Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


क्षमता र सीमा

E-mail Print PDF
User Rating: / 2
PoorBest 

एउटा गधा दाउराको भारी बोकेर खोलो तर्दैथियो। अचानक खुट्टा चिप्लिएर ऊ पानीमा पल्ट्यो। गह्रुँगो भारीले गर्दा उठ्न नसकेपछि ऊ बेस्सरी चिच्याउन थाल्यो।

गधा कराएको सुनेपछि खोलाका केही भ्यागुता उसको नजिक पुगे। तिनले गधाको स्थिति देखेपछि उसलाई व्यङ्ग्य गर्दै भने, “हामीजस्तै जीवनभर हिलो र पानीमा बस्नु परेको भए तिमीले के गर्थ्यौ? एकछिन पानीमा डुब्दैमा यस्तो हल्ला गर्न सुहाउँछ?”

अप्ठ्यारोमा परेका बेला भ्यागुताहरूको अर्ती सुन्नुपर्दा गधालाई खपिनसक्नु भयो। रिसको झोंकमा न्वारानदेखिको बल लगाएर पानीबाट निस्कने प्रयत्न गर्न थाल्यो। नभन्दै त्यहाँबाट निस्कन सफल पनि भयो। बाहिर निस्किएपछि उसले अघिका भ्यागुताहरूलाई आफ्नोछेउमा डाक्यो। सबै भ्यागुता नजिक आइपुगेपछि उसले आफ्नो भारीबाट जानाजान केही दाउरा भ्यागुताहरूमाथि खसाइदियो।

दाउराको बोझले थिचिएर भ्यागुताहरू छटपटाउन थाले। अनि गधाले पहिले उनीहरूले नै भनेको कुरा दोहोर्‍यायो, “मैले जस्तै जीवनभर भारी बोक्नु परेको भए तिमीहरूले के गर्थ्यौ? एक–दुईवटा दाउरा बोक्दैमा यसरी छट्पटाउन सुहाउँछ?”

सबैले मूर्ख ठानेको गधाका बुद्धिमान कुरा सुनेर चेप्टिएकै अवस्थामा पनि भ्यागुताहरू छक्क परे। उनीहरूलाई आफ्नो अहङ्कार थाहा भयो।

एकछिनमा भ्यागुता माथिका दाउरा हटाइदिएर गधा आफ्नो बाटो लाग्यो। भ्यागुताले गधाको क्षमता मात्र होइन, सद्व्यवहारको पनि परिचय पाए।

शिक्षाः सबैका आ–आफ्ना क्षमता र सीमा हुन्छन्। अर्कालाई आफ्नो क्षमतासित तुलना गर्नेले आफ्नो सीमा र अर्काको क्षमताको पनि हेक्का राख्नुपर्छ।



Add comment