- गुरु मैनाली र सुदर्शन घिमिरे
क्यामेरा (स्टिल र भिडियो दुवै)
प्रयोग 
- शिक्षकले ह्वाइट बोर्ड/ब्याकबोर्ड मा ले खेका कुराको फोटो खिचेर राख्न सकिन्छ
- मोबाइल क्यामेरा हाते स्क्यानरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। कुनै पुस्तकका महत्वपूर्ण पानाहरूलाई खिचेर पछि पढ्न सकिन्छ। त्यस्तै कुनै महत्वपूर्ण चित्र वा वस्तुको फोटो वा कुनै कक्षा क्रियाकलापको रोचक दृश्य खिचेर पनि राख्न सकिन्छ।
- मोबाइलमा भएको क्यामेराबाट फोटोग्राफीको प्रारम्भिक अभ्यास गर्न सकिन्छ।
- मोबाइलमा खिचिएका तस्बिरहरूले कहिलेकाहीँ विद्यार्थीलाई केही लेख्न वा अन्य सृजनशील कामतर्फ उत्प्रेरित गर्न पनि सक्छन्।
- यदि स्कूलले अन्तरक्रियामुखी र सिकाइ प्रक्रियालाई सघाउने तरिकाले आफ्नै वेबसाइट बनाई उपयोग गर्ने गरेको छ भने शिक्षकले दिएको एसान्मेन्टलाई चाहिने तस्बिरहरू खिच्न सकिन्छ।
सीमा
- मोबाइलको सानो स्क्रिनमा ती अक्षर पढ्न सकिँदैन। त्यस्ता कुरा पढ्न तथा समूहमा भिडियो वा फोटो हेर्न कम्प्युटर नै चाहिन्छ।
- सामान्य फोनको मेमोरी धेरै हुँदैन। फोनमा नअटाएका कुरा राख्न कम्प्युटर नै चाहिन्छ।
- यस किसिमको सिकाइमा पनि कम्प्युटर नै प्रमुख उपकरण हुन्छ र मोबाइल सहायक उपकरणका रूपमा मात्र प्रयोग हुनसक्छ।
अडियो रिकर्डिड र प्ले
प्रयोग
- शिक्षकले कक्षामा कुनै महत्वपूर्ण कुरामा दिएको व्याख्यान वा अवधारणा बुझाउन बोलेका कुराहरूलाई विद्यार्थीले रेकर्ड गर्न सक्छन्। रेकर्ड गरिएको कुरा पछि घरमा गएर सुन्दा कक्षामा नबुझेको वा ध्यान नदिएको कुरा पनि विद्यार्थीले थाहा पाउँछ।
- सामाजिक शिक्षा अध्ययन अन्तर्गतको समूह कार्यमा आफ्नो गाउँवस्ती वा टोलका बारेमा बूढापाका वा जानकार मानिससँग कुराकानी गरी रेकर्ड गर्न सकिन्छ। त्यसैगरी संवाद, गीत, भाषणलगायत आवश्यक ठानिएका कुनै पनि कुरालाई रेकर्ड गर्ने रेकर्डरका रूपमा मोबाइललाई उपयोग गर्न सकिन्छ। रेकर्डमा आएका कुराहरू आफूलाई मन लागेको वा आवश्यक परेको बखतमा सुन्न सकिहालिन्छ।
- मोबाइल अङ्ग्रेजी भाषा सिक्ने महत्वपूर्ण साधन बन्न सक्छ। शिक्षकले कक्षामा बोलेका कुरा वा अङ्ग्रेजी सिकाउने अन्य श्रव्य सामग्रीहरूको रेकर्ड सुन्न सकिन्छ। यसरी सुन्ने कामले त्यहाँ प्रयुक्त भाषा शैली र उच्चारण गर्ने तरिकासँगै विद्यार्थीको दिमागमा नयाँनयाँ शब्द भण्डारण गरिदिन्छ।
- नाटक, वक्तृत्वकला, वादविवाद प्रतियोगिता, कविता वाचन, गायन जस्ता स्वरको आवश्यकता पर्ने क्रियाकलापको अभ्यासका लागि मोबाइलमा भएको उपकरण एकदमै उपयोगी हुनसक्छ।
सीमा
- यसै पनि अनुशासनहीनता र हेलचेक्र्याईंको सिकार भइरहेका विद्यार्थीमा “रेकर्ड गरेकै छु किन टाउको दुखाउनुपर्यो र” भन्ने भावना बढ्न सक्छ।
- मोबाइलको मेमोरी सीमित हन्छ र राम्रो लागेका कुरा सम्पादन गरेर लामो समयका लागि राख्न सकिँदैन।
- मोबाइलको स्पिकर सानो हुने हुँदा रेकर्ड गरिएका कुरा व्यक्तिगत वा सानो समूहको प्रयोगमा मात्र आउन सक्छन्।
एसएमएस
हाल व्यक्तिगत सूचना र सामग्री आदानप्रदानमा सीमित एसएमएसलाई विशेष परिस्थितिमा सामूहिक र शैक्षिक प्रयोजनका सूचना आदानप्रदानका लागि प्रयोग गर्न सकिन्छ।
इन्टरनेट
इन्टरनेट सूचनाको सबभन्दा फराकिलो र गतिशील माध्यम हो। सिकाइका लागि यसका अनन्त सम्भावनाहरू छन्।
