-श्यामप्रसाद लामिछाने
कक्षामा धेरै प्रतिभा रहेछन्, प्रतिभालाई समस्याको रूपमा बुझिएछ।
सही पहिचान गरिएनछ। त्यसनिम्ति विद्यार्थीको व्यवहारको सू73म अध्ययन आवश्यक रहेछ, विद्यार्थीमा भएका प्रतिभाहरूको। सजिलै नदेखिने हुनाले, सानै भए पनि पहिचानको लागि अवसरको मेसो मिलाउने काम हाम्रै रहेछ। उनीहरूको प्रतिभालाई पहिचान गर्न नसकिए कसरी व्यक्तित्व विकास हुनसक्छ र?
पुरानो नेवार वस्ती, वरपर बाहुनहरूद्वारा घेरिएको लेकको घाँच। मलाई थाहा भएदेखि नै मैले पढेको र पछि त्यही स्कूलमा पढाएको नाताले मेरो स्कूलमा जातीय विविधता थियो। म पढ्दा नेवार सरहरू बढी हुनुहुन्थ्यो। प्राथमिक तहमा त सबै नै नेवार। पढाइ नेपालीमा हुन्थ्यो। स्पष्ट नभएमा नेवार साथीहरू नेवारीमै प्रश्न गर्थे र सरहरूले पनि नेवारीमै बुझाउने प्रयास गर्थे। भाषिक विविधता भए पनि यथेष्ट सम्बोधन हुन नसकेको रहेछ भन्ने पछि थाहा भयो।
पछि त्यही विद्यालयकै शिक्षक भइयो। आफ्नो पालाको कुरा बिर्सियो। विविधता पहिचान गरी कक्षा व्यवस्थापन गर्ने आवश्यकता महसुस नै गरिएन लामो समयसम्म। एक दिन कक्षामा पढाउँदा पढाउँदै एउटा प्रसङ्गमा अरिङ्गालको कुरा आयो। एकजना गुरुङ विद्यार्थीले अरिङ्गाल भनेको बुझेनन् या चिनेनछन्। तिनले सोधे 'अरिङ्गाल कस्तो हुन्छ?' त्यो घटनापछि कक्षाको भाषिक विविधता ख्याल गर्नुपर्ने चेत खुल्यो। सकेसम्म सबै भाषाभाषीलाई सम्झने प्रयत्न गर्न थालेँ। भाषिक विविधता व्यवस्थापन शिक्षणको अभिन्न अङ्ग भएको महसुस गरेँ।
विद्यालयको कार्यालय कक्षमा एउटा पुरानो फोटो टाँगिएको छ। त्यसमा तत्कालीन राजा वीरेन्द्र कुनै व्यक्तिलाई पदक लगाइदिँदैछन्। पदक थाप्ने व्यक्ति विद्यालयका पुरानो विद्यार्थी रहेछन् र होनहार राष्ट्रिय धावक। मैले ती दाजुको हालको अवस्था बुझने प्रयास गरें– गोडामा असिम तागत, निरन्तर अभ्यास र सीपका धनी उनी परीक्षामा कमजोर हुनु अस्वाभाविक थिएन। परीक्षा राम्रो गर्न सकेनन्। परिणामतः हाम्रो पद्धतिले उनलाई ग्रहण गर्न सकेन। हाल गाउँघरमै सामान्य किसानको जीवन बाँचिरहेका छन्।
सामाजिक अध्ययन अन्तर्गत सबै समुदाय र सम्प्रदायका विद्यार्थीले आफ्नो क्षेत्रको लोक संस्कृति; गीत तथा नृत्य प्रस्तुत गर्नुपर्ने भयो। त्यसमा घाटु नाच र सोरठी नृत्य प्रस्तुत गर्ने समूह उत्कृष्ट ठहरियो। ती समूहमा सधैँ पढाइमा कमजोर देखिने विद्यार्थीहरूको बाहुल्य थियो। हाल ती विद्यार्थीमध्ये एकजनाले घाटु नाचसम्बन्धी एउटा पुस्तक पनि प्रकाशित गरेका छन्।
कक्षामा एक जना सारै कमजोर बहिनी थिइन्। उनको निष्त्रि्कयता बारेमा केही सहकर्मीहहरूसँग कुरा पनि गरेँ। निष्कर्ष; केटी भएको र उमेर पनि अलिक बढी भएकाले त्यस्ती भएकी भन्ने निकालियो। चित्त बुझाइयो। सामाजिक अध्ययन कक्षामै उनले एउटा गीत प्रस्तुत गर्नुपर्यो। निकै कर गरेपछि तयार भइन्। उनको प्रस्तुति ज्यादै राम्रो ठहर्यो– स्थापित राष्ट्रिय कलाकारको जस्तै। तीजको अवसरमा विद्यालयमै आयोजित एउटा गीति कार्यक्रममा उनले झनै राम्रो प्रस्तुति देखाइन्। विद्यालयका क्रियाकलापमा उनको सक्रियता ह्वात्तै बढ्यो, एकपछि अर्को गर्दै।
