एक जना बूढो मानिसको घरबाट बन्चरो हरायो। अघिल्लो दिन दाउरा चिरेर राखेको ठाउँबाट एकाएक बन्चरो हराउँदा उनलाई छिमेकको केटाप्रति शङ्का लाग्यो। किनभने; त्यसबेला छरछिमेकमा त्यो केटो बाहेक अर्को कोही देखिएको थिएन।
त्यो केटोलाई उनीहरू विश्वासिलै मान्थे। तर पनि अचानक शङ्का गर्नुपर्ने परिस्थिति परेपछि उनी त्यो केटो कसरी चोर्न बाध्य भयो होला भन्ने सोच्न थाले। उनलाई त्यो केटाको घरको दयनीय
अवस्थाबारे थाहा थियो। बिचरा केटालाई 'स्कूलमा खाजा खान मन लाग्यो होला। बन्चरो बेचेको पैसाले खाजा खायो होला, यसो गर्यो होला, उसो गर्यो होला' भन्दै उनले धेरै सोचे।
तैपनि वृद्ध त्यस ठिटाका अरू चालचलन विचार गर्न थाले। उनले केटालाई जहिले पनि डराए जस्तो र अरूका छेउमा पर्न नखोजे जस्तो देखे। चुस्स दाह्री पालेको त्यो केटाका चालचलन र व्यवहार पेशेवर चोरकै जस्तो भएकोमा उनी विश्वस्त हुँदै गए।
एकदिन वृद्ध घरमा एक्लै थिए। उनको भैंसी फुकेर बारीमा दौडिन थाल्यो। पल्लो घरको त्यही केटो आएर भैँसी बाँधिदियो। केटाले उनलाई सोध्यो, “काका, भरे बाल्नलाई दाउरा पनि देख्दिनँ, चिरिदिऊँ?”
वृद्धले नमीठो स्वरमा जवाफ फर्काए, “भएको एउटा बन्चरो त कुन पापीले चोर्यो, केले चिर्नु र दाउरा?”
केटोले आफ्नो घरबाट बन्चरो लिएर आयो। उसले वृद्धसँग कुन मूढो चिर्ने? भनेर सोध्यो। बूढाले देखाएको मूढो केटाले बल गरेर तान्यो। त्यो मूढामुनिको कापमा एउटा बन्चरो देखा पर्यो।
“काका, यही त होइन तपाईंको हराएको बन्चरो?” केटाले सोध्यो।
बूढालाई आफ्नो शङ्कालु बानीप्रति हुनसम्म पछुतो भयो।
(चिनियाँ लोककथा)
| पछिल्लो पृष्ठ > |
|---|


