-सइन्द्र राई, खोटाङ
आफूभन्दा कमजोर साथीले अघिल्लो वर्षको एसएलसीमा प्रथम
श्रेणी हासिल गरेको देखेकी खोटाङ बाम्राङस्थित सावित्रा माविकी मेनुका राईले एसएलसी परीक्षा सजिलै उत्तीर्ण हुने आश गरेकी थिइन्। हुन पनि गत वर्ष उक्त स्कूलबाट परीक्षा दिने सबै उत्तीर्ण भएका थिए। यसपालिको एसएलसीमा शिक्षकहरूले चिट चोराउन नपाएपछि सबै परीक्षार्थी फेल भए। सावित्रा मावि गत वर्ष २०० दिन खुलेको र १८३ दिन पठनपाठन भएको स्कूलको रेकर्डले देखाउँछ। तर स्कूलले एसएलसीका लागि निर्धारित पाठ्यपुस्तक (कोर्स) समेत पूरा गर्न भ्याएको थिएन। स्नातकोत्तर गरेका शिक्षकले पढाएको आफ्नो स्कूल 'निल' जाँदा लज्जाबोध भएको सावित्रा माविका प्रअ रविध्वज राई बताउँछन्।
खोटाङमा यसपालिको एसएलसीमा 'निल खाने' सावित्रा मावि एक्लो भने होइन। सावित्रा मावि बाम्राङ (२९ जना) सँगै कालिका मावि खार्मी (५८ जना), सरस्वती मावि पाथेका (६५ जना), शारदा मावि हौचुर (४३ जना) र शान्ति मावि टेम्मा (२६ जना) का सबै परीक्षार्थी फेल भए। 'अल्छी शिक्षक र दलीय राजनीतिले पठनपाठन ध्वस्त भएका शिक्षणका कारण यस्तो नतिजा खेप्नु परेको' जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलको कथन छ।
यसपटक 'चिटिङ'को प्रकोप घटाई परीक्षालाई मर्यादित बनाउन माविको सट्टा प्रावि शिक्षकलाई जाँचमा परिचालन गरिएको थियो। नियम पालना नगर्नेलाई कडा कारबाहीको चेतावनी समेत दिइएकाले चिटिङ घट्न गई जिल्लाको उत्तीर्ण दर दयनीय हुनपुगेको हो। केही परीक्षार्थी उत्तीर्ण भएका स्कूलको पासदर पनि अत्यन्त न्यून छ। राधिका मावि बाँझेच्यानडाँडाबाट चार प्रतिशत मात्रै उत्तीर्ण भएका छन् भने जालपा उच्च मावि जालपा र जनता मावि सल्लेबाट पाँच प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। खोटाङका ८४ माविबाट यो वर्ष ४,६९० विद्यार्थीले परीक्षा दिएकोमा १,६३४ अर्थात् ३४.८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यो राष्ट्रिय उत्तीर्ण दरभन्दा २०.६६ प्रतिशत न्यून हो भने अघिल्लो वर्षको खोटाङकै उत्तीर्ण दरभन्दा ३५.८७ प्रतिशत कम।
एसएलसी नतिजा शून्य हासिल गरेका स्कूलमा शिक्षकको तलब भत्ता, छात्रवृत्ति, भवन निर्माण आदि शीर्षकमा ठूलो धनराशी खर्च भएको देखिन्छ। जिशिका खोटाङका अनुसार गत आवमा सावित्रा मावि बाम्राङमा रु.२० लाख ९५ हजार, शान्ति मावि टेम्मामा रु.१४ लाख ४८ हजार, शारदा मावि हौचुरमा रु.१८ लाख ५९ हजार, कालिका मावि खार्मीमा रु.२१ लाख ६९ हजार र सरस्वती मावि पाथेकामा रु.२२ लाख ६६ हजार खर्च भएको थियो।
पाठ्यक्रम अनुसार पढाइ भए/नभएको, शिक्षक नियमित रूपमा स्कूल आए/नआएको र छात्रछात्राले पढे/नपढेको अनुगमन कसैले पनि गर्ने नगरेका कारण सार्वजनिक स्कूल बर्बादीको सिकार भएको देखिन्छ। छोराछोरीलाई पढ्न समय नदिने तर उत्तीर्ण भएको हेर्न चाहने अभिभावकको अपेक्षाको फाइदा उठाउँदै शिक्षकहरूले पढाउनुको साटो चिट चोराएरै आफ्नो दायित्व पूरा गर्न खोज्दा एसएलसी नतिजा यस्तो आएको जिशिअ पोखरेलको ठम्याइ छ।
पूर्वाञ्चलका १,६३६ सरकारी स्कूलमध्ये ३९ विद्यालय यसपालिको एसएलसीमा 'निल' गएका छन्। त्यसमा मोरङका ८, भोजपुरका ६, खोटाङ र सिरहाका ५/५, इलाम र सप्तरीका ४/४, धनकुटा, सुनसरी र झापाका २/२ तथा सोलुखुम्बुको एउटा स्कूल एकजना पनि परीक्षार्थी उत्तीर्ण नगराउनेमा दरिएका छन्।
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


