| Article Index |
|---|
| नियमविनाको वर्णविन्यासः सिकारुलाई समस्या |
| लेख्य व्यवस्था र वर्णविन्यास |
| 1 |
| All Pages |
-लावण्य ढुङ्गाना
वर्णविन्यास भनेको शुद्धाशुद्धि वा हिज्जेको विधान हो। यसले शब्दमा वर्णहरूको सार्थक एवम् समुचित विन्यास अर्थात् रखाइलाई जनाउँछ। तर यस विषयमा नेपालीका विद्वान्हरूले जुँगाको लडाइँ मच्चाउने गरेकाले नेपाली भाषामा वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन्।
यति बेला त वर्णविन्यासका नियमहरूको चर्चाले शिखर नै चुमेको छ र यसको प्रत्यक्ष मारमा छन् विद्यार्थी तथा शिक्षक वर्ग। एउटा तहमा पढदा शुद्ध मानिएको शब्द अर्को तहमा पुग्नासाथ अशुद्ध भनिँदा शिक्षक वर्गप्रति विद्यार्थीहरूको विश्वास घट्दो छ भने समग्रमा नेपाली भाषाप्रति नै वितृष्णा बढ्दो छ। अझ शिक्षक वर्गलाई गम्भीर समस्या छ। आफू कुन तहमा पढाउँदैछु भन्ने हेक्का राखेन भने उसले शुद्ध लेख्न नजानेको प्रमाणित भई जागिरै जान बेर लाग्दैन।
भाषा मानिसले व्यवहारबाट सिक्दछ र भाषिक व्यवहार बारम्बारको अभ्यासमा आधारित हुन्छ। सिकाइका क्रममा जानेका कुरा दिमागमा गाडिएर रहेका हुन्छन्। गलत प्रयोगबाट लागेको बानी बदल्न निकै गाह्रो हुन्छ भने बारम्बारको अभ्यासबाट सही भनी दिमागमा अङ्कित गरिएको कुरालाई गलत ठान्न कठिन हुन्छ। सिकाइका क्रममा कहिले 'दस' शब्द गलत कहिले त्यही 'दस' सही, कहिले फूल (पुष्प) गलत कहिले फुल (पुष्प) सही, कहिले 'दुध' ह्रस्व लेख्दा कान उखेलिने त कहिले 'दूध' दीर्घ लेख्दा टुप्पीका जरा खलबलिने। वर्णविन्यासका यी मौसमी नियमले भाषा सिक्ने र सिकाउने दुवै कुहिराका काग बनिरहेका छन्। विधिनिर्माताहरूका लागि यो रमाइलो खेल भए पनि यसको मारमा पर्नेहरूका लागि भने महाझेल सावित भएको छ। यो भाषिक अन्योल र व्यभिचारको उपचार खोज्नु अहिले प्रत्येक भाषा प्रयोक्ताको कर्तव्य बन्न गएको छ।


