-डा. तीर्थबहादुर श्रेष्ठ
हाम्रो पृथ्वीको आवरणलाई हावाले ढाकेको छ। अर्थात् त्यो आवरण विभिन्न वायुबाट बनेको छ। वायुलाई वात पनि भनिन्छ। र, वातावरण भन्नाले पृथ्वीको सतहमाथि चारैतिर फैलिएको हावाको तह बुझिन्छ। त्यो तह पृथ्वी सतहबाट आकाशमा १,६०० किलोमिटर माथिसम्म फैलिएको छ। तैपनि; अधिकांश वायु (झण्डै ९९ प्रतिशत) ८० किलोमिटरभित्रै कोच्चिएर रहेको छ। हावाको तह पृथ्वी सतहनिर बाक्लो हुन्छ। जति माथि गयो उति पातलिँदै जान्छ। त्यसैले हिमाल चढ्दा अर्थात् उचाइमा जाँदा हामीलाई सास फेर्न गाह्रो हुन्छ। पातलो हावामा हुने थोरै वा पातलो अक्सिजन हाम्रो शरीरलाई पर्याप्त हुँदैन। वातावरणमा २१ प्रतिशत 'अक्सिजन' नामक वायु हुन्छ जसले हाम्रो प्राण धान्छ। वायुमण्डलमा सबैभन्दा अधिक 'नाइट्रोजन' (७८ प्रतिशत) नामक वायु हुन्छ। यो साधु वायु हो। यसले कुनै हानि गर्दैन। यो तटस्थ प्रकृतिको हुन्छ। अक्सिजनले जस्तो फलाममा खिया पार्ने वा विभिन्न वस्तुलाई कुहाउने काम यसले गर्दैन। त्यसैले मासु वा अरू खाद्यवस्तु प्याक गर्नुअघि टीन वा प्लास्टिकका प्याकेटमा नाइट्रोजन वायु भरिन्छ। भुक्क फुलेका आलुका चाना (चिप्स)को प्याकेटभित्र त्यस्तै नाइट्रोजन वायु भरिएको हुन्छ।
पृथ्वीको वातावरणमा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन भएपछि बाँकी एक प्रतिशत वायुमा पनि अधिकांश भाग (९४ प्रतिशत) अर्को तटस्थ वायुले ओगटेको हुन्छ। त्यसलाई आर्गन (Argon) भनिन्छ। हामीले बाल्ने बिजुलीका चिमभित्र यही वायु भरिएको हुन्छ। बिजुलीको चिमभित्र बल्ने तारको त्यान्द्रोलाई यसले खिइन दिँदैन, बरु बचाउँछ। यसरी; वातावरणमा रहेको ९९.९४ प्रतिशत वायुको बारेमा चर्चा गरेपछि, अब बाँकी रह्यो ०.०६ प्रतिशत वायुको कुरा। त्यही ०.०६ प्रतिशत वायुको समूहलाई आजभोलि 'हरितगृह वायु' भनिन थालेको छ। तर त्यो समूहमा रहेका कुनै वायु पनि हरिया भने छैनन्। न तिनको बास कुनै हरिया गृह विशेषमा हुन्छ। नामकरण गर्नेहरूले अङ्ग्रेजीमा 'ग्रीनहाउस ग्यास' (Green House Gas) भनेर सम्बोधन गर्न थाले यी वायु समूहलाई। हामीले पनि शब्दानुवाद गरेर 'हरितगृह वायु' भन्ने नाम चलाउन थाल्यौं। विश्व वातावरणका कुरा गर्दा अहिले 'हरितगृह वायु'को चर्चा अत्यधिक हुने गरेको छ। त्यसैले अब यहाँ त्यही कथित 'हरितगृह वायु'का बारेमा थोरै कुरा गरौं।
अल्पसङ्ख्या, त्यो पनि ०.०६ प्रतिशत मात्र रहेको वायु समूहका कारण विश्व–उष्णीकरण (Global Warming) को भयावह खतरा र जलवायु परिवर्तनको त्रासदीपूर्ण अवस्थाको चित्रण हुने गरेको छ। त्यही ०.०६ प्रतिशत ग्यासकै कारण हिउँ पग्लिएर हिमालयहरू पत्थरालय बन्ने? समुद्रको सतह बढेर माल्दिभ्स, बङ्गलादेश आदि देश डुब्ने? अल्पसङ्ख्यामा रहेर पनि यस्तो तहल्का मच्चाउने सबैभन्दा चर्चित वायु हो 'कार्बन डाइअक्साइड' (carbon dioxide)। 