गत वर्षको तुलनामा यस वर्षको एसएलसी परीक्षाफल झण्डै ९ प्रतिशतले कम भएको देखिन्छ। यसरी बढ्दै गएको उत्तीर्ण प्रतिशत अचानक घट्नुको कारण मेरो विचारमा सरकारले यस वर्ष परीक्षालाई मर्यादित बनाउन गरेको कडा प्रयासको परिणाम हो। तर परीक्षा जस्तो हुनुपर्ने हो र जतिसम्म सरकारले मिहिनेत गरेको थियो त्यति मात्रामा प्रभावकारी हुनसकेको थिएन। यदि परीक्षालाई पूर्णतया मर्यादित बनाउने हो भने उत्तीर्ण प्रतिशत अझै कम हुने देखिन्छ।
विद्यार्थीको पढाइको स्तरलाई हेर्दा अहिलेको उत्तीर्ण प्रतिशत पनि धेरै बढी छ। केही राम्रा तथा निजी विद्यालय बाहेकका विद्यालयको शैक्षिक वास्तविकतालाई आधार बनाउने हो भने उत्तीर्ण प्रतिशत ३५ भन्दा बढी हुनसक्दैन।
यसबाट परीक्षालाई जति मर्यादित बनाउन सक्यो उत्तीर्ण प्रतिशत त्यति नै ओरालो लाग्ने स्पष्ट देखिन्छ। विगतमा बढेको उत्तीर्ण प्रतिशत केवल शिक्षकले आफ्नो विषयमा, प्रअले विद्यालयमा, जिशिअले जिल्लामा र क्षेत्रीय शिक्षा निर्देशकले आफ्नो क्षेत्रमा आफूलाई राम्रो देखाउन र शिक्षा मन्त्रालयले दातृ निकायहरूले दिएको डलर पचाउनको निम्ति गरेको गलत अभ्यासको परिणाम थियो भन्ने पनि छर्लङ्ग भएको छ।
इन्द्रराज भट्ट
धारीपाटा मावि, धारी, दार्चुला
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


