सरकारले बालविकास सहयोगी कार्यकर्ताको मासिक तलब
रु.६०० बढाउने भएको छ। शिक्षा विभागले तलब वृद्धिको प्रस्ताव २४ साउनमा शिक्षा मन्त्रालयमा पठाएको छ।
मन्त्रालयको कार्यक्रम शाखाका उपसचिव हरि लम्सालले अर्थ मन्त्रालयको सहमति लिएर तलब बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने जानकारी दिएका छन्। उनले भने, “बालविकास कार्यकर्ताको तलब बढाउने सवालमा अर्थ मन्त्रालय पनि सकारात्मक नै छ। साउनदेखि लागू हुने गरी रु.६०० तलब बढ्नेछ।”
शिक्षा विभागको पछिल्लो तथ्याङ्क अनुसार, हाल देशभर २८ हजार ७७२ जना बालविकास कार्यकर्ता कार्यरत छन्। तीमध्ये हिमाली जिल्लाका १ हजार २८७ जनाले मासिक रु.२ हजार र बाँकीले रु.१ हजार ८०० पाउँदै आएका छन्।
वृद्धि भए पनि हिमाली जिल्लाका कार्यकर्ताको तलब रु.२ हजार ६०० र अरू कार्यकर्ताको तलब रु.२ हजार ४०० पुग्नेछ। सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत यस वर्ष थप ५०० बालविकास केन्द्र खोल्ने घोषणा गरेको छ।
| < अघिल्लो पृष्ठ | पछिल्लो पृष्ठ > |
|---|