'कार्बन डाइअक्साइड' CO2 को वायुकण दुईवटा अक्सिजनको र कार्बनको एक अणु संयोजन भई बनेको हुन्छ। मानिस, पशुपन्छी आदि सबै जीवप्राणीले सास फेर्दा फोक्सोबाट बाहिर फ्याँक्ने वायु यही कार्बन डाइअक्साइड हो। हामीले बाल्ने काठदाउरा, मट्टीतेल, डिजलबाट उत्सर्जन हुने वायु पनि त्यही कार्बन डाइअक्साइड हो। कलकारखाना, मोटर, जहाज, हवाईजहाज आदि पेट्रोल–डिजलले चल्ने सबै साधनबाट उत्सर्जन हुने वायु मुख्यतः कार्बन डाइअक्साइड नै हो। वनको डढेलो होस् वा चुलोचौकीको आगोबाट पनि यही वायु उत्सर्जन हुन्छ। अठारौं शताब्दी अर्थात् नेपालमा पृथ्वीनारायण शाहको राज्य चल्दा मानिसले सास फेर्ने हावामा ०.०३ प्रतिशत भन्दा पनि कम कार्बन डाइअक्साइड थियो। त्यो मात्रालाई जलवायु वैज्ञानिकहरूले २८० पिपिएम (पार्ट पर मिलियन) अर्थात् दश लाखमा २८० भाग भनेर अर्थ्याउने गरेका छन्। त्यतिबेलाको पिपिएमलाई लगभग ३०० मान्दा सयमा ०.०३ भन्ने तथ्याङ्क निस्कन्छ। सन् २००५ मा त्यो तथ्याङ्क बढेर ३८० पिपिएम अर्थात् सयकडा ०.०३८ (लगभग ०.०४220) पुग्न गएको छ। प्रश्न उठ्छ; त्यसले के फरक पार्यो त?
वातावरणमा अत्यधिक मात्रामा रहेको नाइट्रोजन वा अक्सिजन र आर्गन वायुभन्दा कार्बन डाइअक्साइडमा एउटा बेग्लै गुण हुन्छ। त्यसले सूर्यबाट प्राप्त हुने घामको तापलाई आफूमा ग्रहण गर्न सक्छ। त्यसैले सूर्यबाट पृथ्वीमा आइपुगेको घामको ताप परावर्तन हुँदा अर्थात् पृथ्वीबाट फर्केर जाँदा त्यसको केही अंश यही वायुले छेकेर वायुमण्डलबाट बाहिर जान दिँदैन। यसले गर्दा नै पृथ्वी सेलाएर ठण्डाराम हुनबाट जोगिन्छ। फलस्वरुप पृथ्वीका प्राणी र जीवात्मालाई बाँच्न सम्भव हुन्छ।
पृथ्वी सतहको औसत तापमान १५ डिग्री सेल्सियसको आसपासमा रहेको राम्रो मानिन्छ। तर कार्बन डाइअक्साइडको मात्रा वायुमण्डलमा बढ्दै जाँदा न्यानो पृथ्वी तातो हुँदै गएको प्रमाणित भएको छ। अर्थात् वायुमण्डलमा बढ्दै गएको कार्बन डाइअक्साइडले पृथ्वीबाट परावर्तित घामको ताप पहिलेभन्दा वा वाञ्छित मात्राभन्दा धेरै पृथ्वीमै छेकेर राखिदिन थालेको छ। परिणामतः पृथ्वीको सतह बढी तातो हुँदै गएको छ। सन् १९१५ मा (आजभन्दा ९६ वर्ष पहिले) पृथ्वीको सतहको औसत तापमान १५ डिग्री थियो। त्यसको ३० वर्षपछि सन् १९४५ मा त्यो बढेर १५.२ डिग्री पुगेको थियो। यसलाई एकदमै ठूलो अन्तर भन्न मिल्दैन। तर त्यसको ५५ वर्षपछि; सन् २००० सम्म आइपुग्दा त्यो तापमान बढेर १५.८ डिग्री पुगेको छ। तापमान वृद्धिको यही क्रम चल्यो भने सन् २०५० मा पृथ्वीको औसत तापमा २.९ डिग्रीले बढेर १८.७ डिग्री पुग्न सक्ने विज्ञहरूको अनुमान छ।
