-समुन्दर सिंह सैंगर
मदिगन्तर बन्ध्याली पाठशाला (राजस्थान, भारत)मा पढाउँछु। यो पाठशाला अन्य स्कूल भन्दा फरक छ। परम्परागत विद्यालयमा पढाएका शिक्षकहरूलाई यहाँको शिक्षणविधि अनौठो लाग्न सक्छ। यहाँ कक्षाकोठा छैनन् र कक्षाको अवधारणा पनि छैन। यहाँ 'स्तर समूह'हरू हुन्छन्। प्रतिभावान विद्यार्थी वर्षभरि एउटै 'स्तर समूह'मा रहनुपर्दैन। माथिल्लो स्तरमा प्रवेश पाउन परीक्षा पनि दिनुपर्दैन। विद्यार्थीको सिकाइ र क्षमता अनुसार स्तर स्वतः बढ्दै जान्छ।
विद्यार्थीको स्तर समूह क्षमता र उमेरको हिसाबले निर्धारण हुन्छ। यहाँ शिक्षकलाई सर्वज्ञाता मानिँदैन, उनीहरू स्थायी पनि हँुदैनन्। अपवाद बाहेक, यो शिक्षण विधिमा प्राथमिक तहमा एउटै शिक्षकले दिनभर अनि वर्षभर एउटा स्तरलाई एक्लै पढाउँछन्।
विद्यार्थीहरू स्वतन्त्र हुन्छन्। अरूलाई समस्यामा नपारेसम्म कुनै किसिमको दण्ड पाउँदैनन्। आफ्ना मनमा लागेका कुरा स्पष्ट राख्न पाउँछन्। केही बिग्रिएको वा नमिलेको जस्तो लागेमा शिक्षकसँग विवाद गर्न पनि पाउँछन्। विद्यालयको सरसफाई कार्यमा विद्यार्थी र शिक्षकको समान दायित्व हुन्छ।
बन्ध्याली स्कूलमा उच्च प्राथमिक तहको विज्ञान शिक्षक बनेर म आएको वर्ष 'सुरभि' र 'खुशी' समूहका विद्यार्थीहरू आठौं कक्षाको बोर्डको परीक्षा दिइरहेका थिए। (दिगन्तर माध्यममा परीक्षा दिनुपर्दैन। तर देशको शिक्षाको मुख्यधारासँग जोडिनका लागि आठौं कक्षा पास गरेको प्रमाणपत्र जरुरी हुन्छ। त्यसका लागि प्राईभेट परीक्षा दिलाइन्छ।)
आठौं कक्षाको पाठ्यपुस्तकमा प्रजनन प्रणाली, वयस्क स्वास्थ्य, अन्तस्रावी प्रणाली र यौन सङ्क्रामक रोग जस्ता विषय थिए। ती विषय पढाउन मैले अन्य सामग्री, विधि वा विकल्प पनि रोज्न सक्थेँ। तर मैले पाठ्यपुस्तकलाई नै आधार बनाउने निधो गरेँ। औपचारिकताका लागि मैले त्यसो गरेको थिइनँ, म ती विषयमा विद्यार्थीहरूको बुझाइ बढाउन चाहन्थें। शरीरमा आउने परिवर्तनले किशोर–किशोरीको मन र मस्तिष्कमा कस्तो असर पार्दछ भन्ने जान्नका लागि पनि ती विषयबारे गहिरो ज्ञान राख्नु आवश्यक हुन्छ।
सबै विद्यार्थी किशोरावस्थाका थिए। तिनमा अधिकांश किशोरी थिए। कसैको निकाह भइसकेको थियो, कोही पति–पत्नी भइसकेका थिए तर गौना (पतिको घर जाने रीति) भइसकेको थिएन, कसैको बालककालमै सगाई (दुलही छेकाई रीति) भइसकेको थियो।
