Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ विषय-सन्दर्भ निगरानी नगरिएको शिक्षाले विनाश निम्त्याउँछ

निगरानी नगरिएको शिक्षाले विनाश निम्त्याउँछ

E-mail Print PDF
User Rating: / 3
PoorBest 

- हस्त गुरुङ

सरकारी विद्यालयको यसपालिको एसएलसीको नतिजाले महाभारतको कथा सम्झन बाध्य पार्दछ।

पाण्डव र कौरव हुर्किंदै गएपछि तिनको शिक्षा–दीक्षालाई लिएर हस्तिनापुर दरबारमा चर्चा र चिन्ता गर्न थालियो। राजा पाण्डु हलचल गर्न नसक्ने गरी थलिइसकेका थिए। जन्मान्ध धृतराष्ट्रलाई छोरा–भतिजाहरूको चिन्ताले भन्दा आफूले राजपाट नपाएको कुण्ठाले बढी सताएको थियो।

राजकुमारहरूको पठनपाठनको विषयमा कौरव र पाण्डवका आमाहरू गान्धारी र कुन्तीको पनि कुनै भूमिका थिएन। हस्तिनापुरको उत्तराधिकारी जन्माउन सकेकोमा ती आफैँप्रति कृत–कृत्य थिए, दङ्ग थिए। बाँकी थिए त सबैका संरक्षक भीष्म। राजकुमारहरूलाई कस्तो शिक्षा कसले र कसरी दिनुपर्छ भन्ने कुरा उनले पनि सोचेका थिएनन्।

अन्ततः आफ्नो आश्रम चल्न नसकेर विलखबन्दमा परेका आचार्य द्रोणलाई राजदरबारमै राखेर पढाउन लगाउने निधो भयो। सांसारिक बाध्यतामा परेका द्रोणले दरबारको प्रस्ताव स्वीकार गरे।

शिक्षा शुरु भयो। हस्तिनापुर दरबार राजकुमारहरूलाई शिक्षा दिने आफ्नो कर्तव्य पूरा गरेको ठानेर ढुक्क भयो। तर शिष्यहरू गुरुको अनुशासनमा थिएनन्। दुर्योधनले त राजकुमारको रवाफ देखाउँदै आचार्य विरुद्ध कडा शब्द पनि प्रयोग गर्दथे। यस्तो बेलामा आचार्य कुण्ठित हुन्थे अनि भन्थे, “दुर्योधन, तिम्रो मुखबाट मेरा पापहरू बोलिँदैछन्। पैसाको लागि राज्यको दास बनेर आफ्नो शिक्षा बेच्ने काम गर्ने गुरुले गरेको पापकर्म तिमी मलाई सम्झाइरहेका छौ। मेरो बुद्धि र कर्तव्य त्यसैबेला मारिएको थियो, जतिबेला मैले विद्यालाई धनमा बेच्न सम्झौता गरेँ।”

गुरु र शिष्य तथा शिष्य–शिष्यहरूबीच सद्भाव र सौहार्द होइन, कटुता र शत्रुता बढिरहेको थियो। तर हुनेवाला राजा र राजकुमारहरूलाई कस्तो शिक्षा दिनुपर्ने हो, शिक्षालयमा कस्तो शिक्षा चलिरहेको छ, गुरुले के पढाउँदै छन् अनि बालकहरूले के कस्तो सिक्दैछन् भन्नेतिर राजभवनले कहिल्यै ध्यान दिएन। न कुनै निगरानी न त सोधखोज। पाण्डव र कौरवले दरबारी शिक्षामा सिकेको सबभन्दा ठूलो कुरा थियो– शस्त्र–अस्त्र चलाउने, जित्ने–हार्ने र मर्ने–मार्ने कला।

सिकेकै कुरा न हुन्छ, शिक्षाको समाप्तिसँगै द्रोणाचार्यका शिष्यहरू युद्धको तयारीमा जुटे। युद्ध भयो। युद्धको दुवै पक्षमा मुख्य पात्र कुरुकुल र पाण्डुकुलका राजकुमारहरू नै थिए। यी दुवै कुलसँगै हस्तिनापुर पनि नष्ट भयो। सन्तानले गरेको दोषका भागी मातापिता हुनु परे झैं राजकुमारहरूको दुष्कृत्यको फल त्यो देशले पनि भोग्नुपर्‍यो।

