-अजय अनुरागी
विद्यालयमा रकम कुम्ल्याउन राजनीतिक दलले विद्यालय व्यवस्थापन समिति कब्जा
गर्ने उपक्रम तराईमा बढ्दै गएको छ। धनुषामा संसद् र गाविसको भन्दा पनि स्कूलको चुनावलाई राजनीतिक दलका प्रतिनिधिले मह140व दिन थालेपछि स्कूल भेलामा कुटपिट र हत्याका घटना बारम्बार दोहोरिने गरेका छन्। यस्तै प्रवृत्तिको पछिल्लो सिकार भए धनुषाको झटियाही–७ का अभिभावक रामएकवाल मण्डल।
६ साउन २०६८ मा पूर्वी धनुषाको झटियाहीस्थित मिथिला तिलक नन्दकुमारी कार्की माविमा व्यवस्थापन समिति गठनका निम्ति आयोजित भेलामा अभिभावकको हैसियतमा मण्डल पनि सहभागी थिए। उक्त भेलामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट प्रक्रियामा राजनीतिक दलका प्रतिनिधिबीच भएको सामान्य मतभेद झडपमा परिणत भयो। सोही क्रममा झटियाही–४ का सुशीलकुमार साहले हानेको गोली लागि झटियाही–७, निवासी ४५ वर्षीय रामएकवाल मण्डल मारिए। पूर्व गाविस अध्यक्ष साह नेकपा एमालेका कार्यकर्ता हुन्। उनी स्कूल व्यवस्थापन समितिका अध्यक्षका प्रत्यासी थिए। मण्डलको हत्यापछि उनी फरार भएका छन् भने घटनाका अर्का अभियुक्त सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त विद्यालयको व्यवस्थापन समित हत्याउन नेकपा एमाले र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच होड चलेको थियो। ती दलको तुच्छ स्वार्थको सिकार चाहिँ निर्दोष मण्डल भए। इलाका प्रहरी कार्यालय, धनुषाधामका असई कामेश्वर पाण्डेको नेतृत्वमा तीन प्रहरी जवानसहितको टोली अभिभावक भेलाको सुरक्षार्थ खटिएको थियो। तर प्रहरीकै उपस्थितिमा साहसहित सात–आठ जनाको समूहले सात/आठ राउण्ड गोली फायर गर्दा मण्डलको ज्यान गएको हो। धनुषाका प्रहरी उपरीक्षक हरिबहादुर पालले भेलामा गोली चल्नु र अभिभावकको हत्या हुनुमा प्रहरीको लापरवाही पनि केही हदसम्म जिम्मेवार रहेको स्वीकारेका छन्। उनले उक्त घटनामा खटिएका असई पाण्डे, प्रहरी जवानद्वय चन्द्र तामाङ र प्रमोद साहलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्।
उक्त घटनापछि प्रहरीले अभियुक्त सुशीलकुमार साहको घर तलासी गर्दा दुई वटा कटुवा पेस्तोल, २३ वटा १२ बोरको गोली लगायत ३०३ राइफल, एसएलआर र इन्सासका गोली तथा बम पटाका, खुकुरी, दबिया आदि हतियार र विष्फोटका सामग्री बरामद गरेको छ। साह भने त्यसै दिनदेखि फरार छन्।
पक्राउ परेका यादव चाहिँ आपराधिक गतिविधिमा यसअघि पनि संलग्न रहेको प्रहरीको दाबी छ। १५ वर्षकै उमेरमा उनी तत्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा प्रवेश गरेका थिए। उनले धनुषाको खरियानीबाट एक इन्जिनियरलाई अपहरण गरी आठलाख फिरौती लिएर छाडेको बताइन्छ। त्यसपछि उनी धनुषाकै बफै–३ का गङ्गाप्रसाद साहलाई अपहरण गरेको घटनामा ४५ दिन थुनामा परी पुनरावेदन अदालतको आदेशले तारेखमा छुटेका थिए।
जनकपुर
| पछिल्लो पृष्ठ > |
|---|