यस्तो संवेदनशील उमेर र अवस्थाका किशोर–किशोरीलाई प्रजनन् अङ्ग र तिनको कार्यप्रणाली बुझाउने काम कसरी अघि बढाउने भनेर म सोचमा परें। यस्ता विषयमा सहजताका साथ खुलेर कुरा गर्न, उनीहरूसँग मेरो सम्बन्ध परिपक्व र पुरानो भइसकेको थिएन। परिस्थिति मेरा विरुद्ध थियो। म असमञ्जसमा थिएँ। केही पुराना शिक्षकहरूसँग सल्लाह लिएँ। पहिला पहिला यी विषय पढाउँदा, किशोरहरूलाई पुरुष शिक्षकले र किशोरीहरूलाई महिला शिक्षकले पढाउने चलन रहेछ। मलाई त्यो चलन मन परेन। यसो गरेर समाधान भेटिँदैनथ्यो ।
अन्ततः जे त पर्ला भनेर आफू एक्लैले पढाउने मन बनाएँ। पहिले पनि एक पुरुष शिक्षकले त्यसो गर्न खोजेका रहेछन्। तर तिनले पढाएको भोलिपल्टै एक किशोरीकी आमा आएर बबाल मच्चाइछन्। ती महिलाले 'विद्यार्थीलाई छोरा–छोरी कसरी जन्मन्छन् भनेर पढाउने शिक्षक कुन हो?' भनेर स्पष्टीकरण मागिछन्। विपतै आइपरेछ। त्यो प्रसङ्गले मेरो साहस र आत्मविश्वासमा धक्का पुर्यायो। आफूले सोचेको जस्तो काम गर्न सामाजिक वातावरण तयार नभएको अनुभव गरें। तैपनि काम त गर्नै पर्थ्यो। तयारी शुरु गरें।
एउटा योजना तयार पारेपछि मनको द्वन्द्व र डर केही घट्यो। साथीहरूले मानव प्रजनन प्रणाली पढाउनुभन्दा अघि रूखबिरुवा र पशुपक्षीका प्रजनन प्रणालीबारे पढाउनु ठीक हुने सुझाव दिएका थिए। तर वनस्पति र पशुपक्षीका प्रजनन प्रणाली मानवका भन्दा फरक छन्। अनि सामाजिक अवधारणा पनि भिन्न छन्। अन्य जीवहरूले उत्पादनका लागि मात्र प्रजनन क्रिया गर्दछन्। मानवको प्रजनन क्रिया सन्तानोत्पादनका लागि मात्र हुँदैन, त्यसमा सामाजिक, भावनात्मक र आपसी विश्वासको ठूलो महत्त्व हुन्छ। अन्य जीवमा सन्तानोत्पादन कार्य निश्चित समयमा हुन्छ, अनि त्यस समयमा मात्र प्रजनन क्रिया चल्दछ। तर मानव समुदाय हरसमय प्रजनन कार्यका लागि सक्षम छ। यिनमा मासिकधर्म प्रणाली हुन्छ। यसै कारण रूखबिरुवा र पशुपक्षीको प्रजनन प्रणालीको जति विशद् व्याख्या गरे पनि मानवका बच्चाहरूलाई उनीहरूका शरीरमा आउने परिवर्तन र तिनका प्रभावका बारेमा राम्ररी बुझाउन सकिँदैनथ्यो।
मैले आफ्नो ध्यान मानव प्रजनन प्रणाली र तत्सम्बन्धी अङ्गहरूको जानकारी बढाउनमै केन्द्रित गरेँ। त्यस विषयमा लेखिएका पुस्तकहरू जम्मा गरें। बच्चा कसरी जन्मन्छन्, छोरीको प्रश्न, लेडिज हेल्थ गाइड, शरीर अन्तक्रिया विज्ञान, गर्भावस्था, प्रेग्नेन्सी एण्ड बर्थ जस्ता किताब पढें। आपसी सहजता बढाउन डेढ महिना जति त विद्यार्थीसँग घुलमिल गर्नमै बिताएँ। त्यसपछि मात्र पढाइ शुरु गर्ने उपयुक्त वातावरण बनेको महसुस भयो।
