शिक्षक पत्रिका शिक्षा क्षेत्रमा सरोकार राख्ने
र शिक्षण पेशामा संलग्न वा हुन चाहनेका लागि विश्वसनीय पथ–प्रदर्शक भएको छ।
शिक्षकका लागि परियोजना कार्य, समस्या अध्ययन, कार्यमूलक अनुसन्धान र तहगत आधारमा (ज्ञान, बोध, प्रयोग) प्रश्नपत्र निर्माण जस्ता कुरा अति आवश्यक हुन्छन्। त्यसैले परिचय, प्रकार, विषय क्षेत्र, भिन्नता, सीमा (परियोजना कार्य, अवस्था अध्ययन र कार्यमूलक अनुसन्धानको) जस्ता कुरा प्रस्ट हुने गरी विज्ञहरूबाट लेखाइ प्रकाशित गर्न अनुरोध गर्दछु। साथै, तिनै शीर्षकका लागि केही प्रश्न पनि दिइयोस्। यसैगरी प्रस्ट परिचय र आधारसहितका प्रश्नपत्रका नमुना पनि प्रकाशित होऊन्।
विगतमा शैक्षिक जनशक्ति विकास केन्द्रमार्फत शिक्षकका लागि सेवाकालीन तालिम सञ्चालन गरिए। प्रशिक्षक र प्रशिक्षार्थीबाट तालिम लिने–दिने काम भयो। यसमा म पनि संलग्न थिएँ। तर माथिका शीर्षकमा म आफैं प्रस्ट नभएकाले केही गर्न सकिनँ। साँचो अर्थमा त्यो तालिममा ठगिने र ठग्ने काम मात्र भयो।
तालिम सञ्चालनका लागि केन्द्रबाट खटिने व्यक्ति नै विषयवस्तुमा प्रस्ट नहुने, गोलमटोल तरिकाले कार्यक्रम सञ्चालन गर्ने गरिन्छ। त्यसको असर मातहतका सबैतिर पर्ने नै भयो। त्यसैले तालिम सञ्चालन गर्ने निकायले सर्वप्रथम केन्द्रमै दक्ष प्रशिक्षक तयार पार्नुपर्यो र प्रभावकारी ढङ्गले तालिम सञ्चालन गर्नुपर्यो। अन्यथा, झारा टार्र्ने तालिममा साधन स्रोत बगाउनुको औचित्य देखिँदैन।
अतः शिक्षण पेशाका लागि अपरिहार्य परियोजना कार्य, अवस्था अध्ययन, कार्यमूलक अनुसन्धान र प्रश्नपत्र सम्बन्धमा प्रस्ट आधारसहितका नमुनाले शिक्षक मा प्राथमिकता पाउने छन् भन्ने विश्वास गर्दछु।
नेपाली विषयका तालिम विज्ञहरू अङ्ग्रेजी, गणितका भन्दा अल्छी र टालमटोल गर्ने भएकाले उपर्युक्त समस्याको समाधान नेपाली विषयमै होस् भन्ने अपेक्षा पनि गर्दछु।
माधवप्रसाद भट्टराई
रामदेव जनता उमावि, भ्रमरपुरा, महोत्तरी
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


