Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


गृहपृष्ठ

रुचि जेमा छ, उतै लाग्छन्

E-mail Print PDF
User Rating: / 0
PoorBest 

-नेपाल प्रकाश अधिकारी

म नेपाली विषयको शिक्षक भएको नाताले भाषा

शिक्षणका क्रममा फेला परेका विशेष प्रतिभायुक्त विद्यार्थीसँग सम्बन्धित अनुभव व्यक्त गर्न गइरहेको छु। म २०६० सालदेखि कास्की पोखरास्थित फिस्टेल एकेडेमीबाट पहिलो पटक शिक्षकको रूपमा सेवा प्रवेश गरेको हुँ। नेपाली विषय शिक्षणका क्रममा पाठ्यवस्तुको विधा, उद्देश्य, प्रकृति आदिका आधारमा कहिले व्याख्यान विधि, कहिले छलफल र प्रश्नोत्तर त कहिले अभिनय गरेर पढाइन्थ्यो। शिक्षण चाखलाग्दो बनाउन कहिले प्रत्यक्ष अनुभव गर्न लगाएर, कहिले कुनै कार्यक्रममा सहभागी गराएर त कहिले परियोजना कार्य दिएर शिक्षण विधिमा विविधता लेराएर शिक्षण सिकाइ गर्दथें। विद्यालयको वातावरण शैक्षिक खालको थियो। विद्यार्थीका लागि चित्रकला, नृत्य, खेलकुदलगायतका विभिन्न विधामा नियमित प्रशिक्षण दिइने भएकाले प्रायः कुनै न कुनै विद्यार्थीमा केही न केही प्रतिभा रहेको देख्न पाइन्थ्यो। प्रशिक्षण दिएर उसलाई अघि लेराउन भन्दा कतिपय अवस्थामा ऊभित्र रहेको प्रतिभा पहिचान गर्न गाह्रो पर्थ्यो।

तैपनि विद्यालयभित्र विभिन्न तहमा आयोजना हुने वादविवाद, वक्तृत्वकला, स्पोर्टमिट, हाजिरीजवाफ, निबन्धकला, अभिनयकला जस्ता प्रतियोगितामा विद्यार्थीले देखाउने रुचि र क्षमताका आधारमा उनीहरूको प्रतिभा पहिचान हुन्थ्यो। बहिर्मुखी भन्दा अन्तरमुखी स्वभावका विद्यार्थीका प्रतिभा पहिचान गर्न गाह्रो हुँदोरहेछ। मैले मावि तहमा नेपाली विषयको जिम्मेवारी लिएको त्यो वर्ष कक्षा ९ मा ३१ जना विद्यार्थी अध्ययनरत थिए, अहिले पनि बढी यही कक्षाको सम्झना आउँछ। विभिन्न विधामा विद्यार्थीहरूको फरकफरक रुचि र क्षमता थियो। इन्द्र पौडेल नाम गरेका एक छात्र खेलकुद र नृत्यमा विशेष सोख राख्दथे। अर्का रानाभाट थर भएका इन्द्र चाहिँ फूटबलका राम्रा खेलाडी थिए भने निकै बान्की मिलेका अक्षर लेख्थे। तर दुःखको कुरा एकदुई कक्षा लिँदैमा थाहा भयो उनीहरू वर्णविन्यासमा कमजोर रहेछन्। शुरुका एक दुई कक्षामा मैले आगमन विधिबाट वर्णविन्यास सिकाएँ। प्रत्येक विद्यार्थीका नाम एवम् दैनिक रूपमा अधिक प्रयोग हुने शब्दहरू लेखाएर अभ्यास समेत गर्न लगाएँ। त्यस बेला नौ कक्षामा गुरुप्रसाद मैनालीको 'शहीद', लक्ष्मीप्रसाद देवकोटाको के 'नेपाल सानो छ?' भन्ने जस्ता रचना पढ्न पढाउनुपर्थ्यो। तुलनात्मक रूपमा देवकोटाको 'के नेपाल सानो छ?' निबन्ध केही क्लिष्ट थियो। व्याकरणलगायत तीनवटा पाठ पढाएपछि मासिक परीक्षा लिएँ। मासिक परीक्षाको कापी हातमा परेपछि म छक्क परेँ।