रूखबिरुवा कसरी बन्छन् भन्ने बिन्दुबाट शुरु गरें। विद्यार्थी सहज देखिए। बीज कसरी बन्छ, त्यो कसरी बिरुवा हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेछ। यो मौका छोपेर बीज बन्ने प्रक्रिया र रूख बन्ने प्रक्रियाको सम्बन्ध–चित्र बनाएर देखाएँ। बीऊ नभएको भए बिरुवा हुन्थे कि हुँदैनथे भनेर सोधें। सबैले सहजै उत्तर दिए– बिरुवा हुनका लागि बीज हुनु आवश्यक छ। फेरि सोधें– बीऊलाई सुक्खा माटोमा खसालिदिएमा वा मलजल नगरेमा त्यसको के हाल होला? यो प्रश्न पनि सहज र सरल थियो। त्यसैले यो प्राकृतिक क्रिया हो भन्ने अर्थ आउने गरी उनीहरूले सहजै जवाफ दिए। यसरी मेरो बाटो खुल्न थाल्यो।
अनि पक्षीहरूको प्रजनन प्रणालीबारे पढाउन थालें। विद्यार्थीले सहज भएर छलफल गरे। पक्षीले अण्डा पार्छन् र अण्डाबाट चल्ला निस्कन्छन् भन्नेकुरा पनि उनीहरूले निःशङ्कोच बताए। तर जब, मैले अण्डा कसरी बन्छ त भनेर सोधेँ सबै विद्यार्थी मौन भए। मैले जवाफका निम्ति जोड गरिनँ। अर्को प्रश्न गरें– पक्षीले अण्डा पारेको देखेका छौ? म संवेदनशील मोडमा आइसकेको थिएँ। अण्डा बन्नका लागि पक्षीहरूका बीचमा संसर्ग हुनुपर्दछ भन्ने जानकारी दिने बेला आएको थियो। त्यो महत्त्वपूर्ण जानकारी कसरी दिने भनेर म अप्ठ्यारोमा परिसकेको थिएँ। अनुभवहीनताले गर्दा मलाई आफू चक्रव्यूहमा फसेको जस्तो लाग्यो। तथापि असहजता भङ्ग गर्न अर्को प्रश्न फ्याकेँ– भाले र पोथी पक्षी नभएका भए, तिनीहरूबीच भेट नहुने भए अण्डा बन्ला कि नबन्ला? विद्यार्थीहरूले पक्षी–संसर्ग देखेका छन् कि छैनन् भन्ने जानकारी नराखी आफूले गलत प्रश्न गरेको तत्काल थाहा पाएँ।
तर फेरि पनि जवाफ पर्खेर बसिनँ। तुरुन्तै पशुहरूमा हुने प्रजनन क्रिया बारे कुरा गर्न थालें। सहज प्रश्न राखेँ–हाम्रा वरिपरि कस्ता जनावरहरू छन? तिनका बच्चा कसरी जन्मन्छन्? तर यी प्रश्नमा पनि विद्यार्थीले असहजता महसुस गरेको पाएँ। उनीहरू पशु प्रजनन क्रियासँग जानकार छन् भन्ने सङ्केत चाहिँ दिए। मलाई केही सहज भयो। भाले र पोथीबीच संसर्ग नभई बच्चा सम्भव छैन भन्ने कुरा विस्तारै प्रस्ट भइसकेको थियो। यही मौका छोपेर मानव प्रजनन प्रणालीको कुरा शुरु गरें। तर फेरि सङ्कट आइहाल्यो। अब कसरी अघि बढ्ने?