पृथ्वीको तापमान बढाउने कार्बन डाइअक्साइडका अन्य सहयोगी वायुहरूमा मिथेन (methane), ओजोन (ozone), नाइट्रस अक्साइड (Nitrous Oxide) तथा हालोकार्बनहरू (Halo Carbons) पर्दछन्। यी वायु पनि मानिसकै क्रियाकलापबाट उत्सर्जन हुने गर्दछन्। त्यसमा पछि गएर पानीको वाफ वा जलकण पनि थपिन्छ। यी वायुहरू मिलेर पृथ्वीलाई एउटा ओढनी ओढाइदिएझैं काम गर्न थाल्छन्। आजभोलि हाम्रा किसानहरूले पातलो प्लास्टिक ओढाएर गोलभेंडामा तरकारीको बालीलाई न्यानो बनाए जस्तै गरी पृथ्वीलाई न्यानो बनाउने काम यी वायुले गर्दछन्। प्लास्टिक आविष्कार हुनुभन्दा पहिले बोट, बिरुवाहरूलाई न्यानोमा हुर्काउन शिशाको घर बनाउने चलन थियो। त्यस्तो घरभित्र घामको तातो र प्रकाश सजिलै छिर्छ तर भित्रको न्यानो हत्तपत्त बाहिर जान पाउँदैन। यस्तै अवस्थाले गर्दा शिशाघरभित्र सधैं हरियाली कायम रहन्छ। यस्ता शिशामहल वा शिशाकोठरीलाई नै 'हरितगृह' भन्ने अङ्ग्रेजी बोली व्यापक चलन चल्तीमा आएको हो। शिशा वा प्लास्टिकले हरितगृहलाई न्यानो राख्ने काम गरेझैं कार्बन डाइअक्साइड तथा अरू केही वायुले पृथ्वीलाई नै न्यानो राख्ने काम गरेको हुनाले तिनलाई 'ग्रीनहाउस ग्यास' ९न्चभभल ज्यगकभ न्बक० को संज्ञा दिइएको हो। तर आलु चिप्सको प्याकेटभित्र नाइट्रोजन खाँदिएझैं 'ग्रीनहाउस' भित्र कार्बन डाइअक्साइड खाँदिएको हुँदैन। न त्यहाँ मिथेन र नाइट्रस अक्साइड नै भरिएको हुन्छ। ग्रीनहाउसभित्र वायुको सन्तुलनमा केही फेरबदल हुँदैन। त्यसैले; स्पष्ट भन्नुपर्दा; ग्रीनहाउस इफेक्ट ग्यास (Green House Effects Gas) अर्थात् हरितगृह भित्र न्यानो प्रभाव सिर्जना गर्ने वायु भन्नु बढी उपयुक्त हुन्छ। अझ नेपाल जस्तो हरियाली प्रधान देशमा हरितगृहको साटो सिसाघर (Glass House) भन्नु बढी उपयुक्त हुन्छ।
'ग्रीनहाउस' र 'ग्लास हाउस' वनस्पति उद्यानका अभिन्न अङ्ग बन्न थालेको धेरै समय भइसकेको छ। हाम्रो राष्ट्रिय वनस्पति उद्यानमा पनि यस्ता शिशाघरहरू जडिएका छन्। त्यतिबेला बेलायती वैज्ञानिक सल्लाहकार तिनलाई ग्रीनहाउस भन्न रुचाउँदथे। किनभने बेलायतका उदाहरण वा वरपरका वनजङ्गलहरू जाडोमा सबै हरिया पातहरू झरेर नाङ्गो अवस्थामा पुग्दछन्। हरियोको आनन्द लिन शिशाघरको हरियालीको शरणमा पुग्दछन्। तसर्थ शिशाघरलाई 'ग्रीनहाउस' भन्दा उनीहरूको मनोभावमा समेत सन्तोष मिल्ने शब्दार्थको चयनलाई अन्यथा लिनुहुँदैन। 'हरितगृह वायु' भनेपछि अब हामी पनि कुरो बुझदछौं।



संखुवासभाको एउटा राई गाउँ। आठ–दश वर्षका दुई बहिनी। दिदीको थाप्लोमा नाम्लो। नाम्लोले थामेको डोको। डोकोभित्र बाँसका ढुङ्ग्रा। बहिनीको हातमा प्लाष्टिक झोला। झोलाभित्र एक/दुई कापी र किताब। बहिनीलाई स्कूलमा छोडेर पँधेरोतिर जान ओरालो ओर्लंदैछिन्। आज दिदीको पानी भर्ने पालो। भोलि भने स्कूल जान्छिन् रे! कति कठिन हुन्छ गाउँघरमा पानी बोकेर ल्याउने काम! 