-डा. तीर्थबहादुर श्रेष्ठ
केही वैज्ञानिक नयाँ–नयाँ आविष्कारमा लागेका हुन्छन् भने कोही चाहिँ प्रकृतिभित्रकै रहस्य पहिल्याउनमा व्यस्त हुन्छन्। प्रकृतिबाट प्रेरणा पाउन वैज्ञानिक नै
बनिरहनुपर्दैन। हरेक पल, हरेक क्षण प्रकृतिबाट प्रेरणा लिनसक्नु सफल जीवनको द्योतक हो। तर प्रकृतिको रहस्यलाई उजागर गरेर त्यसबाट नयाँ आविष्कार गर्न भने विज्ञान र प्रविधिले नै सघाउ ने हो। प्रकृतिले विज्ञान र प्रविधिको विकासलाई सघाउँछ।
हाम्रा नदीहरू पहाडबाट तल झर्दछन्। ओरालो लाग्छन्। उकालो लाग्न सक्दैनन्। झरना माथिबाट तलै झर्दछ। यसैगरी एउटा स्याउको फल रूखबाट झर्दछ।
भुईंमा ठोक्किन्छ। त्यो स्याउ किन सोझै भुईंमा झर्यो भन्ने रहस्यमा घोत्लिएर आइज्याक न्यूटन पृथ्वीको गुरुत्वाकर्षणबारे नयाँ सिद्धान्त प्रतिपादन गर्न सफल भए। आकाशमा जब इन्द्रधनु वा इन्द्रेणी लाग्दछ, त्यहाँ विभिन्न रङहरू देखिन्छन्– सप्तरङ। त्यो रङ कसरी देखियो भन्ने कुराको रहस्य पनि उनले पत्ता लगाए। काँचको ३ पाटे 'प्रिज्म' (Prism) को मद्दतले सूर्य प्रकाशको रहस्यलाई उजागर गरे।
मान्छेमा उड्ने वा आकाशमा कावा खाने रहर कसरी पलायो होला; हामी सबै अनुमान गर्न सक्छौं। किनभने चराहरू उडिरहेका छन्। उनीहरूको नक्कल गर्न मानिस सधैं प्रयत्नशील रहे। शरीरको वान्की र पखेटाको स्वरुप मिलाएर राइट ब्रदर्स सन् १९०३ मा हवाईजहाज बनाउन सफल भए, चरा जस्तै उड्न सफल भए।
चराचुरुङ्गी, पशुपन्छी तथा फूल, बिरुवा र वनस्पतिको प्रकृति तथा बानीव्यहोरा, वान्की र तिनका विशेषताको अध्ययन गरेर तिनको देखासिकीबाट नयाँ–नयाँ प्रविधि विकास भएको छ। प्रकृतिबाट प्रविधिसम्मको यात्रा कहिले कठिन हुन्छ त कहिले सरल पनि। आजभोलि हाम्रो बुट–जुत्तामा, कोट–ज्याकेटमा, कम्मर कस्ने पेटी वा पाखुरामा; ब्लड प्रेसर नाप्ने यन्त्र कस्ने काममा 'भेलक्रो' (Velcrow) नामक साधारण 'च्यारच्यारे' पट्टीको प्रयोग हुन्छ। त्यसमा घुमि्रएका स–साना प्लाष्टिकका काँडा जडिएको हुन्छ। त्यसको अर्कोतिरको पट्टीमा साधारण भुवा मात्र टाँसिएको हुन्छ। ती दुई पट्टीलाई सजिलैसँग कस्सिने गरी टाँस्न पनि मिल्छ र उप्काउन पनि मिल्छ। यो प्रविधिको आविष्कारको आधार भेडेकुरो नामक वनस्पतिका गेडा हुन्। भेडेकुरोका गेडामा घुमि्रएका स–साना काँडा हुन्छन्। घाँस चर्दै गरेको भेडाको शरीरका भुत्लामा यी गेडा सजिलै टाँसिन्छन् र भेडासँगै टाढा–टाढासम्म यात्रा गर्दछन्। भेडाको ऊनमा बलियोसँग टाँसिने यी गेडाको अध्ययनबाट 'भेलक्रो' आविष्कार भयो। अर्थात् यसो भनौं कि प्रकृतिको नक्कल गर्न हामी सफल भयौं।
नक्कलबाजीको अर्को उदाहरण 'राडार' हो। यो ज्यादै उपयोगी र अति महत्त्वपूर्ण आधुनिक उपकरण हो। राडारविना आजका विमानस्थल सञ्चालन हुन सक्दैनन्। हवाईजहाजबाट शस्त्र–अस्त्र प्रक्षेपण पनि सम्भव हुँदैन। राडार यन्त्रले विद्युतीय रेडियो तरङ्गहरूलाई आफ्नो ठाउँबाट टाढा–टाढा फ्याँक्छ वा भनौं कि प्रक्षेपण गर्छ। ती तरङ्ग अरू वस्तुमा ठोक्किएर फेरि त्यही राडारमा फर्कन्छन्। त्यसरी फर्किएका तरङ्गले कुन वस्तु कहाँ र कुन अवस्थामा छ भन्ने सङ्केत दिन्छन्। आकाशमा कुनै हवाईजहाज आइरहेको छ भने कताबाट कुन गतिमा आइरहेको छ भन्ने जानकारी राडारले तुरुन्तै दिन्छ। मानिसले यो राडार प्रविधि चमेरोबाट सिकेको भन्ने मान्यता रहेको छ।