अन्य जीवका भाले र पोथीबीचका संसर्गका कुरा गर्न सहज थियो, तर मान्छेका भाले र पोथीका बीचमा हुने संसर्गको प्रसङ्ग नै कोट्याउन मुस्किल पर्थ्यो। यो महासङ्कट टार्न, किशोरावस्थामा मानव शरीरमा आउने परिवर्तनका कुरा झिकें। अहिले म वास्तविक विषयमा आएको थिएँ। अनि एकैदिनमा धेरै छलफल नगरौं, पहिले किताबको पाठ पढेर आओ भनेर उम्किएँ।
मैले पनि सोच्ने समय पाएँ। भोलिपल्ट अचम्म भयो। विद्यार्थीले किताबमा दिइएका प्रजनन् अङ्ग र प्रणालीसम्बन्धी सबैजसो पाठ पढेछन्। उनीहरू केही सहज देखिए। मलाई साहस आयो। अनि म पुरुष शिक्षक भएर पनि किशोर र किशोरीहरूलाई एकै समूहमा राखेर, मानव प्रजनन प्रणालीबारे छलफल गर्न थालें। म सफल हुन थालें।
अहिले आठौं कक्षा सरहको 'किरण' समूहलाई प्रजनन अङ्ग र प्रणालीसम्बन्धी विषय नै पढाउँदैछु। यसमा १४ देखि १६ वर्ष उमेर समूहका विद्यार्थी छन्। तीमध्ये १६ किशोरी र १२ किशोर छन्। अरू जस्तै यीमध्ये केहीको 'निकाह' भइसकेको छ भने केहीको त विवाहको कुरा पनि चलिसकेको छ। सबै विद्यार्थी एकअर्काको घरपरिवार र व्यवहारसँग चीरपरिचित छन्। यिनका अभिभावकहरू अल्प शिक्षित वा अनपढ छन् ।
मैले यिनलाई रजस्वला चक्रका बारेमा पढाउनुथियो। के के हुन्छ, कहिले हुन्छ, के कारणले हुन्छ, समाजको दृष्टिकोण के छ, कस्ता भ्रम र भ्रान्ति छन् तथा के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने जस्ता मूल कुरा बताउनुथियो।
पाठयोजना बनाएर समूहमा गएँ। विद्यार्थीलाई वरिपरि बसालें। अनि किशोरावस्थामा हुने परिवर्तनका बारेमा कुरा शुरु गरें। किशोरवयमा के के परिवर्तन हुँदारहेछन् भनेर सोधें। जवाफ आयो– केटाहरूको दाह्री र जुँगा आउँछ, स्वर धोद्रो हुन्छ, अनुहारमा डण्डीफोर आउँछ, साथीहरूसँग बस्न मन लाग्छ। अरू के के हुन्छ भनेर सोधें; उनीहरू केही लजाए। एउटा केटाले भन्यो– दाह्री जुँगा जस्तै प्रजनन अङ्ग वरिपरि पनि रौं उम्रन थाल्छ, केटीहरू मन पर्न थाल्छन्।
केटीहरूलाई त्यही प्रश्न गरें। उनीहरूले भने– शरीरमा चमक आउँछ, स्तन बढ्छ, नितम्ब फैलन्छ, शृङ्गार गर्न मन लाग्छ, केटाहरूका बारेमा कुराकानी गर्दा मज्जा आउँछ अनि साथीसँग समय बिताउँदा आनन्द आउँछ। मैले प्रश्न थपें– अरू के हुन्छ? एउटी केटीले लजाउँदै भनिन्– यसबेला केटीहरू 'ठूली भइसकेकी' हुन्छे। अनि मैले उसैलाई सोधें– 'ठूली भइसकेकी' भन्नाले के बुझिन्छ? अर्की किशोरीले बताइन्– महिनावारी हुन्छ। सबै विद्यार्थीका कान ठाडा भए। खासखुस चल्यो। यस विषयमा किशोरहरूले नयाँ जानकारी पाए। किशोरीहरूले अप्ठ्यारो माने। सहज वातावरण खल्बलियो। अनि समाजको अनुहार विद्यार्थीकै अनुहारमा देखा पर्यो।
यी विद्यार्थीहरूमा विषय–ज्ञानको अभाव थिएन। समाजले रहस्यमयी बनाइदिएकाले यो विषय अघि बढाउन समस्या आयो। हामी कतिपय विषयमा खुलेर कुरा गर्छौ भने कतिपय विषयमा त्यसो गर्न सक्तैनौं। त्यस्तो बानी लाग्नुका पछाडि 'रहस्यमय' बनाइराख्ने सामाजिक मान्यता र व्यवहार जिम्मेवार छ। मेरा विद्यार्थीले त्यो 'रहस्य' जान्ने उत्सुकतासम्म देखाएका थिए, तर एकैपटक बोल्ने साहस गर्न कठिन भइरहेको थियो। अप्ठ्यारो मानिरहेका थिए। यो नौलो कुरा थिएन। म विद्यार्थी हुँदा हाम्रा शिक्षकले यी विषय चाहिँ आफैं पढेर आऊ भनेर पन्छाइदिन्थे। कतिले चाहिँ किशोर र किशोरीलाई अलग राखेर पढाउँथे।
तर मेरा विद्यार्थी अलग थिए। एउटा केटोले प्रश्न गरिहाल्यो– केटीको 'महिना' भनेको के हो? विद्यार्थीहरूवीच चर्चा होओस् भनेर म चूप बसें। योजना अनुसार नै काम भयो। एक किशोरीले जवाफ दिइन्– “महिना भनेको महिनावारी हो क्या!”
