Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


जिज्ञासा र जवाफ

E-mail Print PDF
User Rating: / 8
PoorBest 

भिन्नता नै छैन के देखाउने?

कक्षा ४ को अङ्ग्रेजी पाठ्यपुस्तक (जशिसाके) को पृष्ठ २३

को क्रियाकलाप नं. ५ मा दुई वटा चित्र दिएर तिनमा 'चार/चार वटा फरक देखाऊ' भनिएको छ। तर, म दुवै चित्र उस्तै देख्छु, कुनै भिन्नता देख्दिनँ, यसमा के भएको हो?

हीरासिंह बोहरा

महन्यालेश्वर निमावि, बर्छेन–६, डोटी

picture_a_elephant  picture_b_elephant

जशिसाकेद्वारा सन् २००७ को संस्करणमा छापिएको चित्रमा स्पष्ट चार/चार वटा फरक छन्। तर, स्न २००८ यता पुनःमुद्रित पुस्तकमा भने तपाइँले औंल्याए जस्तै त्रुटि रहेको देखिन्छ। पछिल्ला संस्करणका लागि पाठ्यक्रम विकास केन्द्रले चित्रको रङमा सामान्य हेरफेर गरी पाठ्यपुस्तकको 'सोर्स फाइल'सहितको मुद्रणीय प्रति जशिसाकेमा पठाएको हो। तर, हामीले पठाएको 'पेज फाइल'लाई मिलाउने क्रममा जशिसाकेबाटै त्रुटिवश चित्र 'ए' र 'बी' समान चित्र छापिएको देखिन्छ। अतः उपलब्ध भएसम्म सन् २००७ को पाठ्यपुस्तकबाट अध्यापन गराउन शिक्षक वर्गमा हाम्रो अनुरोध छ। यो त्रुटिलाई आउँदो संस्करणमा सच्याइनेछ।

गणेशप्रसाद भट्टराई

उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र

पाठ्यक्रम विकास केन्द्रबाट पठाइएका दुई वटा चित्रको फाइलको नाम मिल्दोजुल्दो भएकाले चित्र छनोट गर्दा भूलवश एउटै चित्र पर्न गएको हो। यसबाट शिक्षकवर्गमा पर्न गएको असुविधाप्रति हामी दुःखी छौं। आउँदो संस्करणमा यो त्रुटि सच्चिएर आउनेछ।

अर्जुनविलास पन्त

निर्देशक, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड

प्रसूति स्याहार बिदाः

कहिले लिने?

शिक्षा नियमावलीमा पत्नी सुत्केरी हुँदा पुरुष शिक्षकलाई १५ दिन प्रसूति स्याहार बिदा दिने उल्लेख छ। यो बिदा श्रीमती सुत्केरी भएको कति दिनदेखि कति दिनभित्र लिनुपर्ने हो?

युवराज काफ्ले

जनमार्ग उमावि, सिलुवा–१, पाल्पा

सुत्केरी हुनुअघि र पछि गरी १५ दिन प्रसूति स्याहार बिदा दिने व्यवस्था नियमावलीमा छ। तर, यति दिनदेखि यति दिनभित्र बिदा लिइसक्नुपर्ने बारे नियमले केही बोलेको छैन। यद्यपि नियमावलीमा लेखिएको 'सुत्केरी हुनुअघि' भन्ने शब्दावलीले चाहिँ 'प्रसूति तयारी'लाई सङ्केत गरेको देखिन्छ। यसबाट सुत्केरी भएको १५ दिनभित्रै प्रसूति स्याहार बिदा उपभोग गरिसक्नुपर्ने भन्ने नियमको आशय रहेको देखिन्छ।

विदुरराज गिरी

उपसचिव, शिक्षा मन्त्रालय

मैले के गर्नुपर्ला?

