Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


स्तम्भ अनुभुति जापानमा छोरी पढाउँदा

जापानमा छोरी पढाउँदा

E-mail Print PDF
User Rating: / 0
PoorBest 

-सञ्जय श्रेष्ठ

चार वर्षअघि मैले अध्ययनका लागि जापानको वाकिनावा आउने अवसर पाएँ। वाकिनावा पुग्दा म र मेरी श्रीमती खुसी थियौँ तर छोरीको पढाइको बारेमा निकै चिन्तित पनि थियौँ। राम्ररी बोली समेत नफुटेकी दुई वर्षकी छोरीले जापानी स्कूलमा कसरी पढ्ली भन्ने ठूलो चिन्ता थियो। तर जापानीहरूको बालबालिकालाई सिकाउने तरिकाका बारेमा बुझदै गएपछि भने मलाई एकदम खुसी लाग्यो।

जापानमा सरकारले सञ्चालन गरेका किन्डरगार्टेन पनि छन्। तर तिनमा सबै शिक्षक जापानी भाषी हुने भएकाले मेरी छोरीलाई जापानी भाषाको साथसाथै अङ्ग्रेजी भाषामा बोल्ने, पढ्ने मौका दिने खालको निजी विद्यालयमा राख्ने बाध्यता भयो। आफ्ना आवश्यकताका बारेमा हामीलाई त भन्न नसक्ने सानी छोरीलाई के चाहियो होला भनेर आफैंले बुझेर खाना खुवाउने, दिसापिसाब गराउने आदि गर्थ्यौं। ऊ न जापानी बुझथी, न त अङ्ग्रेजी नै। निजी स्कूलमा छोरीले राम्रो स्याहार पाउँछे भन्ने पनि हाम्रो लोभ थियो। तर हामीलाई पहिलो झट्का छोरीलाई काम लगाएकै देखेर पर्‍यो।

यहाँका स्कूलमा सानैदेखि नै आफै खाने लुगा वा जुत्ता–चप्पल खोल्न र लगाउन लगाउने जस्ता कुरा सिकाउँदा रहेछन्। आफ्नी छोरीलाई त्यसरी पेलेको देखेर हाम्रो चित्त बुझेन। आफ्नी छोरीलाई गाह्रो भएको देखेर मैले कति पटक शिक्षकसित गुनासो पनि गरेँ। तर शिक्षकहरूको जवाफ हुन्थ्यो, “बच्चालाई कुनै कुरा सिकाउनुछ भने त्यो काम गर्न उनीहरूलाई नै प्रोत्साहित गर्नुपर्छ। नानीहरूले सकेनन् भने हामी उनीहरूलाई सघाउँछौं। तर उनीहरूलाई कोशिश त गर्न दिनुपर्‍यो नि!” तर शिक्षकहरूको सिकाउने शैली र व्यवहार गतिलो भएकाले उसलाई कहिल्यै अप्ठ्यारो भएन। विस्तारै छोरीले आफैं खाना खोज्न थाली। आफैं कपडा फुकाल्ने/लगाउने गर्न थाली। आफैं चप्पल–जुत्ता लगाउने कोशिश गर्न थाली। त्यसपछि बच्चालाई काममा नलगाउनु वा काम गर्न नदिनु उनीहरूलाई सिक्नबाट रोक्नु र आत्मनिर्भर हुन नदिनु हो भन्ने हामीले बुझयौँ।

 
जापानका स्कूलमा साना विद्यार्थीलाई पढाउने विधिको प्रत्यक्ष अनुभव गर्दा हाम्रा स्कूलले जापानी स्कूलबाट सिक्नुपर्ने कुरा धेरै रहेछन् । मेरी छोरी स्कूलबाट हतपत्ती फर्किन मान्दिनँ। ऊ बिहान स्कूल जाँदा खुसी हुन्छे त स्कूलबाट फर्किंदा अलि दुःखी। किनभने स्कूलमा उसले पाउने माया अनि खेल्ने रमाइलो वातावरण सबै उसको अनुकूल हुने गर्दछ ।
 

नानीहरूलाई सिकाउन ठूलो धैर्य चाहिँदोरहेछ भन्ने कुरा यहाँका मान्छेहरूमा मैले धेरै पाएँ। धैर्य राख्दा, एकैछिन अघिसम्म कुनै काम गर्नै नमान्ने हठ लिएर बसेको बच्चा सहजतापूर्वक काम गर्न तत्पर हुँदोरहेछ। धैर्य नै भएन भने झर्को लाग्छ, रिस उठ्छ अनि नानीहरूलाई गाली गर्ने, पिट्ने गरिन्छ र उनीहरूको काम आफैंले गर्ने गरिन्छ। यसो गर्दा नानीहरूले सिक्न सक्दैनन्; तर्सिन्छन्, डराउँछन् बरु पिट्न, गाली गर्न पो सिक्छन्! जापानीहरू नानीहरूलाई हतपत्ती गाली गर्दैनन्। रिस देखाउँदैनन्। पिट्ने त गर्दै गर्दैनन्। जति सकिन्छ सम्झाउँछन्, सिकाउँछन् र नानीहरूलाई नै गर्न लगाएर धैर्यपूर्वक हेरेर बस्ने गर्दछन्।