महिनावारीकै सन्दर्भमा कुरा अघि बढाउन महिनावारी भएको महिलाप्रति घरपरिवार र समाजले के कस्तो व्यवहार गर्छ भन्ने प्रश्न उठाएँ। यसमा किशोरीहरू जुर्मुराएर भन्न थाले– “महिनावारी भएको बेला आमा र ठूलीदिदीले पनि अछूत जस्तो व्यवहार गर्छन्। 'पवित्र' भनिएका स्थानहरू, पूजाकोठा वा चुल्होमा जान दिँदैनन्” आदि।
'महिनावारी' सँग 'पवित्रता' को के सम्बन्ध छ; कसैलाई थाहा छैन। हाम्रो समाजको सार्वजनिक व्यवहारले बालबालिकाहरूको दिमागमा यौन र यौनिकतासँग सम्बन्धित प्रश्नलाई अनुचित या पापकर्म तुल्याइदिएको छ। शरीरको सामान्य प्रक्रियालाई पवित्रता वा अपवित्रतासँग जोडेर हेरिदिनाले नै यस्ता विषयहरूले सार्वजनिक चर्चाको अवसर नपाएका हुन्। यसैकारणले यस्ता विषयमा खुला चर्चा चलाउन शिक्षकलाई पनि चुनौती छ। समाज र धर्मले वर्जित गरेको क्षेत्रमा प्रवेश गर्ने साहस शिक्षकहरूले पनि जुटाउन सकेका छैनन्।
विद्यार्थीहरू सहज हुँदै गए। केही किशोरीहरू आफ्ना भोगाइ सुनाउन थाले। 'महिनावारी' भएको बेलामा उनीहरूलाई भान्सामा पस्न र पानी राखिएको भाँडो छुन दिईंदैन। अर्काले पस्केर दिएको खानुपर्छ, खेलकुद गर्न दिईंदैन। तिनका कुरा सुनिरहेका किशोरहरूले पनि आफ्ना घरमा यस्ता व्यवहारहरू देखेका थिए, त्यस्तो व्यवहारको असली रहस्य चाहिँ अहिले बुझन पाए।
कक्षामा 'महिनावारी' बारे छलफल चलिरहेकै बेलामा राजस्थानकै फागी गाउँबाट सरकारी शिक्षकहरूको एउटा टोली हाम्रो कक्षा अवलोकन गर्न आयो। यौन र यौनिकताका बारेमा एक पुरुष शिक्षकले किशोर र किशोरीलाई एकैठाउँमा राखेर छलफल गरिरहेको दृश्य उनीहरूका लागि आश्चर्यमा पार्ने खालको थियो। उनीहरू साश्चर्य छलफल सुन्न थाले।
हाम्रो पाठशालामा यस्ता अवलोकनकर्ताहरू आइरहने भएकाले छलफलमा कुनै असर पार्दैनथ्यो। छलफल चलिरह्यो। विद्यार्थीहरूले खुलेर कुरा गरे। प्रश्न गरे–'महिनावारी चक्र' निश्चित समयमा मात्र किन हुन्छ? कुन उमेरमा हुन्छ? कति दिन रहन्छ? गर्भ भएको अवस्थामा हुन्छ कि हुँदैन? यसरी छलफल गर्दा गर्दै खाना खाने बेला १० मिनेट कटिसकेको थाहा पाएपछि भोलि पनि यसै विषयमा छलफल गरौंला भनेर छलफल रोकें। अवलोकनकर्ता गए। केही विद्यार्थीहरू खाना खाने बेलामा पनि यसै विषयमा चर्चा गरिरहेका थिए।