म २०४८/०५/०३ मा प्रावि र २०६०/०६/३० मा निमावि तहको स्थायी नियुक्ति पाई हालसम्म कार्यरत छु। मैले 'पाठ्यक्रम तथा मूल्याङ्कन' विषयमा एम.एड. उत्तीर्ण गरी १०+२ लाई पनि पढाउँदै आएको छु। यही भदौमा मेरो २० वर्ष पुग्दैछ। अतः तलको अवस्थामा मैले के गर्नुपर्ला?

१. १०+२ को दरबन्दी (पूर्णकालीन)मा जान कार्यरत पद छोड्नुपर्छ कि पर्दैन? उमेरको हद लाग्छ वा लाग्दैन?

२. हाल कार्यरत पदबाटै पेन्सन लिएर बस्ने स्थितिमा मैले १०+२ तर्फ दरबन्दी सिर्जना भएको अवस्थामा १०+२ को शिक्षक भएर काम गर्न पाउँछु कि पाउँदिनँ?

रामेश्वर अधिकारी

महेन्द्र उमावि, तुलसीपुर, दाङ

१०+२ को पूर्णकालीन दरबन्दीको लागि हालसम्म नीतिगत व्यवस्था नै नभइसकेको हुँदा त्यसबारे केही बताउन सकिँदैन।

पुण्यप्रसाद घिमिरे

उपसचिव, शिक्षा मन्त्रालय

स्रोतव्यक्ति कसरी छान्ने?

नयाँ स्रोतव्यक्ति नियुक्तिका लागि दुई जना शिक्षकको आवेदन परेको अवस्थामा स्रोतव्यक्ति छनोट गर्ने मापदण्ड र प्रक्रिया के हो?

नारायणप्रसाद पौडेल

प्रअ, ज्ञानोदय निमावि, सत्यवती–७, पाल्पा

स्रोत केन्द्र मातहतका विद्यालयका प्रअहरूबाट मतदान गराएर एक जनालाई चयन गर्ने।

रामराज खकुरेल

उपसचिव, शिक्षा विभाग

पदक त अर्कैले लगेछ!

२०६५ सालको राष्ट्रिय शिक्षा पुरस्कार पाउने शिक्षकको सूचीमा मेरो नाम पनि थियो। मैले पाउनुपर्ने प्रमाणपत्र र पदक २०६७ माघमा जिशिका, मोरङमा आएको थाहा पाएपछि पदक लिन गएँ। भर्पाईमा सानो सही गरेर मेरो पदक त अर्कै व्यक्तिले लगिसकेको रहेछ। कसले लग्यो त्यो पनि पत्तो लागेन। अब मैले पदक पाउने उपाय के होला?

जीतबहादुर कटुवाल

दुर्गा मावि, इटहरा–६, मोरङ

शिक्षा मन्त्रालयले अर्को पदक र प्रमाणपत्रको व्यवस्था गर्न सक्दैन। यदि तपाईंलाई २०६५ सालमा राष्ट्रिय शिक्षा पुरस्कार पाएको प्रमाण चाहिएमा मन्त्रालयले त्यसका निम्ति प्रमाणित कागजात चाहिँ बनाइदिन सक्छ।

कृष्णगोपाल श्रेष्ठ

शाखा अधिकृत, शिक्षा मन्त्रालय

निर्णय व्यवस्थापन समितिबाट

म निमावि बाँकी, गोल्टाकुरी–२, दाङमा पियन पदमा कार्यरत छु। मैले महिनाको रु.३ हजार तलब पाउँछु। विद्यालयमा व्यवस्थापन खर्च बापत रु.१ लाख निकासा हुने कुरा थाहा भयो। यो सम्पूर्ण रकम पियनको तलबमा खर्चन मिल्ला कि नमिल्ला?

