-प्रकाश पौडेल
“सर! मेरो छोरो कसरी फेल भयो? एउटा छोरो, बर्बादै भइहाल्यो नि!
किन सर मेरो छोरोले विद्यालयमा राम्रोसँग पढ्दैन, गृहकार्य गर्दैन?”
चिन्तित अनुहार लिएका एक अधबैंसे अभिभावक मलाई प्रश्नको खात लगाउँदैथिए। मैले उहाँलाई सम्झाउने प्रयत्न गर्दै भनेँ, “घरमा अलि बढी ख्याल गर्नुहोस्। साथीभाइको सङ्गत र व्यवहारले पनि केही समस्या थपेको छ। त्यसो त; सिक्नलाई ऊ खास उत्साही नै देखिँदैन। उसलाई केही घरायसी समस्या छ जस्तो छ।” समस्याको कारण घर र घरको वातावरणलाई इङ्गित गर्दै म समस्याबाट मुक्त हुने प्रयास गर्दैथिएँ। छोटो वार्तालापपछि उनी बाटो लागे। मैले उनलाई अनुरोध गर्दै भनेको थिएँ, “उसको सन्दर्भमा हामी आफैँ पनि चिन्तित छौं। म सक्दो प्रयास गर्नेछु।”
यस्ता सन्दर्भहरू प्रायः आइपर्छन्। अभिभावकहरू आफ्ना छोराछोरीको भविष्यको लागि बढी नै चिन्तित देखिन्छन्; जुन स्वाभाविक पनि छ। तर लगभग प्रत्येक दिन सामना गर्नुपर्ने यस्ता प्रश्नले मलाई घोरिन बाध्य पार्ने गरेका छन्। के हामी शिक्षकहरूले सही शिक्षण गरिरहेका छौं? के हाम्रो शिक्षणले विद्यार्थीमा उत्सुकता थपेको छ? विद्यार्थीको ध्यानलाई पठन–पाठन क्रियाकलापतर्फ रचनात्मक तबरले खिच्न सफल भएका छौं? किन हाम्रो शिक्षणले कमजोर विद्यार्थीमा सुधार ल्याउन सकेन? के हामी शिक्षकले नै आफ्नो शिक्षण क्रियाकलापको विश्लेषण र मूल्याङ्कन गर्नुपर्ने भएको हो?
हो, शिक्षकको शैलीमा केही परिवर्तन अत्यावश्यक छ। अदक्ष व्यक्तिलाई शिक्षण प्रक्रियाद्वारा सबल र सक्षम जनशक्तिमा रुपान्तरण गराउने सक्षमता राख्ने शिक्षकहरू सक्षम, सक्रिय र सकारात्मक हुनैपर्छ। ज्ञानका र सूचनाका अनन्य स्रोत मानिने शिक्षकको परिभाषा र दायित्व दुवैमा परिवर्तन आएको छ। अब शिक्षक सर्वेसर्वा होइनन्; मात्र सहजकर्ता हुन्। सिकाइको निमित्त वातावरण निर्माण (पाठ्यक्रम, पाठ्यपुस्तकको उपलब्धता, सिकारुमा रुचि, इच्छा, तत्परता र आवश्यकताको भावना निर्माण, स्वाध्यायन संस्कृतिको निर्माण, आपसी छलफल र विमर्शबाट सत्य–तथ्यको नजिक पुगिने यथार्थताको बोध, उद्देश्यप्राप्तिको लागि समर्पण र निरन्तरताको महसुस आफ्नो क्षमता सम्भावनालाई चिन्न) गर्नुपर्दछ। त्यसैगरी विद्यार्थीलाई निष्त्रि्कय ग्रहणकर्ताबाट अनुसन्धानकर्ताको रूपमा प्रयोगमा ल्याउनुपर्दछ। यसले विषयवस्तुमा विद्यार्थीको सक्रिय सहभागिता बढाउँछ। पुरातन सोच र अहम् एवं व्यक्तिवादी संस्कृतिले सिर्जनात्मकताको सट्टा आफ्नो ज्ञान अरूमा थोपर्न मात्र सजिलो बनाउँछ।