एक दिन कक्षा दशमा पढाउँदै गर्दा बाहिरबाट एकजना भाइ आएर कक्षाका अनुप नामका विद्यार्थीलाई बाहिर पठाइदिन अनुरोध गरे। त्यसो गर्न म तयार भइनँ। पछि अनुपले नै ज्यादै अनुरोध गरेपछि मैले उनलाई बाहिर जाने अनुमति दिएँ। एकछिन पछि उनले मलाई पूरै पिरियडभर बाहिर जान अनुमति मागे। मैले कारण सोध्दा उनी एउटा स्थानीय क्लबको सदस्य भएको र उनको क्लबले खोलामा विष तथा करेन्ट लगाई माछा मार्ने कामलाई निरुत्साहित गर्ने अभियान चलाइरहेको जानकारी दिए। बूढीगण्डकी नदीमा करेन्ट लगाई माछा मार्ने मानिस देखिएको खबर आएपछि उनी त्यसलाई रोक्न त्यता जान लागेका रहेछन्। उनले खोलामा करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएका उपकरणहरू ल्याई प्रहरी कार्यालयमा बुझाए। उनीहरूले स्थानीय खोलाको निश्चित क्षेत्रमा करेन्ट तथा विष प्रयोग गरी माछा मार्न रोक लगाई वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका रहेछन्। तर कक्षाको हाम्रो मूल्याङ्कन गर्ने विधिले उनलाई त्यति उम्दा विद्यार्थी मान्दैन।
कति विद्यार्थीहरू साथीहरूलाई अप्ठ्यारो पर्दा सहयोग गर्न स्वस्फूर्त अग्रसर हुन्छन्। तर त्यसरी अघिसर्नेहरूमध्ये प्रायः कक्षामा 'कमजोर विद्यार्थी' मानिन्छन्। अनि कक्षामा जान्ने भनिएका विद्यार्थीलाई अर्काको मर्काप्रति पटक्कै वास्ता नहुने। केही विद्यार्थी विद्यालयमा हुने खेलकुद, अन्य अतिरिक्त क्रियाकलाप तथा साथीहरूसँग समन्वय गर्ने क्रममा निकै अग्रणी रहन्छन्, विद्यालयको काममा उनीहरू ज्यादै लगनशील भएर लाग्छन्। त्यस्ता कार्यमा सम्पूर्ण कक्षाको नेतृत्व पनि लिन्छन्, तर परीक्षामा भने तिनले ज्यादै कम अङ्क पाउँछन् वा ल्याउँछन्।
मेरा दुई जना विद्यार्थी यस्ता पनि थिए; परीक्षामा उनीहरू सधैँ कक्षा प्रथम वा द्वितीय हुन्थे तर पढाइबाहेकका अन्य क्रियाकलापमा पटक्कै सहभागी हुन चाहँदैनथे। कतिसम्म निष्त्रि्कय भने कक्षामा प्रश्न गर्दा समेत उठेर नबोल्ने। हाम्रो मूल्याङ्कन पद्धति र मान्यता एउटै चाल्नोबाट छानिइआएका विद्यार्थीहरूमा समान क्षमता, रुचि र एउटै खालको ज्ञान हुनै पर्ने भन्नेछ। तर के सबै विद्यार्थीमा हुने प्रतिभा एउटै हो? वा एउटै मात्र हुनुपर्ने हो? विद्यार्थीहरूले परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र ठीक अरू सबै बेठीक हो त? आफ्नो संस्कृतिको पहिचान गरी त्यसको प्रसार गर्न सक्ने विद्यार्थी कमजोर हुने? वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने अनुप भाइ र उनका साथीहरू कमजोर नै हुन् त?
