम गर्छ र मानव जीवनलाई सहज बनाउँछ भन्ने यो सानो उदाहरण मात्र हो । संसारमा यस्ता उदाहरण अनगिन्ती हुनसक्छन् । यसको सन्देश पैसाको उचित व्यवस्थापन गर्न सक्नुपर्छ र आयरल्याण्डको जस्तो अवस्था आउन दिनुहुँदैन भन्ने हो ।

-आर्थिक अभियान दैनिकबाट



Add comment