युद्धबाट सम्पूर्ण नाश भइसकेपछि द्रोणले दिएको शिक्षाको समीक्षा भयो। निष्कर्ष निकालियो― शिक्षाको जिम्मेवारी बोकेको राज्यले न त शैक्षिक क्रियाकलापको निगरानी गरेको थियो, न विद्यार्थीले पाएको शिक्षाको मूल्याङ्कन। शिक्षालाई अन्धकारमा छोडेर राज्य सुतेको थियो। त्यसको परिणाम आयो― सर्वनाश।

गुरु द्रोणले शिष्यहरूलाई युद्धकला सिकाएका थिए। तिनले युद्धकला बाहेक अरू केही सिकेनन्। शान्ति र मेलमिलापका नीतिबारे एकशब्द पनि सुन्न पाएनन्। उनीहरूका लागि युद्ध गर्नु नै सर्वस्व शिक्षा थियो। शिक्षा जस्तो थियो– परिणाम पनि त्यस्तै आयो– युद्ध र विनास।

नेपालको शिक्षा व्यवस्था अहिले यस्तै रोगले ग्रसित छ। सरकारले लगानी गरेको छ। शिक्षक दिएको छ। शिक्षालयको व्यवस्था गरेको छ। तर विद्यालयमा के भइरहेको छ? त्यसको निगरानी गर्ने उत्सुकता र चासो छैन। शिक्षाको आवधिक मूल्याङ्कन नै छैन।

परिणाम, सरकारले शिक्षामा गरेको लगानीको दुईतिहाई अंश खेर गएको छ। यस वर्षको एसएलसीमा सामेल कुल ३ लाख ९७ हजार ७५९ विद्यार्थीहरूमध्ये सरकारी विद्यालयका ३६.०५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। सरकारी विद्यालयहरूबाट मात्र परीक्षामा सामेल हुने ३ लाख ७ हजार ६११ परीक्षार्थीको अनुपातमा मात्र हेर्ने हो भने आधाभन्दा निकै कम (४६.६२ प्रतिशत) उत्तीर्ण भएका छन्। अर्थात् सरकारको आधा लगानी खेर गएको छ।

एसएलसीमा यस्तो परिणाम किन आउँछ? उत्तर स्पष्ट छः शिक्षामा सार्वजनिक शिक्षाको सम्पूर्ण जिम्मेवारी वहन गरेको सरकार धृतराष्ट्र बनेको छ। उसले शिक्षाको जिम्मेवारी त्यस्ता शिक्षकलाई बोकाएको छ, जो आचार्य द्रोण जसरी नै जीविकाका लागि पढाउने पेशा रोज्न विवश छन्। त्योभन्दा पनि मह140वपूर्ण हाम्रा शिक्षकहरू पनि द्रोणाचार्य जस्तै कुण्ठा र भयबाट ग्रसित छन्। तलब बाहेक, एउटा सच्चा शिक्षकलाई नभई नहुने स्वाभिमान, निर्भयता, स्वतन्त्रता, सम्मान, संरक्षण र उत्प्रेरणा दिन महाभारतकालीन हस्तिनापुर जस्तै हाम्रो राज्यप्रणाली चुकिरहेको छ।

द्रोणाचार्य पछुतोमा बाँचे र धोकाबाट मारिए। आफ्नो सबैभन्दा सत्यवादी भनिएको शिष्य युधिष्ठिरले 'नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहतः' (मान्छे मर्‍यो कि हात्ती– अश्वत्थामा भने मर्‍यो) भनेपछि पुत्रशोकमा उनको मृत्यु भयो।

चिन्तनशील शिक्षकहरूलाई हाम्रो एउटै अनुरोध छ, आफूलाई द्रोणाचार्य र मुलुकलाई हस्तिनापुर हुनबाट बचाउन कसैले सक्छ भने तपार्इंले सक्नुहुन्छ। कोसिस गर्ने हैन त?


Add comment