विद्यालय समय सकिएपछि हाम्रा गतिविधिबारे अवलोकनकर्ताहरूसँग छलफल गर्न बस्यौं। अवलोकन गर्न आएका सरकारी विद्यालयका शिक्षकहरूले 'किरण' समूहमा चलेको यौन र यौनिकता सम्बन्धी चर्चा र त्यसमा विद्यार्थीहरूले समान रूपमा राखेको सहभागिताप्रति आश्चर्य व्यक्त गरे। यस्तो संवेदनशील विषयमा पुरुष शिक्षकका साथमा किशोर र किशोरी सँगै बसेर खुला रूपमा बहस गर्ने वातावरण कसरी तयार भयो भन्ने उनीहरूको मुख्य जिज्ञाशा थियो।
यो अस्वाभाविक थिएन। यस्ता विषयमा खुला छलफल चलाए स्कूलको छवि बिग्रन्छ भन्ने मान्यता धेरै शिक्षकमा अझै पनि छ। अवलोकनकर्ता शिक्षकहरू पनि यही वर्गका थिए। तिनले राखेका प्रश्नका आधारमा हाम्रा शिक्षक र स्कूलहरूमा भएका केही निश्चित मान्यता यस्ता थिएः
यौन र यौनिकता जस्तो संवेदनशील विषयमा किशोर किशोरीहरूलाई एकैसाथ राखेर चर्चा गर्न गाह्रो हुन्छ।
किशोर किशोरीले सँगै बसेर यस्ता विषयमा खुलेर कुराकानी गर्न सक्तैनन्।
पुरुष शिक्षकले किशोर वयका बालिकाहरूसँग यौन र यौनिकता जस्ता संवेदनशील विषयमा छलफल चलाउन सक्तैन।
विद्यालयमा यौन, यौनिकता, प्रजनन् अङ्ग तथा प्रणालीबारे चर्चा गर्ने हो भने किशोरका लागि पुरुष र किशोरीका लागि महिला शिक्षकको व्यवस्था गर्नुपर्दछ।
उनीहरूको विचार सुन्दा यो विषयमा किशोर किशोरीहरूलाई सँगै राखेर चर्चा गर्दा अवश्य नै 'गडबडी' हुन्छ भन्ने झल्कन्थ्यो। त्यस्तो दृष्टिकोण बनेका कारण ती शिक्षकहरू काम गर्नुअगावै हतास भएर नयाँ काम गर्न नसक्ने भएका रहेछन्। समाजको मान्यता विपरीतका काम गर्दा अवश्य नै असफल भइन्छ भन्ने डरबाट उनीहरू पीडित पाइन्थे। यथार्थमा उनीहरू आफ्नै मान्यताको बोझले थिचिएका थिए।
नयाँ काम गर्न सकिन्छ। तर चुनौती छन्। यस्ता काम गर्दा सामाजिक मान्यता मात्र होइनन्, शिक्षकको क्षमता पनि चुनौती बनेर आउँछ। हाम्रो समूहमा भएका काम सबै शिक्षकका लागि सहज हँुदैनन्। अनेक समस्या आउँछन्। समयले ल्याएको परिवर्तन र अनुभवी शिक्षकले दिएका सल्लाहमा योजना बनाएपछि मात्र यस्ता काम गर्न सकिन्छ।
सामाजिक मान्यतासँग सम्बन्धित समस्यासँग कसरी जुझन सकिन्छ भन्ने अनुभवको बयान गर्न सक्नु पनि शिक्षकको योग्यता हो। संवेदनशील भनिएका विषयहरूमा पनि अन्य विषयमा जसरी नै बहस गर्न सकिन्छ भन्ने मान्यता बनाउनु र कुनै पनि विषयमा बहस गर्दा लाज मान्नुपर्दैन भन्ने आँट सजिलै जुटाउन सकिन्छ भन्ने ज्ञान बाँड्ने जिम्मा पनि शिक्षककै हुन्छ। हरेक व्यक्तिले प्रजनन प्रणाली र मासिकधर्मका बारेमा जान्नु त्यति नै जरुरी छ जति पाचन प्रणाली, वनस्पति विज्ञान र इतिहासका विषय जान्नु जरुरी छ भनेर बताउन सकिएला। तर यस्ता मान्यतालाई सहज बनाउने चुनौती छ। यो मेरो भोगाइ हो।
