| Article Index |
|---|
| जलवायु परिवर्तनसँगै बाँच्ने एउटा बाटो |
| Page 2 |
| All Pages |
-अजय दीक्षित
साउनको दोस्रो सातातिर काठमाडौँबाट प्रकाशित एक अङ्ग्रेजी
दैनिकमा “गर्मी बढेको हुँदा गोठमा पङ्खा सञ्चालन, तराईमा जनजीवन अस्तव्यस्त” 'क्याप्सन'मा एउटा तस्बिर छापिएको छ। गोठका मालिकले गाईवस्तुलाई गर्मीबाट राहत दिन पङ्खा चलाएको बुझिन्छ। तस्बिरले जलवायु परिवर्तनका केही पक्ष उजागर गर्नुका साथै नयाँ परिस्थितिसँग कसरी बाँच्दै जाने भन्ने जवाफ खोज्न पनि सहयोग गर्छ।
वर्षा ऋतुमा पानी पर्दा सामान्यतया तराई र उपत्यकामा तापक्रम घट्छ; तर पानी पर्न रोकिएर घाम लागेपछि हपक्क गर्मी बढ्छ। तराई क्षेत्रमा चैत–वैशाख र जेठ महिनामा साह्रै गर्मी हुन्छ, तातो हावा पनि चल्ने गर्छ। के तराईमा अनुभव गरिने गर्मी जलवायु परिवर्तनको असर हो त? जवाफ खोज्न विज्ञानको सहयोग आवश्यक पर्छ। कुनै खास क्षेत्रको तापक्रमको चरित्रले उक्त प्रश्नको जवाफ खोज्न सघाउँछ। तर नेपालका धेरै ठाउँमा तापक्रम नाप्ने थर्मामिटर भएका स्टेसन छैनन्, छेउछाउमा रहेका स्टेसनको आँकडामा भर पर्नुपर्छ। यस्ता आँकडा पनि नियमित छैनन्। वर्षाको आँकडाको स्थिति पनि यस्तै छ। उचाइले गर्दा पहाडी धरातलका बेंसी र देउरालीमा पानी पर्ने चरित्रमै फरक हुन्छ। छेउछाउका मापन केन्द्रले खोजेको स्थानको तापक्रम र वर्षाको पूर्ण अवस्थाको जानकारी दिन सक्दैनन्। तापक्रमको हकमा यो कार्य तुलनात्मक रूपमा सहज हुन्छ। उदाहरणको लागि कपिलवस्तु जिल्लाको दक्षिण भेगमा गर्मी भए उत्तरी भेगमा पनि हुन्छ; यद्यपि केही कम।
जलवायु परिवर्तनका कारण भविष्यमा तापक्रम कति बढ्ला र वर्षा कस्तो होला? कम्प्युटरमा आधारित जनरल सर्कुलेसन मोडल (जीसीएम)ले वायुमण्डललाई ग्राफ जस्तै स–साना तीनवटा आयामिक कोठाहरूमा विभाजन गर्छ र कोठा भित्रको तापक्रम, हावाको गति, वाफ, जस्ता पक्षको अर्को कोठा सितको अन्तरसम्बन्ध केलाउछ। अनि ३०, ५०, ७५ वा ९० वर्षपछि कार्बनडाइअक्साइड उत्सर्जन हुने मात्रा अडकल गर्दै त्यसले तापक्रम र वर्र्षाको चरित्रमा पर्ने परिदृश्य तयार गरिन्छ।
सन् २००९ मा पन्ध्रवटा जीसीएम प्रयोग गरी गरिएको एउटा अध्ययन ले सन् २०३०, २०६० र २०९० मा नेपालको औसत तापक्रम परिवर्तनको परिदृश्य तयार गरेको थियो। पन्ध्रवटै मोडलबाट प्राप्त नतिजाको विश्लेषणले सन् २०३० मा औसत तापक्रम; सन् १९७७–१९९९ को औसतको तुलनामा १.४ डिग्री सेल्सियस बढी हुने देखाएको छ।
सो अध्ययन अनुसार सन् २०६० सम्म गर्मी दिनहरू १५ देखि ५५ प्रतिशत र २०९० सम्म २६–६९ प्रतिशतले बढ्न सक्नेछन्। त्यस्तै, मनसुन वर्षअघिका रातमा २०६० सम्म १५–५५ प्रतिशत र २०९० सम्म २६–६९ प्रतिशतले गर्मी बढ्नेछ। औसतमा गर्मी रातहरू २०६० सम्म ६–७७ प्रतिशत र २०९० सम्म २९–९३ प्रतिशतले बढ्ने छन्।
यसरी तापक्रम बढेपछि जनजीवन र प्रकृतिमा के–कस्तो असर पर्छ त? यसको जवाफ खासै कठिन पनि छैन। शरीरलाई असजिलो हुन्छ, जलअल्पता (डि–हाइड्रेसन) हुन्छ, बीउ–विजन नाश हुन्छन्, खडेरी बढी पर्छ; उत्पादन घट्छ, डढेलोका घटना बढ्ने छन्, कीरा–फट्याङ्ग्रा बढ्छन् एवं फोहोर–मैलाबाट शुरु हुने रोगव्याधी बारम्बार दोहोरिने जस्ता प्रभाव अरू बढी हुनेछन्। औषधिमुलोको व्यवस्था गर्न नसक्ने र कमजोर परिवारको जीविका झन् कष्टपूर्ण हुनेछ।
यस्तो स्थितिको सामना कसरी गर्ने त? कतिपय उपाय स्पष्ट छन्। स्वास्थ्य सेवाको स्तर सुधार्नु एउटा उपाय हो। सीमान्त अवस्थामा बाँचिरहेकाहरूलाई सो सेवा उपलब्ध गराउने मूल दायित्व राज्यको भए पनि यस कार्यमा निजी क्षेत्रलाई पनि उत्तिकै सहभागी गराउन सकिन्छ। फोहोर–मैलाको व्यवस्थापन त्यसै पनि गर्नुपर्ने कार्य हो। सफा–सुग्घर क्षेत्रमा रोगव्याधीको सङ्क्रमणको सम्भावना स्वतः कम हुन्छ। खेतीपाती एवं फलफूलमा पर्ने प्रभावको आकलन र त्यसको समाधान गर्र्न सिर्जनशीलता आवश्यक पर्छ। यस क्रममा राज्यका अङ्गहरूको दायित्व र भूमिकाको पुनर्व्याख्या तथा नयाँ तौरतरिकाको चयन ठूलो चुनौती बन्न सक्छ।
| पछिल्लो पृष्ठ > |
|---|


