| Article Index |
|---|
| त्रिपक्षीय संयोजनको सुखद् परिणाम |
| Page 2 |
| Page 3 |
| All Pages |
-प्रमोद आयाम
स्याङ्जाको मिर्मीस्थित मिर्मी निमाविको मूलढोका सामान्यतया बिहान
नौ बज्दा खुलिसकेको हुन्छ। त्यसपछि 'साउन्ड बक्स'मा बाल गीत तथा राष्ट्रिय भावनाका गीतहरू घन्किन थाल्छन्। पौने दश बज्दा सबै विद्यार्थी आइसकेका हुन्छन्। १५ मिनेट लामो प्रार्थनासभापछि जाग लम्क, चम्क हे, नौ जवान हो ... गीतको तालमा विद्यार्थीहरू 'मार्च–पास' गर्दै कक्षामा प्रवेश गर्छन्।
प्रार्थनासभाको प्रस्तुति जस्तै यो विद्यालयको पठनपाठन, अतिरिक्त क्रियाकलाप तथा व्यवस्थापन पक्ष पनि उत्तिकै भिन्न लाग्छ। कक्षा सातसम्म पढाइने यो निमाविमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यम अपनाइएको छ। नर्सरीका ३७ विद्यार्थीका लागि कक्षामा टीभी र कम्प्युटर समेत राखिएका छन्। प्रअ रामप्रसाद भट्टराईको भनाइमा, नेपाली र अङ्ग्रेजी वर्णमाला सजिलोसँग सिकाउनको लागि नर्सरीमा कम्प्युटर राखिएको हो।
विद्यालयमा शैक्षिक पूर्वाधार र सामग्री पर्याप्त देखिन्छन्। कक्षा एकदेखि नै 'कम्प्युटर साइन्स' पढाइन्छ। यो स्कूलको पुस्तकालय र भिडियो लाइब्रेरी पनि उत्तिकै उपयोगी देखिन्छन्। पुस्तकालयमा कथा, जीवनी, इतिहास लगायतका १७०० भन्दा बढी बालोपयोगी पुस्तक सङ्ग्रहित छन् भने 'भिडियो लाइबे्ररी'मा १०० भन्दा बढी सीडी तथा डीभीडीहरू सङ्कलन गरिएका छन्।
'भिडियो लाइबे्ररी'को प्रयोग दुई किसिमबाट हुने गरेको पाइन्छ। शिक्षकले विद्यार्थीलाई पुस्तकालयमै लगेर पाठसँग सम्बन्धित सीडी देखाउँछन् भने खेलकुद पिरियड वा अरू खाली समयमा विद्यार्थीहरू आफूलाई मन लागेका भिडियो हेर्न सक्छन्। २०६८ जेठको पहिलो साता शिक्षक प्रतिनिधि मिर्मी स्कूलमा पुग्दा कक्षा चारका छात्रछात्राहरू कम्प्युटरमा विश्व सम्पदा सूचीमा रहेका सम्पदा स्थलहरू हेर्दै थिए। विज्ञान प्रयोगशालाका निम्ति छुट्टै कोठा छ, जहाँ माइक्रोस्कोप, टेलिस्कोप लगायतका विभिन्न सामग्रीहरू छन्। मिर्मीमा दैनिक आठ पिरियड को तालिका बनाइएको छ, एउटा चाहिँ 'गेम पिरियड' हुन्छ। फूटबल, क्रिकेट, ब्याडमिन्टनका साथै लुँडो, क्यारेमबोर्ड लगायतका सामग्रीको व्यवस्था छ। हरेक कक्षामा पङ्खा र यताउता सार्न मिल्ने 'मुभेवल ह्वाइटबोर्ड' छन्।
मिर्मीको विद्यार्थी मूल्याङ्कन पद्धति पनि प्रभावकारी छ। सबै पाठ्यपुस्तकका हरेक एकाईको पठनपाठन सकिएपछि 'युनिट टेष्ट' लिइन्छ। त्यसमा कुनै विद्यार्थी कमजोर देखिएमा 'बच्चाको पढाइप्रति घरमा पनि ख्याल गर्न' अभिभावकलाई सुझाव दिइन्छ। वर्षमा तीनवटा 'टर्मिनल परीक्षा' लिने गरिन्छ, जुन क्रमशः २०, ३० र ५० प्रतिशत अङ्कभारका हुन्छन्। हरेक परीक्षापछि उत्तरपुस्तिकासहितको मूल्याङ्कन फाइल विद्यार्थी र अभिभावकलाई दिने गरिन्छ। शिक्षक ज्ञानप्रसाद पाण्डेय भन्छन्, “परीक्षाको कापी नै फिर्ता दिँदा विद्यार्थीले आफ्नो कमजोरी र अभिभावकले आफ्ना बच्चाको सिकाइको स्तर जान्ने मौका पाउँछन्।” परीक्षामा कमजोर देखिएका विद्यार्थीलाई स्कूलमै पनि 'उपचारात्मक शिक्षण' पनि गराइने गरेको पाण्डेय बताउँछन्।
| पछिल्लो पृष्ठ > |
|---|