शिक्षकले हरक्षण चुनौती बेहोर्नुपर्दछ। त्यस्ता चुनौतीको समाधान शिक्षक आफैंले खोज्नुपर्दछ। आफ्नो अनुभव र विषयगत ज्ञान बढाएर मात्र यस्ता समस्यासँग जुध्न सकिन्छ। विद्यार्थीले निडर भएर सिक्न सक्ने वातावरण नपाएसम्म यस्ता विषयमा खुला बहस चलाउन सकिँदैन। तर बहसको माध्यमबाट नै शिक्षकले धेरै कुरा सिक्छन्। अनि मान्यतामा पनि परिवर्तन आउँछ।
यस विषयमा मलाई कसैले पढाएको पनि थिएन। अरूसँग खुलेर चर्चा गरेको पनि थिइनँ। म आफैँ असहज थिएँ, मेरो बुझाइ पर्याप्त थिएन। शिक्षक नै असहज भएको विषयमा विद्यार्थीलाई कसरी सहज बनाउन सकिन्छ र? शिक्षकले अरू विषय जसरी सहजताका साथ पढाउँछ, त्यसैगरी मानव प्रजनन प्रणालीलाई पनि पढाउन सक्यो भने विद्यार्थीले अप्ठ्यारो मान्छन् भनेर यस्ता महत्त्वपूर्ण विषय पढाउन आलटाल गर्ने वा पन्छिने ठाउँ नै बाँकी रहँदैन। यस्ता विषय पढाउने शिक्षकका भाव–भङ्गिमाले पनि विद्यार्थीमा गहिरो असर पारिरहेको हुन्छ। यदि शिक्षक आफैँ नै प्रजनन प्रणाली र प्रजनन विधिका बारेमा खुलेर कुरा गर्न सक्तैन भने विद्यार्थीले पनि यस विषयमा खुलेर कुरा गर्नुहुँदैन भनेर बुझछन्। कुनै विषय पढाउन शिक्षकले गाह्रो मान्छ भने विद्यार्थीहरूले स्पष्ट सङ्केत पाउँछन्, ती विषय देखाउनका लागि मात्र राखिएका हुन्। कक्षामा नपढिने र नपढाइने विषयको के महत्त्व हुन्छ र? विद्यार्थीको मनमस्तिष्कमा यस्ता धारणा बस्न नदिन शिक्षकले नै मिहिनेत गर्नुपर्छ। मानव प्रजनन प्रणाली र प्रजनन विधिको महत्त्वबारे शिक्षकले बुझाइदिन सके भने मात्र यसबारेको अन्धविश्वास उठ्नेछर यस विषयमा खुलेर कुरा गर्ने सक्षम पुस्ता आउन सक्नेछ।
शिक्षकले मात्र सामाजिक परिस्थितिलाई परिवर्तन गर्न सक्दैन। विद्यार्थीकै सहयोगमा मेरो ज्ञान बढ्यो। म स्पष्टसँग भन्छु– मैले धेरै कुरा विद्यार्थीबाट सिकें। म पनि यस्ता विषयमा चर्चा गर्न मानसिक रूपमा तयार थिइनँ। मैले चुनौती लिएको मात्र हो, काम गर्ने प्रयास गरेको मात्र हो। यस सन्दर्भमा, पानीमा नपसी पौड्ने सीप जानिँदैन भन्ने उखान मलाई सही लाग्छ। ७
साभारः शिक्षा विमर्श नोभेम्बर–दिसम्बर २०१०
सरलीकृत अनुवाद– हस्त गुरुङ
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|



Comments
RSS feed for comments to this post