आजभोलि घर–भवनलाई वातानुकूलित (Air conditioned) बनाउन धेरै इन्धन खर्च हुन्छ। वातानुकूलित भवन निर्माणको प्रसङ्गमा धमिरा (Termites) को विशिष्ट क्षमतालाई हामी जित्न सक्दैनौं। हाम्रा इन्जिनियरहरूलाई पनि उनीहरूले जितेका हुन्छन्। अफ्रिकामा भएको एउटा अध्ययनले धमिराका घरहरू वातानुकूलित हुन्छन् भन्ने देखाएको छ। बाहिरी तापमान १.५ डिग्री सेल्सियसदेखि ४० डिग्रीसम्म घटबढ हुने ठाउँमा बनेका धमिराका गुँड सधैँ शीतल रहन्छन्। धमिराकै नक्कल गरेर बनेको भवन साँच्चिकै वातानुकूलित हुन आएको कुरा एक अध्ययनले प्रमाणित गरेको छ। हाम्रा सालका वनमा भेटिने धमिराका गुँडहरूबाट पनि यस्तै ज्ञान लिन सकिन्छ कि?
हामीलाई थाहा छ; जुकाले चुसेको घाउबाट रगत बगिरहन्छ। अरू घाउमा जस्तो छिट्टै रगत जमेर घाउ टालिँदैन। जुकाको र्यालमा त्यस्तो के तत्त्व रहेछ भन्ने अध्ययन गरेर वैज्ञानिकहरूले रगत नजम्ने रसायन पत्ता लगाए। स्वास्थ्य सेवामा त्यसको पर्याप्त प्रयोग हुँदै आएको छ।
चमेरोले उड्दाखेरी विशेष प्रकारको ध्वनि प्रक्षेपण गर्दछ ।त्यो ध्वनि अरु बस्तुमा ठोक्किएर फर्कन्छ ।त्यसकै आधारमा चमेराहरु अन्धकारमा पनि कहीँ नठोक्किकन दिउँसो अरु चराहरु उडेझै उड्छन् । चमेराले आफ्ना सिकार पनि प्रतिध्वनिकै आधारमा ठम्याउँछन् । तीक्ष्ण चक्षु भएको चीलले चल्ला छोपेझै चमेरोले मुसा छोप्छ ।यही प्रतिध्वनिको प्रविधिमा आधारित भएर राडार निर्माण भएको छ ।
बाली नाश गर्ने कीराहरूमा पोथी प्राणीले यौनकामनाका वासनाहरू (हर्मोन) फैलाएपछि त्यहाँ भाले कीराहरू होम्मिदै आउँछन्। त्यस्तो वासना फैलाउने रसायनलाई कपास आदिमा सङ्कलन गरेर धराप खोरभित्र राखिन्छ। त्यो रसायनको वासनाबाट लोभिएर भाले कीराहरू त्यस्ता खोरभित्र होमिन्छन्। खोरभित्र विषादी पनि राखिएका कारण ती त्यहीँ मर्छन्। बाली सुरक्षित हुन्छ।
प्रकृतिका जीव; प्राणी एवं वनस्पतिका विभिन्न गुण र विस्मयहरूको सिको गरेर नयाँ–नयाँ प्रविधिहरू विकास गर्न सफल भएका उदाहरण धेरै छन्। विभिन्न कलाकृतिमा फूल, बिरुवा, चरा, पुतली तथा अरू धेरै जीवात्माका आकृतिको नक्कल गरिन्छ। नृत्य साधना होस् वा कुस्तीबाजी आदिकलामा पनि प्रकृतिले प्रेरणा थपेको हुन्छ।
जीव–विज्ञानमा अरूको नक्कल गर्नुलाई 'मिमिक्री' (mimicry) भनिन्छ। जस्तै भद्राई चराले अरू चराचुरुङ्गीको स्वरको नक्कल गर्छ। छेपाराले आफू वरपरको ठाउँको रङ नक्कल गरेर रङ बदलिरहन्छ। केही पुतलीहरू बिरुवाको पातै हो कि भन्ने गरी झुक्याउन सफल हुन्छन्। केही बाँकोका बिरुवा गोमनले फणा उठाएझैं गरी भयङ्कर रुप धारण गर्दछन्। जीवन रक्षाका लागि अपनाइने यी नक्कलहरू वातावरणसँग अनुकूल हुने प्रविधि हुन्। जीव; प्राणी र वनस्पतिका प्रकृति नक्कल गर्ने विधालाई वायोमिमिक्री (Biomimicry) भनिन्छ। 'वायोमिमिक्री' अनुसन्धानको एक गहन विषय हो, साथै विभिन्न प्रविधिको जननी पनि।
•
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