शिक्षकले शिक्षण गर्दा विषयवस्तुमा अत्यधिक सोच्नको लागि वातावरण तयार पारी विद्यार्थीहरूलाई निर्धक्कसँग आफ्ना विचार, अनुमान र कल्पनाहरू अरूको सामु पेश गर्न दिनुपर्दछ। यसबाट सोच्नेशक्ति एवं कल्पनाशक्तिमा वृद्धि हुनाको साथै आफ्नो विचारमा अरूलाई सहमत गराउन आवश्यक पृष्ठभूमि तथा तथ्यहरूको सङ्कलन, अध्ययन र विश्लेषण गर्न अनिवार्य बनाउँछ। आफ्नो प्रस्तुतिमाथि अन्य साथीहरूको प्रश्न भएमा चित्तबुझदो उत्तर दिने क्षमता बढ्छ, जसले सामाजिकीकरणमा सहयोग पुर्याउँछ। शिक्षकले एक चरणको छलफल भइसकेपछि विषयवस्तुसँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराई अध्ययन गर्न सहजीकरण गर्नुपर्दछ। विद्यार्थीको उमेर, क्षमता, कक्षा र आवश्यकताको आधारमा विषयवस्तु र यसको गहिराइमा पुग्ने सवालमा शिक्षकले विशेष भूमिका खेल्नुपर्दछ। यतिञ्जेलसम्म विद्यार्थीहरू आफ्ना अनुमान र यथार्थताका बीचमा तुलना गर्न सक्षम भइसकेका हुन्छन्। कुनै पनि प्रश्नको जवाफ छलफलबाट पत्ता लगाउन सक्छन्। अब शिक्षकले ती सङ्ग्रहित बुँदा र अन्य अपुग बुँदाहरू प्रस्टसँग कालोपाटीमा लेखी हाम्रा दैनिक जीवनमा घटेका र घट्ने खालका सन्दर्भ/उदाहरणहरू प्रस्तुत गरी विषयवस्तुको धारणा प्रस्ट बनाउन सक्नुपर्दछ। यसरी सिकिएको सिकाइ चिरस्थायी, जीवनोपयोगी र जीवन्त पनि हुन्छ।
शिक्षकले विषयवस्तु पढाउनु भन्दा अगाडि त्यो विषय प्रस्टसँग बुझन आवश्यक पर्ने आधारभूत शीर्षक एवं उपशीर्षकहरूको सिकारुमा ज्ञान भए/नभएको पहिचान गरी आवश्यकता अनुसार उपचार गर्न सक्नुपर्दछ। प्रत्येक विद्यार्थीको पारिवारिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षहरू फरक हुने भएकाले रुचि, चाहना, आवश्यकताका साथै सिक्ने क्षमता र तत्परतामा पनि विविधता आउँछ। यस्ता फरक क्षमताका विद्यार्थीलाई एउटै कक्षामा राखी शिक्षण गर्न विशेष सीपको आवश्यकता हुने हुँदा शिक्षक अध्ययनशील, तार्किक, धैर्य र अनुशासित बन्न सक्नुपर्दछ। विद्यार्थीहरूका बीचमा गृहकार्य, कक्षाकार्यका साथै उत्तरपुस्तिकाहरू साटासाट गरेर एकले अर्काको राम्रा पक्षहरूको अनुसरण गर्ने वातावरण सृजना गरी आफ्नो सिकाइको घेरो फराकिलो बनाउने अवसर जुटाइ दिनुपर्दछ। अध्ययनका क्रममा ठीक भए कसरी र बेठीक भए कसरी भन्ने तरिकाले विश्लेषणात्मक अध्ययन गर्ने बानीको विकास गराउनुपर्दछ। गल्ती गर्ने र गल्ती दोहोर्याउने सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसमा न्यून बनाउन शिक्षण रणनीतिमा फरक ढङ्गले सोच्न थाल्नुपर्दछ।
थकित शरीर, आलस्य मन, बूढो शरीर र राजनीतिक पृष्ठपोषण लिएर विद्यालय प्रवेश गर्ने हजारौं कामचोर अदक्ष शिक्षकहरूले आफूलाई सच्याउँदै कर्तव्यनिष्ठताको बोध गर्न सक्नुपर्दछ। समस्याको समाधान शिक्षकको कोर्टमा नै बढी छ। यदि यी र यस्ता विषयमा सच्चिन थाल्यौं भने अभिभावकहरू गुनासा र प्रश्नहरू लिएर होइन स्यावासी र बधाईका शब्द लिएर विद्यालय पुग्नेछन्। आखिरमा राम्रो काम गर्नेको पहिचान भएरै छाड्छ।
धादिङवेसी, धादिङ
| पछिल्लो पृष्ठ > |
|---|


