Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ विषय-सन्दर्भ मोबाइल फ्याँक्न सकिदैंन त यससँगै बाँच्न सिकौं

मोबाइल फ्याँक्न सकिदैंन त यससँगै बाँच्न सिकौं

E-mail Print PDF
User Rating: / 7
PoorBest 

- केदार शर्मा

आम रूपमा महँगी बढेको अनुभव हामी सबैले गरेका छौ तर सूचनाप्रविधि दिनहुँ सस्तो हुँदै गइरहेको छ । करिब १५ वर्षअघि रु.७० हजारभन्दा बढी पर्ने कम्प्युटरभन्दा सरदरमा ५० गुणा बढी क्षमता भएको कम्प्युटर अहिले रु.३० हजारमा पाइन्छ ।

त्यसवेला र अहिलेको बजारभाउको तुलना गर्ने हो भने त सूचनाप्रविधि अझ् धेरै सस्तो भएको थाहा हुन्छ । एउटा उदाहरण, सुनको भाउ तोलाको करिब १० हजार हुँदाको रु.७० हजार र अहिले रु.४० हजार पुग्दाको रु.३० हजारमा क्रय–शक्तिका हिसाबले पनि धेरै गुणाको अन्तर छ ।

यही कुरा मोबाइल फोनका हकमा पनि लागू हुन्छ । सामान (हार्डवेयर) को मोल घटेको छ,  क्षमता बढेको छ । सफ्टवेयरमा अकल्पनीय विकास भएको छ र दूरसञ्चार सेवा कहिल्यै नचिताइएको दरमा सस्तो भएको छ । सस्तो भएकाले यो व्यापक भएको छ र व्यापक भएकाले उद्यमीहरूले अझ मोल घटाएर उपकरण र सेवा बेच्न सकेका छन् । यो क्रम अझ् अघि बढिरहेको छ । पहिले ठूलाठालु र पुगिसरी आएकाहरूले चलाउने भन्ने मानिएको मोबाइल अहिले आम नेपालीका हातहातमा पुगेको छ । मोबाइल फोनबाट धेरै काम भएको छ । केही नकाम पनि भएका होलान् तर तिनको अनुपात धेरै कम छ ।

यो प्रगति विज्ञान र बजारको साझ उपहार हो । लोकतन्त्रले दिएको अभिव्यक्ति र सूचनाको हक तथा उदार अर्थतन्त्रले दिएको उद्योगधन्दा चलाउने छूटका कारण सूचनाप्रविधिका क्षेत्रमा हामी संसारसित कदम मिलाउन सक्ने भएका हौ। अहिलेको संसारमा सूचनाप्रविधिलाई नियन्त्रण गर्न कसैले सक्दैन भन्ने विश्वासकै कारण शान्तिसुरक्षाको स्थिति बलियो नहुँदा नहुँदै पनि लगानीकर्ताहरू नेपालमा समेत आकर्षित भएका हुन् । यो क्रम जारी छ । आउने पाँच वा दशवर्षमा सूचनाप्रविधिका क्षेत्रमा संसार कहाँ हुनेछ भन्ने कुरा कसैले पनि अनुमान गर्न नसक्ने गरी प्रगति भइरहेको छ ।

अबको चुनौती भनेको यो आधुनिकताको वरदानलाई कसरी अझ् सार्थक र उत्पादक बनाउने भन्ने हो । बजारको काम आकर्षक सामान र सेवा बेचेर नाफा गर्नु मात्र हो । बजारले आदर्शवादी काम–कुरा गर्दैन । यस्ता कुरामा ध्यान दिनुपर्ने राज्यका निकायहरूले हो, तर हामीकहाँ अहिलेको राज्य व्यवस्थाबाट त्यस्ता कुराको अपेक्षा गर्नु अर्को मृगमरीचिका तुल्य हुन्छ । त्यसो भए बालबालिकाका समेत हातहातमा पुगेको मोबाइल फोनलाई सार्थक काममा प्रयोग गर्न सिकाउनेर गलत काममा प्रयोग हुन नदिने कसले त ? भोलि समाज हाँक्ने नागरिकहरूलाई प्रविधिको सार्थक प्रयोगका बारेमा सचेत गराउने कसरी त ? हामीले शिक्षक मासिकको यो अङ्क यसै विषयमा केन्द्रित गरेका छौँ ।

झपाका उम्दा शिक्षक रामकुमार तामाङ भन्छन्, “देशलाई जिम्मेवार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ र चरित्रवान जनशक्ति चाहिएको छ, अल्छे र अराजकको जमात होइन । हामी शिक्षकहरू मात्रै आफ्नो कर्मप्रति इमानदार भई बालबालिकालाई गुणस्तरीय र नैतिक शिक्षा दिन तम्सिने हो भने देशलाई अहिलेको जर्जर अवस्थाबाट मुक्त गर्न सकिन्छ ।” शिक्षकमासिक पनि नेपालमा सबैभन्दा बढी विश्वास शिक्षकहरूलाई नै गर्छ त्यही विश्वासबाट नै यस पत्रिकाको जन्म भएकोहो । शिक्षा, जनस्वास्थ्य, सामाजिक सद्भाव मात्र नभई ग्रामीण जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धेरै महत्वपूर्ण कुरा उठ्दा हामी भन्ने गर्छौं, ”शिक्षकहरूले चाहेमा यो काम हुनसक्छ ।” हामीलाई लाग्छ, शिक्षकहरूले भित्रदेखि नै चाहने हो भने यो मुलुकमा धेरै कुरा हुनसक्छ । मोबाइल फोन पनि त्यस्तै विषय हो, जसको सदुपयोगका लागि कसैबाट पहल हुनसक्छ भने त्यो शिक्षक समुदाय नै हो ।

हुन त मोबाइल फोनलाई फुर्ती र शानको वस्तु ठान्ने र अनावश्यक तथा अनुचित सञ्चारमा प्रयोग गर्नेहरूका कारण यसप्रति हाम्रो समाजमा एउटा नकारात्मक भावनाको विकास पनि भएको छ । तर हामीले विचार गर्नु पर्ने कुरा के हो भने मुलुकले अर्बौं रुपैयाँ खर्चेर भित्राएको मोबाइल फोन विश्वमै अहिलेसम्मको सबभन्दा लोकप्रिय प्रविधि र उपकरण पनि हो । हामी नकारात्मक हुँदैमा यसको प्रयोगमा कमी आउने छैन । मूल प्रश्न यसलाई सदुपयोग गरेर यसबाट ज्ञान, अर्थ र ऊर्जा पैदा गर्ने कि यसबाट भाग्ने भन्ने हो । अहिलेसम्म यो प्रविधिको सार्थक र लाभप्रद प्रयोगका बारेमा सोचिएन; तर अब सोच्न थालौं ।

यस अङ्कमा समाविष्ट सामग्रीहरूको आशय नेपालमा ‘मोबाइल लर्निङ’ आइसक्यो, हामीले पनि मोबाइलबाट शिक्षा दिन थाल्नुपर्यो भन्ने होइन । हाम्रो यो प्रयास यो अति लोकप्रिय प्रविधिका शैक्षिक पक्ष र सम्भावनाहरूका बारेमा नेपालको बौद्धिक बगैँचाका माली, तपाईं शिक्षकहरूलाई केही जानकारी दिने मात्र हो । शिक्षकले विद्यार्थीलाई ‘खबरदार, मोबाइल नल्याऊ’ मात्र नभनेर यसका बारेमा कक्षामा नै कुरा गर्ने बानीको विकास होस् भन्ने नै हाम्रो मूल अभीष्ट हो । 

 

Add comment