Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ विषय-सन्दर्भ डान्गेरोउस फुटुरे बाट बचौँ

डान्गेरोउस फुटुरे बाट बचौँ

E-mail Print PDF
User Rating: / 2
PoorBest 

-केदार शर्मा

देवनागरी लिपि चिन्ने मानिसले जे देख्छ त्यही पढ्छ भने नेपाली सजिलै उच्चारण गर्न सक्छ। देवनागरी लिपिमा लेखिने भाषाहरू संस्कृत, नेपाली, हिन्दी आदिमा एकथोक लेखिने र अर्को थोक उच्चारण हुने समस्या छैन। तर अङ्गे्रजी यस्तो भाषा हो जहाँ उच्चारणका अनियमितताहरू अत्यन्त धेरै छन्।

हामी सबैलाई थाहा छ, अङ्ग्रेजी शब्दमा छँदाखाँदाका सग्ला अक्षरहरू कहिले मौन (साइलेन्ट) भइदिन्छन् अनि उही अक्षरहरू फरक–फरक शब्दमा फरक–फरक ढङ्गले उच्चारण भइदिन्छन्। do मा उकार उच्चारण हुने o (ओ) अक्षर go वा so मा ओकार बनिदिन्छ। त्यही अक्षर of मा 'अ' उच्चारण हुन्छ। read को वर्तमान काल उच्चारण गर्दा 'रिड' हुन्छ र भूतकालमा 'रेड' भइदिन्छ।

अङ्ग्रेजी भाषाको अनियमित उच्चारण पद्धतिलाई अङ्ग्रेजीकै विद्वान् र भाषाविद्हरूले मजाले उडाएका छन्। त्यसको एउटा चरम उदाहरण हो GHOTI = फिस (fish)। सीधा 'घोटी' देखिने/पढिने शब्द कसरी फिस उच्चारण हुनसक्छ त?

  • tought/tΛf/  (टफ) मा जसरी gh को उच्चारण फ /f/ हुन्छ
  • women/wimin/ (विमिन) मा जसरी o को उच्चारण इ /i/ हुन्छ, र,
  • nation/nei रुलभरुरुरुरुलर मा जसरी tiको उच्चारण श /s/ हुन्छ।

यसरी अङ्ग्रेजी GHOTI लाई 'फिस' पनि उच्चारण हुनसक्ने सम्भावना भएको भाषा हो। तर यसैसित जोडिएको अर्को सत्य हो― यति अनियमित नियम भएको भाषा भए तापनि यो वर्तमान युगको गति र प्रगतिको भाषा हो, ज्ञानको भाषा हो र अन्तर्राष्ट्रिय सम्पर्कको सबभन्दा बलियो भाषा हो। अप्ठ्यारो मात्रै भएको भए यो भाषा यति लोकप्रिय र शक्तिशाली बन्न सक्ने थिएन।

अङ्ग्रेजी सिक्ने सबभन्दा प्रभावकारी उपाय त्यो भाषा जान्नेहरूबाट सिक्नु नै हो। सही वा राम्रो उच्चारण गर्न जान्नेहरूसितको सङ्गतबाटै उच्चारण सुधि्रँदै जाने हो। टेलिभिजन र फिल्म हेर्ने, रेडियो सुन्ने आदि पनि उच्चारण सुधार्ने राम्रा तरिका हुन्। उच्चारण चिन्ह (phonetics) को सहाराबाट पनि सही उच्चारण गर्न सकिन्छ। तर यी सबैका लागि पनि अङ्ग्रेजीको केही आधार त चाहिन्छ नै। अब विचार गरौँ, नेपालका कति शिक्षक, त्यो पनि प्राथमिक कक्षाका शिक्षकहरूलाई यी सुविधा उपलब्ध होलान् र तिनले विद्यार्थीलाई अङ्ग्रेजी शब्दको अर्थ र उच्चारण सही तरिकाबाट सिकाउन सक्लान्?

