प्रत्येक महिना शिक्षक मासिकको तयारीका क्रममा जम्मा हुने सूचना, समाचार र लेख–रचनाले सम्पादक मण्डलका सदस्यहरूको मनमा मिश्रित भावहरू पैदा गर्छन्। हामीकहाँ
जसरी एकदमै उत्साहजनक समाचार र विवरणहरू प्राप्त हुन्छन्, त्यसैगरी सुन्नै मन नलाग्ने, स्वीकार्नै नसकिने कुरा पनि आउँछन्। हामी दुवैथरी प्रकाशित गर्छौं। सधैँ झैँ शिक्षक को भदौ अङ्क पनि दुवै किसिमका सामग्री लिएर आएको छ, यस्तो सधैँ नै भइरहनेछ।
राम्रा समाचारबाट समाजमा राम्रो सन्देश फैलिन्छ, अरूमा पनि राम्रो काम गर्न प्रेरणा जाग्छ भन्ने विश्वास गरिन्छ। राम्रा कामलाई सञ्चारमाध्यमहरुले उच्च महत्त्व दिनु भनेको त्यस्ता कामलाई सार्वजनिक मान्यता दिनु र त्यसका नायक नायिका वा सहभागीहरूको सुनाम र सुकृति फैलाउन मद्दत गर्नु पनि हो। राम्रा कामका बारेमा छापिएका समाचारबाट व्यक्तिमा 'फलानाले राम्रो काम गरेर त्यत्रो इज्जत पायो भने त्यही कुरा हासिल गर्न म किन सक्दिनँ' भन्ने भावना पैदा हुनसक्छ। समाजले राम्रोपनतिर अघिबढ्ने प्रेरणा पाउँछ।
तर राम्रा समाचारबाट मात्रै राम्रो प्रभाव पर्ने होइन, नकारात्मक कामका बारेमा छापिने समाचारबाट पनि समाजले धेरै कुरा पाउँछ। यस्ता समाचारले गैरजिम्मेवार, भ्रष्टाचारी, खराब नियत र खराब आचरण भएका तथा समाज र कानुनलाई छलेर वा शक्ति हातमा लिएर नराम्रो काम गर्ने व्यक्तिहरूबाट सावधान हुन वा उनीहरूलाई कानुनको सीमाभित्र राख्न पनि मदत गर्छन्। यस्ता समाचारहरूको सङ्ख्या बढ्दै जाँदा सञ्चारमाध्यमले आफ्नो मखुन्डो उघारिदिने भयले कतिपय व्यक्तिहरू ठेगानमा बस्न थाल्छन्। नहुनुपर्ने कामका बारेमा छापिएका समाचारले नागरिकहरूलाई आफ्नो अधिकारका बारेमा सचेत र जागरूक बनाउँछन्। सही सूचना र ज्ञानले मानिसलाई जिम्मेवार बन्न सघाउँछन्। यो परिवर्तन लेखेजति सजिलो छैन तर मानिसहरूले नपत्याए जति अप्ठ्यारो पनि छैन। अर्थात् सहज नभए पनि असम्भव पनि छैन।
यो अङ्कमा पर्याप्त स्थान दिइएको शैक्षिक लगानी र त्यसको प्रतिफलसम्बन्धी सामग्रीले पाठकहरूलाई यस सम्बन्धमा गहिरिएर सोच्न बाध्य पार्ला भन्ने यो पङ्क्तिकारको विश्वास छ। उक्त लेखमा उल्लेख गरिएका घटना र प्रवृत्तिहरू पेशागत निष्ठा र क्षमताको अभावका मात्र हैन, अनाचार र भ्रष्टाचारका पनि ज्वलन्त नमुना हुन्। 'सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ' भन्ने उखान छ। विद्यार्थीको छात्रवृत्ति उडाउने वा स्कूलमा कामै नगरी अरू किसिममा बजेट सिद्ध्याउने व्यक्तिहरू नीतिनिर्माण गर्ने वा ठूलाठूला बजेटका काम गर्ने ठाउँमा भए केसम्म गर्दा हुन्, अनुमान गर्न गाह्रो छैन।
यता आएर मुलुकमा अनाचार र भ्रष्टाचारका कुरा बाहिर निस्किनुपर्छ भन्ने आवाज घनीभूत हुँदै गएको छ। नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूलाई समेत धमाधम खोरमा छिराइन थालेपछि भ्रष्टाचार विरोधीहरूको आत्मबल बढेको छ। यो अवस्था अरू केही समयसम्म रह्यो भने सियो चोर्नेदेखि घर फोर्नेसम्मका व्यक्तिहरू नाङ्गिन थाल्नेछन्। धेरैले कारागारको निःशुल्क भोजनको स्वाद पाउनेछन्। त्यसबेला उनीहरूलाई संरक्षण दिने र उनीहरूको पापको कमाइमा सहभागी हुनेहरूले समेत उनीहरूलाई संरक्षण दिनसक्ने छैनन्। हाम्रो विश्वास छ, सरस्वतीका मन्दिरमा बसेर नानीहरूको अक्षरको हक खोस्नेहरू पनि कारबाहीबाट सधैँभरि बच्न सक्दैनन्।
तर त्यो दिन तब मात्र आउनेछ जब राम्रा, असल र सदाचारी व्यक्तिहरूलाई आफ्नो र आफ्नो पेशाको मर्यादाको चेतनाले मुख खोल्ने आँट दिनेछ। स्पष्टै भनौँ, शिक्षाका नाममा हुने वा शिक्षकहरूबाट हुने भ्रष्टाचारका बारेमा सबभन्दा धेरै जानकारी अर्को शिक्षकलाई नै हुन्छ। हो, एउटा व्यक्ति वा केही व्यक्तिहरूले मात्र समाजबाट अनाचार र भ्रष्टाचार समाप्त गर्न सम्भव छैन। तर सचेत व्यक्तिलाई चित्त नबुझदा कर्तुतहरू देख्दा, मूकदर्शक भएर बस्न अझ गाह्रो हुन्छ। त्यसैले आफूले सक्ने किसिमले अनाचारहरूको प्रतिकार गर्नु सबै सचेत नागरिकको कर्तव्य हो। प्रश्न आउँछ, त्यो काम कसरी गर्ने त? सके त्यस्ता व्यवहारको खुलेर विरोध गर्ने, आफैँ विरोध गर्न नसके समाजका जिम्मेवार व्यक्ति र अभिभावकहरूलाई “हेर्नुस्, तपाईंका अबोध बालबालिकाको भविष्यका लागि छुट्याइएको स्रोतको दुरुपयोग भइरहेको छ” भनेर जानकारी दिने र त्यो पनि गर्न नसके सञ्चारकर्मीहरूलाई लिखित/मौखिक रूपमा जानकारी दिने केही उपायहरू हुन्।
यति गर्दा पनि समाजबाट नराम्रा कुरा टुङ्गिदैनन्। तर नराम्रा कुरा जति बढे पनि समाजमा राम्रा काम हुन पनि छाड्दैनन्। राम्रा काम र राम्रा कुराको सङ्ख्या बढ्यो भने समाज राम्रोपनतिर अग्रसर हुने हो र नराम्रा काम बढ्दै गएमा सिङ्गै समाज नराम्रो हुने हो। तपाईंहामी राम्रो समाजका पक्षधरहरूले सानै प्रयास गरेर पनि समाजलाई राम्रोपनतिर अघि बढाउन सक्छौं। त्यसतर्फ लागिरहौं, लागिरहौं!
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