हाम्रो मान्यता र पद्धति अनुसार 'किताबी कीरा' बाहेकका सबै विद्यार्थी समस्या हुन्। गीत गाउनेहरू समस्या, माछा मार्न रोक्नेहरू समस्या, पठनपाठन बाहेक अन्य क्रियाकलापमा लाग्नेहरू समस्या, पढाउँदा डेस्क वा कापीमा राम्रा अक्षर र चित्र बनाउनेहरू समस्या, अन्य विद्यार्थीसँग घुलमिल भई नेतृत्व लिनेहरू समस्या। हाम्रो शैक्षिक मान्यता र पद्धतिले यस्तै भनिरहेको छ।
शिक्षक मासिक (विद्यार्थीको जन्मजात प्रतिभा कसरी चिन्ने? जेठ २०६८) ले सोच्न बाध्य बनायो, थप अध्ययन गर्न लगायो। माथिल्लो परिच्छेदमा 'समस्या' भनिएका कुराहरू त अवसर पो रहेछन्। बरु हाम्रै अध्ययनशीलताको अभाव ठूलो समस्या रहेछ, गार्डनरले पहिल्यै यसको जवाफ सुझाएका रहेछन् (Haward Gardner(1983),Frames of Mind:The Theory of Multiple Intelligences) हामीले सजातीय मात्रै खोजेछौं, जातीय राजनीति गर्ने नेताले जस्तै। प्रतिभा पहिचान गर्न नसकेको समस्या, पद्धतिले बनाएको समस्या, प्रतिभाको सही व्यवस्थापन गर्न नसकेको समस्या। सबै प्रतिभा रहेछन्, कसैमा कुनै बढी हुने र कसैमा कुनै कम। प्राथमिकता शाब्दिक/भाषिकले बढी पाएछ, हामी शिक्षकमा पनि अन्य प्रतिभा चिन्ने क्षमताको अभाव रहेछ, आफूसँग जुन प्रतिभाको आधिक्य थियो त्यसैलाई मात्र, आफ्नैलाई मात्र राम्रो ठान्यौं र अरूलाई उपेक्षा। दौडने, चित्र बनाउने, चित्रको माध्यमबाट बुझने, नाच्ने–गाउने, समुदायलाई बुझने, नेतृत्व लिने, आफ्ना विचार राख्ने, पृथक् विचार दिने प्रतिभाहरू समस्या हुन् भने त अन्य क्रियाकलापमा सहभागी हुन नचाहने; परीक्षामा प्रथम मात्र हुने पनि समस्या नै भइहाले नि!
कक्षामा धेरै प्रतिभा रहेछन्, प्रतिभालाई समस्याको रूपमा बुझिएछ। सही पहिचान गरिएनछ। त्यसनिम्ति विद्यार्थीको व्यवहारको सू73म अध्ययन आवश्यक रहेछ, विद्यार्थीमा भएका प्रतिभाहरूको। सजिलै नदेखिने हुनाले, सानै भए पनि पहिचानको लागि अवसरको मेसो मिलाउने काम हाम्रै रहेछ। उनीहरूको प्रतिभालाई पहिचान गर्न नसकिए कसरी व्यक्तित्व विकास हुनसक्छ र? अनि उनीहरूका प्रतिभा प्रदर्शन गर्न आवश्यक वातावरण निर्माण र त्यसको विकासको लागि अवसर प्रदान गर्नको लागि हाम्रो शिक्षण शैली एवं मूल्याङ्कन पद्धति परिमार्जन गर्नु आवश्यक हुने नै भयो। कक्षामा बहुप्रतिभाहरूको भण्डार रहेछ, एउटैमा पनि धेरै। सबैमा एउटैको आशा पो गरिएछ। ती राष्ट्रिय धावक जो राष्ट्रिय सम्पत्ति थिए, तिनलाई पनि जाँचमा धेरै नम्बर ल्याउने जस्तै स्वरुपमा खोजियो। समस्या ठानिएका मेरा विद्यार्थीहरूमा पृथक् सम्भावनाहरू रहेछन्। बरु तिनीहरूको प्रतिभालाई आवश्यक स्थान दिई उनीहरूलाई प्रोत्साहित गर्नु नै सही शिक्षण हुनसक्ने रहेछ। अन्य ती जसले कुनै लक्षण देखाउन सकेनन् र खोज्ने प्रयास पनि गरिएन तिनमा पनि अवश्य कुनै प्रतिभा थियो; तर तिनको भ्रूणावस्थामै हत्या भयो। त्यसनिम्ति मलाई अपराधबोध भइरहेछ। सच्चिने अवसर प्रदान गरेकोमा धन्यवाद शिक्षक मासिकलाई।
भीमोदय माध्यमिक विद्यालय, गोरखा
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