समस्या उच्चारणमा मात्र छैन। हामीकहाँ पाठ्यपुस्तक बाहेकका अङ्ग्रेजीका चाखलाग्दा किताब सहज रूपले उपलब्ध छैनन्। किताब भइहाले पनि सही उच्चारणका साथ पढेर सुनाइदिने वा बुझाउने क्षमता अधिकांश गुरु र अभिभावकहरूमा छैन। हाम्रो शब्दभण्डार पनि फराकिलो छैन। फलतः अधिकांश सरकारी स्कूलहरूमा अझसम्म पनि अङ्ग्रेजीको पढाइ नेपालीमा हुन्छ। त्यसले गर्दा बोध क्षमता, उच्चारण र शब्दभण्डार तीनै कुरामा नराम्रो असर पर्छ। यी कुरा राम्रो नहुनुको परिणाम अङ्ग्रेजी बोल्न नसक्नु मात्र होइन, अर्काले बोलेको अङ्ग्रेजी बुझन कठिनाई हुनु पनि हो। सफलताको लक्ष्य हासिल गर्न अङ्ग्रेजीको राजमार्ग नदौडिई नहुने अहिलेको अवस्थामा अङ्ग्रेजीकै आधार कमजोर हुनु भनेको ठूलो र अपूरणीय क्षति हो।

यसैकारण हिजोआज धेरै सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन्। परिस्थितिले सिर्जना गरेको यस्तो मागका कारण हिजोसम्म कहिल्यै अङ्ग्रेजी नपढाएका शिक्षकहरूलाई पनि अङ्ग्रेजीमै पढाउने दबाब आएको कुरा यसपटक हामीले प्रकाशन गरेका लेखहरूले बताएका छन्। : ल् लाई एम एन होइन, यम यन पढेर आएका शिक्षक साथीहरूलाई यसबाट ठूलो सकस भएको हुनुपर्छ। अङ्ग्रेजीको अत्यन्त ठूलो माग छ, तर माग अनुसारको आपूर्ति गर्न सक्ने अवस्था छैन। आपूर्ति भन्दा माग ठूलो भएको बजारमा मिसावट शुरु हुनु स्वाभाविक हुन्छ। अङ्ग्रेजीको पठन–पाठन गतिलो नभएको (एसएलसीको रिजल्टको आधारमा) अवस्थामा सरकारी स्कूलमा पनि 'बोर्डिङमा जस्तै' पढाउने अहिलेको लहर र दबाबले यो स्थिति अझ बिगार्न सक्छ।

विना सीप, ज्ञान र तयारी पढाउनुको खतरा सरकार र शिक्षकहरूलाई थाहा नहुने कुरा होइन। तर यी दुवैथरी मौन रहन बाध्य छन्। यो खतराका बारेमा अनभिज्ञ चाहिँ अबोध बालबालिका र तिनका उपायहीन बाबुआमा छन्, जो शिक्षाका प्राथमिक सेवाग्राही हुन्। नेपाली भाषाकै शिक्षा पनि राम्रोसँग हुन नसकेको अहिलेको अवस्थामा उपयुक्त योग्यता हासिल नगरेका र तालिम नपाएका शिक्षकले जबरजस्ती अङ्ग्रेजी माध्यममा पढाउँदाको परिणाम अन्ततः कस्तो आउला?

अप्ठ्यारो छ, तर हामी उपायहीन भने छैनौँ। यसपटक हामीले प्रस्तुत गरेका लेखहरूले अङ्ग्रेजी माध्यममा जाँदाका समस्यासँगै समाधानका केही ठोस उपायहरू पनि 'प्रस्तुत' गरेका छन्। ती उपायलाई सबैले गम्भीरतापूर्वक ध्यान दिने हो भने अझ पनि सम्हालिने ठाउँ छ। हैन भने हाम्रो अङ्ग्रेजीलाई एउटा डान्गेरोउस फुटुरे (Dangerous Future) बन्नबाट कसैले रोक्न सक्ने छैन।



Add comment