छात्र विनोद पौडेलले दिएको प्रश्नको उत्तर एक स्थापित लेखकले लेखे बराबर थियो। चिटिङ भयो कि भन्ने पनि लाग्यो तर त्यो सम्भव थिएन, प्रश्नका उत्तर अत्यन्त मौलिक थिए, उच्चकोटिका। पढाउने क्रममा प्रसङ्गवश भनिएका सन्दर्भ र वाक्यहरू उनका उत्तरमा प्रतिबिम्बित भएका थिए। प्रायः सबै विद्यार्थी परिश्रमी भएकाले शैलजा, अञ्जु, विमला, इन्द्र पनि राम्रा थिए तर विनोद पौडेलको कोहीसँग तुलना नै हुनसक्थेन। मैले त्यसैबेलादेखि विनोदलाई भाषिक प्रतिभायुक्त व्यक्ति (Word Smart Person) को रूपमा पाएँ। मैले भाषाको हकमा सामान्य विद्यार्थीमा भन्दा उनमा फरक गुण पाएँ। तर उनलाई तिखार्नु र निखार्नु भने आवश्यक थियो। मैले मनमनै भाषाको क्षेत्रमा उनलाई नमुना विद्यार्थी बनाउने सङ्कल्प गरेँ। उनी सानैदेखि अरूभन्दा बढी कल्पनाशील थिए। सुनेका, पढेका कथाको सारांश वा कुनै चुट्किला भन्ने क्रममा उनी उही उमेर समूहका साथीभन्दा बढी काल्पनिक तर प्रभावकारी ढङ्गले व्यक्त गर्दथे। यस्तो अवस्थामा उनलाई मैले व्यक्तिगत एवम् समूहगत रूपमा नेपालीभाषामा राम्रो रहेको जानकारी दिँदै प्रोत्साहन गरेँ, सोही अनुसारका सन्दर्भ पुस्तकहरू पढ्न दिएँ, फुर्सदका बेलामा विशेषगरी विभिन्न विधाका आधारभूत ज्ञान एवम् स्थापित साहित्यकारहरू र उनीहरूका ख्याति, उपलब्धि र जीवनका रोचक प्रसङ्ग सुनाउन एवं लेखन तरिका सिकाउन थालेँ।

उनी केही समयपछि नै कथा, कविता, उपन्यास लगायतका रचना रुचिपूर्ण ढङ्गले अध्ययन गर्न थाले। साहित्यिक कक्षामा उनी अति आनन्दको अनुभूति गर्दथे। घुम्ने मेच माथि अन्धो मान्छे, जय भुँडी, नासो कथा सङ्ग्रह, गौरी, मुनामदन जस्ता विभिन्न कृतिहरू उनले मबाट लगेर पढे। यतिसम्म कि कसैका राम्रा साहित्यिक पुस्तक हराए विनोदले लगे कि भनिन्थ्यो। दशैँको बिदामा मैले अरु गृहकार्यसँगै सबैलाई छुट्टाछुट्टै साहित्यिक किताब किनेर अध्ययन गर्न लगाउँथे र कक्षामा त्यसको सारांश एवम् भावार्थ भन्न प्रोत्साहित गर्दथेँ। साथीहरूले किनेका फरकफरक किताब विद्यालय खुलेपछि उनीहरूले आपसमा बाँडेर पढ्दथे। यसो गर्दा विनोद लगायतका विद्यार्थीहरूमा शब्दभण्डार र लेखन शैलीको विकास भयो।

हुन पनि विनोद विद्यालय बाहिर आयोजना हुने जति पनि कार्यक्रममा पुग्थे; कहिल्यै रित्तोहात फर्किंदैनथे। विषय शिक्षकको नाताले मैले र हामी शिक्षक वर्गले उनलाई झनै राम्रो गर्ने प्रेरणा र पृष्ठपोषण प्रदान गरिरह्यौँ। त्यतिमात्र होइन, “तिमी यति राम्रो भाषिक क्षमता भएको व्यक्तिले हरेक विषयमा उत्कृष्ट हुनुपर्छ” भनिदिँदा उनमा थप आत्मविश्वास बढ्न गयो। अन्ततः २०६२ सालको एसएलसी परीक्षामा नेपाली विषयमा ८४ अङ्कसहित ९१.२५ प्रतिशत अङ्क प्राप्त गरी पश्चिमाञ्चल क्षेत्र प्रथम भए। अहिले उनी राम्रो कलेजमा छात्रवृत्तिमा पढिरहेका छन्। केही महिनाअघि भेट्दा आफ्नो साहित्यमा निकै रस बसेको र एउटा उपन्यास लेख्न गइरहेको बताएका थिए।