केटाकेटीहरूमा जिज्ञासा अनन्त हुन्छ। त्यसैले गर्दा उनीहरूलाई हरबखत केही न केही नयाँ प्रयोग/काम गर्न मन लाग्छ। एउटै ठाउँमा वा एउटै काममा धेरैबेर बस्ने गर्दैनन्। छिनछिनमा नयाँ–नयाँ काम गर्न/खेल्न मन पराउँछन्। तर हामी बच्चाको प्राकृतिक स्वभावलाई आत्मसात् गर्दा रहेनछौं र उसले यताको सामान उता र उताको यता गरेको देख्दा यस्तो निरर्थक काम के गरेको होला भनेर झर्को मान्छौं। र, क्षणक्षणमा यसो नगर, उसो नगर भनेर रोक्न खोज्छौं। यो राम्रो कुरा होइन रहेछ। बच्चालाई ठूलो शारीरिक क्षति नै पुर्‍याउने खतरा भएका काम बाहेक सबै काम गर्न दिनुपर्दोरहेछ। किनकि यसो गरेर नै उनीहरूले नयाँ–नयाँ कुरा सिकिरहेका हुन्छन्। त्यति मात्र होइन, यही क्रियाकलापले नै उनीहरूको ब्रेनको विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको हुँदोरहेछ। बच्चालाई केही पनि गर्न नदिनु भनेको उसको ब्रेनको विकासमा व्यवधान पुर्‍याउनु पो रहेछ!

हाम्रो समाजमा सानैदेखि नै सरसफाई जस्ता घरका काम छोराहरूको काम होइन भन्ने मानसिकताको विकास गराइन्छ। त्यसैले धेरै मानिसहरू काम गरे पनि कर लागे जसरी गर्ने गर्छन्। तर जापानमा भने छोराछोरी दुवैलाई सानैदेखि काममा लगाइन्छ र काम गर्दा लज्जा बोध होइन गर्व गर्न सिकाइन्छ।

जापानमा स्कूल बिहान ८ बजेबाट शुरु हुने हुनाले खाना नास्ता स्कूलमै खाने चलन छ। लञ्च समयमा खाना बाँड्ने काम नानीहरूले आफैंले गर्ने गर्दछन्। अनि खाना खाइसकेपछि, भाँडाहरू निश्चित ठाउँमा राख्ने, टेबुल कुर्सी मिलाउने, सरसफाइ गर्ने जस्ता काम नानीहरूले आफैं मिलेर गर्दछन् र त्यो काममा शिक्षकहरूले पनि सहयोग गर्दछन्। यस्ता काम हरेक दिन नानीहरूले मिलेर नै गर्दछन् र यति सानो उमेरका नानीहरूले मिलेर नै गर्दछन्। नेपालमा खाना खुवाउने चलन भएका स्कूलमा काम भने परिचारिका र सहयोगीले गरिदिन्छन्। आफ्नै काम अरूबाट गराउँदै जाँदा बालक आत्मनिर्भर बन्नुको साटो परनिर्भर बन्दै जान्छ। जापानका विद्यालयले परनिर्भर होइन आत्मनिर्भर विद्यार्थी उत्पादन गर्छन्।

मेरी छोरी स्कूलबाट हतपत्ती फर्किन मान्दिनँ। ऊ बिहान स्कूल जाँदा खुसी हुन्छे त स्कूलबाट फर्किंदा अलि दुःखी। किनभने स्कूलमा उसले पाउने माया, अनि खेल्ने रमाइलो वातावरण सबै उसको अनुकूल हुने गर्दछ। स्कूलमा नानीहरूले गल्ती गरे पनि, बिगारे पनि शिक्षकहरूले सम्झाउने, बुझाउने प्रयास गर्ने गर्दछन् र नानीहरूले पनि मान्दछन्। जसले गर्दा साना बालबालिकाहरूमा शिक्षकहरूप्रति डरभन्दा पनि आदर र सम्मान बढी हुन्छ।

जापानमा नानीहरूलाई जे–जति गराउने हो, सिकाउने हो स्कूलमै सिकाइन्छ। धेरै होमवर्क दिएर साना बालबालिकाहरूलाई मानसिक बोझ दिइँदैन। हरेक दिन स्कूलमा प्रयोग हुने कापी, किताब, पेन्सिल, इरेजर आदि सबै स्कूलमै राख्ने गरिन्छ, आफूभन्दा ठूलो भारी बोक्न बाध्य बनाइँदैन।

मलाई लाग्छ, हामी नेपालीले जापानबाट यी कुराहरू सिक्न सक्छौं। अभिभावकहरूमा यसबारेमा पर्याप्त चेतना या जागरण आइसकेको छैन। त्यसैले शिक्षकले नै अभिभावकलाई यो कुरा बुझाइदिनुपर्छ। त्यसनिम्ति सबैभन्दा पहिले शिक्षकले नै स्कूलमा केटाकेटीहरूलाई उसको रुचि अनुसारका क्रियाकलाप गर्न दिनुपर्छ। तिनै क्रियाकलापमार्फत सिकाउनुपर्ने कुरा सिकाउनुपर्छ। शिक्षकले गरेको देखेर अभिभावकले पनि विस्तारै भेउ पाउँदै जान्छन्। बेलाबेलामा हुने अभिभावक भेला वा बैठकमा १०/१५ मिनेट समय लिएर शिक्षकले यी कुरा बताइदिने हो भने उनीहरूले पनि कुरा बुझदै जान्छन्। विस्तारै स्कूल–घर दुवैतिरको वातावरण बच्चा र सिकाइमुखी हुँदै जान्छ। अन्ततः स्कूल, घर र बच्चा सबैमा रुपान्तरण आउँछ।

प्रस्तुतिः दीर्घराज उपाध्याय



Add comment