शान्तवीर थारू

निमावि बाँकी, गोल्टाकुरी–२, दाङ

विद्यालयका कर्मचारी (लेखापाल र पियन)को व्यवस्थापनका लागि भनेर यस्तो रकम विद्यालयमा पठाउने गरिन्छ। त्यस रकमबाट विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा तलब व्यवस्थापन गर्नुपर्ने हुन्छ।

कृष्णप्रसाद ढुङ्गाना

उपसचिव, शिक्षा विभाग

सुविधा थपिँदैन

म यसैपालि प्राथमिक द्वितीय श्रेणीमा बढुवा भएको छु र विद्यालयको प्रअ पनि हुँ। शिक्षा नियमावलीमा प्राथमिक विद्यालयमा आई.एड. वा सोसरह उत्तीर्ण शिक्षक प्रअ हुनुपर्ने व्यवस्था छ। मेरो विद्यालयमा सो तह उत्तीर्ण गर्ने म नै एक मात्र शिक्षक हुँ। अब म प्रअ रहेको अवस्थामा मेरो कुन श्रेणी कायम हुन्छ र तलब/भत्ता थप हुन्छ कि हुँदैन?

गिरबहादुर थापा

प्रअ, सूर्योदय प्रावि, आँबुखैरेनी–१, तनहुँ

तपाईं योग्यताप्राप्त प्रअ भएतापनि त्यसबाट अर्को छुट्टै श्रेणी निर्धारण हुँदैन र तपाईंले पाउँदै आएको प्रअ भत्ता बाहेक अरू सुविधा थपिने छैन।

पुण्यप्रसाद घिमिरे

उपसचिव, शिक्षा मन्त्रालय

द्विविधा पर्‍यो

विद्यालय क्षेत्र सुधार योजनाले तोकेको मापदण्ड अनुसार आधारभूत तह (कक्षा १–८) का लागि शिक्षकको योग्यता आई.एड. हो कि बी.एड. हो? यसमा द्विविधा पर्‍यो।

कुमार बयलकोटी

दीपेन्द्र स्मृति प्रावि, धरान

विद्यालय क्षेत्र सुधार योजनाले आधारभूत तहको शिक्षकको योग्यता आई.एड. वा सोसरह तोकेको छ।

शिवकुमार सापकोटा

उपनिर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

बिदा कसरी काटिन्छ?

कुनै शिक्षक बिरामी बिदाबाट कट्टा हुने गरी बिदा बसेको बेलामा विद्यालय खुलेका दिनको मात्रै बिदा कट्टा हुन्छ कि सार्वजनिक बिदाको दिनको पनि?

विष्णुकुमारी खत्री

नवदुर्गा प्रावि, हिलेछाप, ओखलढुङ्गा

यस्तै प्रकृतिका समस्या जिशिका, काठमाडौंबाट पनि शिक्षा मन्त्रालयमा प्राप्त भएका छन्। यसबारे नीतिगत निर्णयका लागि फाइल अगाडि बढाइएको छ। निर्णय भएपछि यसबारे विस्तृत बताउन सकिनेछ।

विदुरराज गिरी

उपसचिव, शिक्षा मन्त्रालय

जिल्लान्तर पनि हुने हो?

शिक्षा विभागले गत वैशाखमा जिशिकामा परिपत्र गरेको दरबन्दी मिलानको मापदण्डमा बढी भएका दरबन्दीलाई 'पुल दरबन्दी'मा राखी क्रमशः मिलान गर्दै लैजाने उल्लेख छ। यदि कुनै जिल्लामा धेरै सङ्ख्यामा पुल दरबन्दीमा शिक्षक रहेमा अर्को जिल्लामा लगेर मिलान गर्न मिल्छ कि मिल्दैन?

हेमचन्द्र अधिकारी

भारती उमावि, हात्तीखर्क–६, धनकुटा

एउटै जिल्लाभित्रका विद्यालयमा दरबन्दी मिलान गर्ने गरी उक्त व्यवस्था कायम गरिएको हो। यसमा तपाईंले भनेजस्तो जिल्लान्तर सरुवा र दरबन्दी मिलान गरिँदैन।

गणेश पौडेल, उपनिर्देशक, शिक्षा विभाग


Add comment