म अहिले पोखरास्थित ग्लोबल कलेजियट उमाविमा अध्यापन गर्दछु। जहाँ गए पनि हामी शिक्षकले खेलकुदका क्षेत्रदेखि हरेक विधामा विद्यार्थीको प्रतिभा पहिचान गरी विशेष वातावरण प्रदान गरेर उनीहरूको प्रतिभा निखार्न मद्दत पुर्‍याउन सक्छौँ। तर विद्यालय विशेषगरी कक्षाकोठाभित्र कुनै व्यक्तिविशेषलाई जोड दिएर प्रशंसा गर्दा अरू विद्यार्थीलाई नकारात्मक असर समेत पर्न सक्दछ, त्यसमा शिक्षकले हेक्का पुर्‍याउनुपर्दछ। सम्भव भएसम्म कसैको विशेष गुणको एकोहोरो तारिफ गर्नुभन्दा त्यस्तै अवसरमा सबैसँग भएका कुनै न कुनै क्षमता बताइदिनु राम्रो मानिन्छ।

विद्यालयमा प्रकृतिप्रेमी, अन्तरवैयक्तिक, अन्तरसामाजिक, खेलकुदमा रुचि राख्ने, तार्किक, साङ्गीतिक, अस्तित्वमुखी धेरै किसिमका प्रतिभा भएका विभिन्न विद्यार्थी हुन्छन्। त्यस्तै कोही अन्तरमुखी हुन्छन् त कोही बहिर्मुखी। हुन पनि सबै विद्यार्थीमा केही न केही मौलिक गुण हुने पक्ष शिक्षकले भुल्नुहुँदैन। यदि आफूलाई सबै विद्यार्थी विशेष पक्षका बारेमा थाहा छैन भने अन्य शिक्षक वा त्यस कक्षाका कक्षा शिक्षकसँग विद्यार्थीका बारेमा सोधपुछ गर्न सकिन्छ। जस्तै कुनै विद्यार्थी तार्किक वा गणितीय प्रतिभायुक्त छ भने त्यसका बारेमा कक्षा शिक्षक वा गणित विषय शिक्षकलाई बढी ज्ञान हुन सक्छ। हाम्रो जस्तो मुलुकमा विद्यार्थीको रुचि, चाहना वा क्षमतालाई ध्यानमा राखेर छुट्टै शिक्षण गर्ने पद्धतिको विकास भएको छैन। तसर्थ, मिश्रित रूपमा कक्षा शिक्षण गर्नुपर्ने अनिवार्यता छ। कक्षा शिक्षणका क्रममा कक्षाका सम्पूर्ण विद्यार्थीलाई पाठ्यक्रमले तोकेको उद्देश्य अनुरुपको शिक्षा त प्रदान गर्नु पर्‍यो नै, जुन विषयमा जोसँग विशेष प्रतिभा छ तत्सम्बन्धी विषयमा अतिरिक्त ज्ञान दिने गर्नुपर्दछ। समय अभाव भए त्यस्ता विद्यार्थीका लागि थप समयको प्रबन्ध गर्न सकिन्छ।

त्यति मात्र होइन, यस्तै प्रतिभा प्रस्फुटनका लागि विद्यालयभित्र र बाहिर हुने विभिन्न प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलापमा क्षमता अनुसार सहभागी गराउनुपर्दछ। अभिभावकले समेत आफ्ना बाबुनानीको योग्यता र क्षमताको बारेमा थाहा पाउन् र सोही अनुसारको वातावरण प्रदान गरुन् भन्नका लागि उनीहरूलाई समयमै सूचित गर्नु राम्रो हुन्छ। यसरी सबै पक्ष मिलेर वातावरण सिर्जना गर्दै सही मार्ग निर्देश गर्दा उनीहरूमा अङ्कुराएको प्रतिभा फैलिने र झाङ्गिने अवसर पाउँछ। उसो त बच्चाको भित्री लगाव जता छ अन्ततः ऊ त्यतै डोरिइहाल्दछ। त्यसो नभइदिने भए पादरी बनाउन भर्ना गरिएका चार्ल्स डार्विनलाई हामी जीव वैज्ञानिकका रूपमा कदापि देख्न पाउने थिएनौं।

अहिलेको जटिल युगमा शिक्षक एउटा शिक्षक मात्र भएर पुग्दैन ऊ चिकित्सक, मनोविज्ञ, प्रशिक्षक, अभिनयकर्ता, योजना निर्माता एवम् कुशल परामर्शदाता सबै हुन सक्नुपर्छ। यसरी विभिन्न कुरामा हेक्का राख्दै एउटा कुशल र दक्ष शिक्षकले सबैसँग सहकार्य गरेर आफ्ना विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्दा मात्र समाज र देश लाभान्वित बन्दछ।

ग्लोबल कलेजियट उमावि, पोखरा


Add comment