- जीएसएम मोबाइलमा– (उदाहरणको लागि नेपाल टेलिकमको नमस्ते वा पोष्टपेड सीम कार्ड) जीपीआरएस सुविधा लिएपछि मोबाइलमा इन्टरनेट चलाउन सकिन्छ। यदि आफूलाई वेब साइटको ठेगाना पूरै कण्ठ छ भने ब्राउजर खोलेर सोझै वेब ठेगाना टाइप गरे हुन्छ उदाहरणका लागि शिक्षा विभागको वेब खोल्नु परेको छ भने www.doe.gov.np टाइप गरेर ब्राउज गर्नुपर्छ।
- यदि आफूलाई वेब ठेगाना थाहा छैन तर संस्थाको नाम थाहा छ भने गुगल (www.google.com )मा गएर टाइप गरेपछि क्षणभरमै करोडौं पेजहरूमा खोजबिन गरेर केही सेकेन्डमा मोबाइलको स्क्रिनमै सम्बन्धित संस्था या व्यक्तिको वेब साइटको ठेगाना र लिङ्क देखिन्छ। सोही लिङ्कमार्फत सम्बन्धित वेबसाइटमा जान सकिन्छ। वेब खोजीमा सबैभन्दा पहिला आफूले के खोज्न चाहेको हो, त्यसमा स्पष्ट हुनुपर्छ। जति बढी स्पेसिफिक हुन सक्यो उति सहज हुन्छ। उदाहरणका लागि science टाइप गरेर खोजी गरेमा गुगलले स्क्रिनमै त्यो शब्दसँग मेल खाने र चलेको वेबसाइट www.sciencemag.org लाई सबैभन्दा पहिला देखाउनेछ। यो विज्ञान म्यागेजिन हो।
डाटा बाँड्ने तरिका
हिजोआज बजारमा आएका सबैजसो मोबाइलमा ब्लुटुथ हुन्छ। लिने र दिने दुवैले ब्लुटुथ अन गरेपछि १० मिटरको दूरी भित्र रहेका सबै मोबाइलमा डाटा पठाउन सकिन्छ। यही माध्यमबाट शिक्षकले विद्यार्थी बीच तस्बिर देखि भिडियोसम्मका डाटाहरू बाँड्न सकिन्छ। त्यसैगरी मोबाइलमा भएको कार्ड रिडरको माध्यमबाट पनि डाटा सेयर गर्न सकिन्छ। इन्टरनेट छिटो गतिमा चल्छ भने साना फाइलहरू चाहिँ इमेलबाट पनि एकसाथ धेरै जनालाई पठाउन सकिन्छ ।
- नेपालमा शिक्षक विद्यार्थीलाई उपयोगी हुने गरेर धेरै वेब साइटहरू बनेका छैनन्, थोरै मात्र छन्। त्यसमध्येको एक हो, www.epustakalaya.org । यसमा शिक्षण सामग्री, विषयगत सामग्री, पत्रपत्रिका, कला, साहित्य जस्ता विषयमा उपयोगी सामग्रीहरू फेला पर्छन्।
- बेलायत सरकारको स्वामित्वमा रहेको बीबीसी सेवाको बेबसाइट www.bbc.co.uk/learning गएर पनि उपयोगी सामग्री फेला पर्छन्। बीबीसीले शिक्षण र सिकाइ कामका लागि भनेर विशेष रूपमा ती सामग्री तयार पारेर राखेको हो। त्यहाँ गणित, अङ्ग्रेजी, विज्ञान, इतिहासदेखि सूचनाप्रविधिसम्मका विषयका धेरै सामग्री राखिएको छ।
- संसारमा खासगरी विकसित विश्वमा विज्ञान, प्रविधि, स्वास्थ्य र सूचनाको क्षेत्रमा भइरहेका नवीनतम् कुराहरू बारे जानकारी लिन मन लागेको छ भने शिक्षक विद्यार्थीका लागि अत्यन्तै उपयोगी वेबसाइट हो, www.nytimes.com। यसको मुख्य पेज चाहिँ ताजा समाचार र विचारले सजिएको छ भने कुनामा शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधिको वेग्लै लिंक दिएको छ, जहाँ सम्बन्धित विषयमा पछिल्ला अनुसन्धान तथा क्रियाकलापहरूबारे समाचार तथा लेखहरू पढ्न पाइन्छन्। प्रसिद्ध अमेरिकी पत्रिका दि न्युयोर्क टाइम्स को अनलाइन संस्करण यस वेबसाइटले त सिक्ने कार्यमा संलग्न शिक्षक विद्यार्थीहरूलाई लक्षित गरेर नै लर्निङ्ग नेटवर्क नै चलाएको छ जसको वेब ठेगाना हो, http://learning.blogs.nytimes.com। यो मात्र वेबसाइटमा उपलब्ध सामग्रीहरूलाई पढ्ने हो भने दुर्गम ठाउँका शिक्षक विद्यार्थी दुवै पछिल्लो ज्ञान तथा सूचनाबाट सहजै अद्यावधिक हुनसक्छन्।
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


