कुनै पनि शिक्षकले आफूले पढाएका
कुरा विद्यार्थीले राम्ररी बुझून् भन्ने नै चाहन्छ। यसरी पढाउन शिक्षकले पाठको पूर्वअध्ययन गर्नुका साथै त्यसनिम्ति आवश्यक सन्दर्भ सामग्रीहरूको पनि अध्ययन गरेको हुनुपर्छ। तर यति गर्दागर्दै पनि सम्पूर्ण विद्यार्थीले समान रूपले पढाएको कुरा बुझदैनन्। यस्तो हुनुको एउटा कारण शिक्षकले कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो कार्यप्रति आकर्षित गर्न नसक्नु हो।
सिकाइ प्रक्रिया आकर्षक हुनुपर्दछ। शिक्षकले पढाइरहेको पाठमा विद्यार्थीको रुचि जागेको हुनुपर्दछ। सिकाइ प्रक्रियालाई प्रभावकारी र दिगो बनाउन अहिले Role Play विधिको प्रचलन बढेको छ। Role Play को विधिबाट शिक्षकले कक्षाका सम्पूर्ण विद्यार्थीलाई समान रूपले पाठ्यपुस्तकमा भए अनुरुप पात्रहरू बनाई अध्यापन गर्दा वा शिक्षकले विद्यार्थीहरूलाई एक्ला–एक्लै वा समूहमा राखेर छोटो समयमा राम्ररी पढाउन सकिन्छ। Role Play को विधि अनुसार प्रदर्शन, अभिनय, प्रतिबद्धता र एकाग्रता इत्यादि तरिकाबाट सिकाउँदा सिकाइ प्रक्रिया प्रभावकारी हुन्छ।
पाठ्यपुस्तकका पाठ अनुरुप विद्यार्थीहरूलाई अभिनय गराई पाठका कुराहरूबारे उनीहरूको मानसपटलमा दिगो प्रभाव पार्नु नै यो विधिको मर्म हो। यो तरिकाबाट पढाउँदा विद्यार्थीले पाठ बुझने मात्र होइन, त्यसलाई महसुस पनि गर्न सक्छन्। यो 'गर र सिक' प्रकारको सिकाइ प्रक्रिया पनि हो। यसमा विद्यार्थीले पाठ रटेर कण्ठ पार्नुपर्दैन। उनीहरूले राम्ररी बुझेका कुरालाई सजिलै अन्यत्र व्यक्त गर्न सक्छन्। यसका साथै पढुञ्जेल मात्र याद रहने र पछि बिर्सेर जाने समस्या हुँदैन।
यसरी सिकेका कुराहरू विद्यार्थीको मस्तिष्कमा स्थायी रूपले रहन्छन्। यस अर्थमा, Role Play सिकाइ विधि विद्यार्थीको शिक्षाको आधार तयार गर्ने एउटा उत्तम विधि हो' भन्न सकिन्छ।
गीता पञ्जियार 'थारू'
चोइना विणा गुरु गणेश प्रावि, लोहाचोक, ललितपुर
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


